दोरम्बामा रेशम फिलिली

"यो ता बाउन बाजे जास्तो छा ओए, ढोकामा पो बास्छा त" चिया पकाइरहेकी बहिनिले मुख छोपेर हाँस्दै मलाई जिस्काइन् ।
मैले हाँसेरै जवाफ दिएं, "बाउन त बाउन नै हो, टपरी बाउन चाँही होइन । मन्त्र पढ्न आउन्न ।"
Doramba Bazar
यो हप्ता दोरम्बा जाने अवसर मिल्यो, कारण त्यती उत्साहजनक थिएन तैपनी उपत्यकामा कुँजिएको धेरै भैसकेकोले हाकिम सापले ३ ठाउँको नाम दिनेबित्तिकै मैले दोरम्बा छानें । धेरै समयदेखि सुनेको ठाउँ एकपटक पुग्न मन थियो ।
काठमान्डुबाट बीपी राजमार्गको खुर्कोट हुँदै मन्थली पुग्ने बाटो नयाँँ छ, अझ भनौं खानेपानी या ढलका मान्छेले खन्न भ्याइसकेका छैनन् । दोरम्बा जाने मुख्य यात्रा बजार पारी तामाकोशीको पुल तरेसी शुरु हुन्छ । कतै कच्ची, कतै हिलो र कतै ग्राभेल गरेको ठीकठाक बाटो लग्भग ३६-३७ किलोमिटर खाँडादेवी गाविसको ग्याल्पा बजारसम्म जान्छ । त्यहाँसम्म मन्थलीबाट सुमो चल्छ, भाडा ४०० रुप्पे । बाटो रमाइलो छ, मन्थलीको गर्मी माथि चढ्दै जाँदा सिरेटोमा बदलिन्छ ।


ग्याल्पा बजारमा सिंजालीको होटेलमा ट्याक्क दूधको कुँडे बसाउने चिया पाईन्छ, साह्रै मीठो । यहाँबाट दुईवटा बाटो दोरम्बा जान्छ । एउटा घुमाउरो, अर्को पहराको बाटो हुँदै सीधै । हामीले पहराको बाटो रोज्यौं ।

एक लेनको पहराको उकालो बाटोमा हाम्रो गाडीले निकै पटक दम तोड्यो, बाटो अप्ठेरो गाडीको फोर व्हीलले खासै काम गरेन । पुरै नेपाली पाराले मुढेबल लगाएर धक्क्याउँदै गाडी डाँडामा उकालीयो । यत्ती उक्लेपछी रमाइलो चौर र लेक हुँदै गाडी आरामले दोरम्बा बजार ओर्लियो । हिंडेर जाने हो भनेपनी एक्-डेढ घण्टामा ग्याल्पाबाट दोरम्बा पुगिएला ।



दोरम्बा बजार देखिएपछी थकाई सबै हराउँछ । डाँडाको टुप्पोमा रहेको बजार सानो तर सुन्दर छ । हेल्थ पोस्टबाट शुरु हुने बजार अर्को पट्टी डांडोमा रहेको ब्यारेकमा टुङ्गिन्छ । दोरम्बा गाविसका २-५ नम्बर वडा यो क्षेत्रमा छन् । उच्च मावी , होटेलहरु , कृषि केन्द्र तथा पुस्तकालय पनि छन् बजारमा, पुलिस चौकी अर्कोतिर छ ।

हुस्सु लाग्दै छोड्दै गर्ने दोरम्बा क्षेत्र निकै बाक्लो बस्ती सङ्गै वडा नं २ सम्म फैलिएको रहेछ । निकैवटा होम स्टे रहेका यो क्षेत्रमा हामी रेशम योन्जन सरको होम स्टेमा बस्यौं । वहाँ स्थानीय बिद्यालयमा शिक्षक हुनुहुन्छ र बिहान बेलुका श्रीमतीसङ्ग मिलेर होम स्टे चलाऊनुहुन्छ ।



होम स्टेको बसाइ गजब रह्यो । खाना त वर्णन गर्न नसकिने मीठो, लेकाली आलु फ्राइ, स्कुसका मुन्टा, मेटर र टिम्मुरको अचार्, गुन्द्रुक साँधेको, लोकल साग, लोकल कुखुराको मासु । त्यसमाथी रेशम दाजुले व्यवस्था गर्नुभएको कोदोको झोल । रमाइलो चाँही कोदोको झोलको नाम तीनपानेबाट परिवर्तन  भएर "भद्रगोल" का प्रभावले "सोलमरी" भएछ । घ्यु र चामलमा बुटेर झ्वाइँ खट्टे बनाएसी त सधैं फिलिली । हामीले सोलमरीको नाम नै "रेशम फिलिली" राख्दिएम् ।


दोरम्बामा हेर्ने कुराहरु धेरै छन्, सबैभन्दा मुख्य चाँही "हाइ अल्टिच्युड पिस" नै हो । हल्का चीसो मौसममा लेकमा हाइकिङ आनन्ददायक हुन्छ, जुकाबाट बच्नसके । निकै पुराना माने, मन्दिर र देवस्थलहरु पनि यहाँका आकर्षण हुन् ।

बस्न सस्तै पर्छ, एउटा बेडको २००, सादा खाना १२० अनी सोलमरीको २५ । सबैभन्दा राम्रो लागेको चाँही साह्रै सफा र व्यवस्थित बस्ती, धेरैजसोले बत्ती भएपनी सोलार राखेका छन् । बाटो राम्रो र सफा छ । सबैभन्दा खट्किने चाँही दोरम्बा घटनापछि काम र अध्ययनको लागि बाहिरिन थालेको तन्नेरीको लर्कोले गाउँ खाली देखिन्छ । धेरैजसो घरमा घर ठुलो भएपनि १-२ जना र केटाकेटी मात्रै देखिन्छन् । अध्ययन र कामको लागि जिरी, मन्थली र काठमाडु हुँदै बिदेश सम्म पुगेको संख्याले गाउँ खाली गराएको देखिन्छ ।



दोरम्बा पुगेर त्यही बाटो फर्किए पनि हुन्छ, घुमेर मन्थली पुगे पनि हुन्छ या हिंड्दै दोलखाको मुढे निस्किए पनि हुन्छ । तर तपाईंलाई ३-४ दिन हराएर शान्तसँग बस्न मन छ भने दोरम्बा गएर फिलिली भए हुन्छ ।
Women Group on Road construction at Doramba
 

Kiwi Farm at Doramba
 




3 comments:

  1. मजा यस मानेमा आएन कि रस पर्दा पर्दै ब्लग का कुरा सकिए :)

    ReplyDelete
    Replies
    1. अल्छी गरियो, डार्क कुरा बढी छन्, त्यो यस्मा मिसाउन मन लागेन ! अर्को लेख्छु, गाली गलौज सहितको ! :)

      Delete

ShareThis