बुद्दिसागरको 'फिरफिरे' उडान

बुद्दिसागरका पुस्तकहरु भन्दा बढी कथावाचनको र मान्छेको फ्यान हुँ म । उनले फिल्म हेर्दा र डेटिङ जाँदाका सुनाउने किस्सा अहिले पनि ग्याङमा हिट छन् । अति साधारण लाग्ने घटना पनि साह्रै स्वाद लाग्नेगरी पस्किनसक्नु उनको खुबी हो । साधारण कुरा गर्ने र रमाइलो हुने हुनाले चिया गफ पनि रमाइलो हुने गरेको छ । त्यसैले पनि कर्णाली ब्लुज पढेदेखि नै बुद्दिसागरको अर्को कृति कहिले आउँछ भनेर प्रतीक्षा रह्यो, लामै समय लाग्यो पनि ।
यति भनिसक्दा मैले मित्र बुद्दिसागर र लेखक बुद्दिसागरमा फरक छुट्ट्याउन सक्दिनँ भन्ने लाग्छ भने यहाँभन्दा अगाडि नपढे नि हुन्छ।
Firfire by Buddhisagar. Photo Credit: Binod Gautam
यहींबाट शुरु गरौं, "फिरफिरे" कुनै महान् पुस्तक होइन । पुस्तकभित्र अनेकौं पात्रहरु आउँदै जाँदै गर्दा जेलिने कथाक्रममा दुई बालसुलभ दोस्तहरुको दोस्तीको किस्सा छ यसमा । साधारण अझ भनौं अभावै अभावमा जीउने केही थान मनुवाहरुको जीजिविषा यसमा भरिएको छ । सौतेनी नदीझैं सलल बग्ने कथामा यी दुई प्राणीहरुसँग ठोक्किन आइपुग्ने विभिन्न घटना र पात्रले कहिले मुस्कुराउन लगाउँछन्, कहिले घाँटी अवरुद्द पारेर रुवाउलान् झैं गर्छन्, कहिले रिस पनि उठाउँछन् । पुस्तकमा प्रजातन्त्र घोषणा भए आसपासको गाउँले समाज छ, धामीझाँक्री अन्धविश्वास छन्, गाउँको दु:ख अभाव र पीडा छ, सोझोपन छ । एउटा समाजको एउटा कालखन्डका मैनापुर, अम्बरपुर र बाँसबारी थपक्क उठाएर पुस्तकमा राखिदिएका छन् लेखकले ।
बाहिरबाट हेर्दा पुस्तक ठुलो देखिन्छ, मोटै पुस्तक लेखेका हुन्, पढ्न त जाँगर चाहिन्छ, लेख्ने जाँगर सम्झेरै सिरिङ्ग हुन्छ । तर पुस्तकमा घुस्दै जाँदा भिन्न पात्र र तिनका भिन्नाभिन्नै कथालाई गजबले मिलाएर राखिएको छ, कथा सकिँदा "ज्या ! सकिनै पो सकेछ" भन्ने भान हुन्छ । 
किताबको परिवेश लगभग लेखकको पहिलो कृति "कर्णाली ब्लुज"को जस्तै छ । मटेरा र कटाँसे बजारको रहर नपुगेको भए "फिरफिरे"को बाँसबारी लगभग त्यस्तै छ । 
किताबका मुख्य आकर्षण पवन र बन्ते नै हुन् । यिनीहरुका सपना, उपद्रो, झगडा, पुनर्मिलन, झन्डै किशोरवयको हुटहुटी, पारिवारिक सम्बन्धको रिक्तता र अनुभवको वरीपरी फिरफिरेको कथा उँड्छ । आफु गाउँमा हुर्केको, यस्तै साथी सङ्गती भएको, यस्तै धामी झाँक्री देख्दै आएको, यस्तै चकचक गर्ने, यसैगरी सपना देख्ने समाजमा हुर्केकाले मलाई "फिरफिरे" आफ्नै कथा जस्तो लाग्यो । म त यो भन्दा धेरै बदमाश थिएँ, तर यिनिहरु पनि कम छैनन् । 
The writer himself with the book Firfire. Image credit: @buddhisagar 
पुस्तकका अन्य पात्रहरु पनि उत्तिकै प्रभावशाली र तीखा छन् । जुठी आमै, जीवाराम, पिच्कुमाझी, वसीर, जसोदा, सर्वजीत सर, रमा, मुनमुन, चीलगाडी लगायत अन्यको पनि छरिएको तर फिल्मी भाषामा शानदार रोल छ । 
लेखन शैली सरल छ, बुद्दिसागरको कथा भन्ने भाषाको त चर्चा गरीराख्नै परेन । पुस्तकमा ग्रामीण समाजमा भनिने लोककथा र उखानको राम्रै प्रयोग हुनुका साथै यसो गरे यसो हुन्छ भन्ने पाराका रुढीवादी त्रासहरु पनि टन्नै छन् । ग्रामीण (गाली) स्ल्याङहरुको भरपुर प्रयोग छ पुस्तकमा । 
उपन्यासको शीर्षक सार्थक देखिन्छ, कथामा साँच्चिकै आइपुगिराख्ने पातको फिरफिरे मात्र होइन, फिरफिरे झैं फनफन्ती घुम्ने दु:ख र वेदनाको, कहिले नसकिने जिउनुको भाउँतोको, गाँठा केलाएर नसकिने सम्बन्धका नालिबेलीको ।
पात्रहरुको छनौट र वर्णन यो पुस्तकको सबैभन्दा सबल पक्ष हो । पात्रहरु धेरै भएपनि तीनलाई न्याय गरेका छन् लेखकले। साना भूमिकाका पात्रले पनि आफ्नो कथा भन्न भ्याएकै छन् । 
कथा फ्ल्याशब्याकमा छ, झन्नै कर्णाली ब्लुजकै शैलीमा । भाषा सरल तर प्रभावशाली छ । पुस्तकको सम्पादनमा पनि ध्यान राम्रै पुगेको भान हुन्छ, साना गल्तीहरु छैनन्, या मैले नभेट्टाएको हुनसक्छ । पुस्तकको अन्त्यमा राखिएको गीत सुन्न गजब छ, भिडियो चाँही अल्छी गरेर बनाएजस्तो लाग्यो, मन परेन । 
यो पुस्तकको सबैभन्दा दुर्बल पक्ष यसको कभर हो । कभर कथा र पुस्तकको थिममा त मेल खान्न खान्न, एकदमै अल्छी गरेर बनाएजस्तो देखिन्छ । कुनै नेपाली कलाकारलाई चित्र या फोटो खिच्न लगाएर राख्देको भए हुने । यत्रो पुस्तक तयार गरिसकेपछि कभरमा अलिक जाँगर लगाएको भए हुने । पुस्तकको दोश्रो संस्करण आयो भने यसका कभर पृष्ठ कुनै पनि हालतमा फेर्न लेखक र प्रकाशकलाई सुझाव ।
पुस्तकको दोश्रो मलाई अलिक मन नपरेको पक्ष चाँहि भावुकता हो । लेखकले केही पात्रलाई आफ्नो कुरा भन्न लगाउन अति भावुक बनाएजस्तो देखिन्छ । तिनीहरु सधैँ आदर्शका कुरा गर्ने खालका छन् र कहिलेकाहीं पट्ट्यार लगाउँछन् ।
पुस्तकमा मैले कर्णाली ब्लुज जस्तै "पन्च इभेन्ट"हरु, जो फेरी पढेर हाँस्न सकियोस्, धेरै हुने अपेक्षा गरेको थिएँ, त्यो यसमा अलिक कम पाएँ । बुद्दिसागरको कथावाचनको प्रमुख पक्ष जस्तो लाग्छ मलाई त्यो । 
कथा अलिक कम गतिशिल छ, बर्दियातिरको कुनै गाउँको कथा मुस्किलले एकपटक नेपालगंज आउँछ । नत्र त्यो पनि फिरफिरेजस्तै बाँसबारीमै घुम्छ, जुठी आमैका घरदेखि शुरु भएर पिच्कुको छाप्रोसम्म ।
कथाको परीवेश पनि परिवर्तन गर्नुभएको भए राम्रो हुने थियो, जुन घटनाक्रमको वर्णन छ, ती विषय नेपालको सबै कुनामा लगभग उस्तै हुन् । बुद्दिसागरको अर्को पुस्तक चाँहि अर्को परिवेशमा होस् भन्ने आशा गरेको छु ।
४६को परिवर्तनको वरीपरीको कथा भएपनि त्यो बेलाको 'मुड' भन्न अलिक छुटाएका छन् लेखकले। हुन त राजनीतिक बिषयलाई त्यति चर्चा गर्नु उचित ठानिएन होला। तर सबै समाजमा यी कुराहरुको प्रभाव कुनै न कुनै हिसाबले पर्ने नै भयो । यी कुरा पनि आएका भए सुहाउँथे ।
Firfire by Buddhisagar. Image: FinePrint
समग्रमा बुद्दिसागरको दोश्रो उपन्यास एक पठनीय कृति हो । अन्त्यमा माओवादी द्वन्द्वका बेपत्ताहरुको बिषय पनि जुन छोइएको छ, बर्दिया प्रमुख क्षेत्र पनि हो त्यस विषयमा, ले पुस्तकलाई झनै गम्भीर बनाउँछ । आफ्ना आफन्त फर्केर आइहाल्छन् कि भन्ने पीडामा बाँच्नेहरुको कथा पनि हो यो । 
पुस्तक देखेर नतर्सिनु भए हुन्छ, ५३१ पेजको भए पनि तपाईंलाई पुस्तकले बाँधेर राख्छ र अब के हुन्छ भन्ने उत्सुकता बढाउँदै जान्छ । शहरमै हुर्केर गाउँ देख्दै नदेखेकाहरुलाई चाँहि अरुचीकर हुनसक्छ वा अझ रोमान्चक पनि हुनसक्छ । नबुझिने ठुला ठुला पहाडजत्रा कुरा केही छैनन् किताबमा।
समाजमा कायम रुढीवादी परम्पराहरु, जुनमध्ये केही अझै कायम छन्, बोक्सी धामी झाँक्री लगायत, का बारे पुस्तकले मिहिन रुपमा बोलेको छ । सबैभन्दा कमजोर आइमाइ मान्छेलाई कसरी बोक्सी बनाइन्छ, धामी झाँक्रीले कसरी झुक्याउँछन् भन्ने स्पष्टै वर्णन छ ।
मलाई यो पुस्तक पढेर बाल्यकालका सबै याद फेरी ताजा भएर आए । आउँछ आउँछ भनेर दसपल्ट मिति सारेर पनि यति राम्रो पुस्तक लेखिदिनुभएकोमा बुद्दिसागरलाई धन्यवाद ।   

1 comment:

  1. साच्चै कथा बुद्धिसागरले लेख्दै आएका कथा तथा पहिलो उपन्यास 'कर्नाली ब्लुज' भन्दा पिन्चे छ। आँखाका चेप रसाउने खालका छन्। हृदय छुने खालका छन्।
    जुठीअामैलाई बाक्सि ठहराएर जे कदम चाले, त्यो प्रसङ्गमा अाशु नखस्ने बिरलै हाेलान्।
    चिलगाडिकाे प्रसङ्गमा पनि पेट मिचिमिचि नहास्ने बिरलै हाेलान्।
    बुद्धिसागरकाे लेखन बयान गर्न सक्ने मसँग शब्द पनि छैनन्।
    -सानाे फ्यान

    ReplyDelete

ShareThis