ब्रजेशको वाइल्ड यायावर


स्तम्भकार, नेपाली सिनेमाका कथा-पटकथा लेखक, निर्देशक र कलाकार समेतका अनेक रूपमा नेपालीहरुमाझ परिचित ब्रजेश खनालको परिचय थपिएको छ, उपन्यासकार रुपमा । यसै सप्ताहन्तबाट बजारमा आउन लागेको नेपाली उपन्यास "यायावर" मार्फत आख्यान लेखनका क्षेत्रमा पाइला चलाएका हुन् ब्रजेशले । कुरैकुरामा यायावर पढ्ने अवसर मिल्यो र लागेका कुरा लेखिहालुँ भन्ने जाँगर पनि । नयाँ शैलीका लेखन र लेखकहरुको भीडमा अर्को नाम बनेर थपिएको देख्न सकिन्छ यायावरलाई ।  
Yayavar by Brazesh Khanal (Image : writer himself)
समाज सिधा-सादा छैन, घुमाउरो, जेलिएको र जेरीझैं बटारिएका पात्रहरुको बीचको जटिलता बुझिनसक्नुको छ । यायावर यस् अर्थमा पनि बिशेष छ कि यस्ले ती पत्रहरुलाई केलाउने चेष्टा गरेको छ, बोल्ड तरीकाले । हाम्रा आफ्ना दिमागमा उब्जीने बिचार र तरंग तथा जिन्दगीमा जानेर या नजानेर गरिएका एड्भेन्चर कुनै रमाइला, कुनै टीठलाग्दा र कुनै घीनलाग्दा पनि छन्, जस्लाई यथार्थपरक ढंगले आख्यानका रुपमा अगाडि सार्न लेखक सफल देखिन्छन् । हाम्रा बिगत र बिचारहरु सबै हामीले बाहिर ल्याउने जस्ता ज्ञानी र राम्रा हुन्नन्, कुनै त अत्याशलाग्द पनि छन् । यायावरले त्यस्तै एउटा झन्डै झन्डै बृद्धको फर्केर इमान्दारीपुर्वक जीवनलाई हेर्ने प्रयास देखाउँछ, उस्का यौनबिकृति, बाल तथा किशोरवयका अनुभब र आरोह अवरोह देखाउँछ । जगदीश घिमिरेका शब्दमा "मनको दाँया र बाँया कुनाको पीङ र पीडामा बारम्बार झुलिरहने, एउटा फरक जीबन भोग्न वाध्य निम्नवर्गको निर्धो र निर्दोष केटाको जीबनमा अनायास बन्न पुगेका जटील गाँठाहरु र तीनलाई फुकाउन उस्ले आजीवन गरेको संघर्षको मार्मिक कथा हो यो ।" जीवनसङ्गै भौंतारिएको फीरन्तेको कथा र उस्का मोड सुन्दा कतिपय ठाउँमा आफ्नै लाग्छन् त कतिपय ठाउँमा यस्तो पनि हुन्छ भन्ने जस्ता लाग्छन्, तैपनी जीजिबिसाभित्रको पीडा, भय र घीनको चीरफार को नाम यायावर हो ।    

Cover of Yayavar by Brazesh Khanal
यायावरको कथा राजमार्गमा भएको एउटा बस दुर्घटनाबाट सुरु हुन्छ । तर मूल कथा त्यो हैन । दुर्घटनाग्रस्त बसको एउटा यात्रीको कथा हो यायावर । कथा सुरु हुँदा पचास वर्ष पुग्न आँटेको यो पात्रको केटाकेटी बेलादेखिका जीवनका पत्रहरु क्रमश उघ्रिंदै जान्छन् । उसको कथा एउटा आम तपाईंहामीको जस्तै छ । अक्सर आख्यानका पात्रहरुमा नायक हुन्छन्, खलनायक, नायिका हुन्छन् । तर यायावरमा नायक, नायिका र खलनायकको कुनै स्पष्ट सीमाना छैन । अर्थात वास्तविक जीवनका पात्रहरु जस्तै छन् यिनीहरु । बेलबेलामा खलपात्रसंग सहानुभूति हुन सक्छ, नायक वा नायिकासंग रिस उठ्न सक्छ । यो नै यायावरको सबैभन्दा रोचक र रमाइलो पक्ष हो । कलिलो उमेरमा नियतिले अचानक एकपछि अर्को ववण्डर मच्चाएपछि शारीरिक र मानसिक रुपमा यायावर बन्न पुगेको बैकुण्ठेको कथा हो यायावर । आफूले सानै उमेरदेखि मरिहत्ते गरेर एकोहोरो मन पराएको गाउँभरिकी सबैभन्दा सुन्दरी केटीलाई प्राप्त गरेर पनि ऊ किन उसको आफ्नो हुन सक्दैन त ? किन हुनेखाने गाउँको घर छोडेर ऊ दिनरात भौंतारिन्छ ? ममचा पसलको बेयरा देखि पत्रिकाको सहायक सम्पादक सम्म बनेर पनि किन ऊ त्यहाँ टिक्न सक्दैन ? किन र कसरी बंगलादेश देखि बैंककसम्म भौंतारिएर पनि कुनै स्थायित्व उसले पाउँदैन ? बिन गन्तव्य भौंतारिएर जब यायावरले जीवनको उत्तरार्ध शुरु हुने बेला आफ्नो बिश्राम यही हो भन्ने निधो गर्छ, किन उसको जीवनमा अर्को अचम्मको अप्रत्याशित मोड आउँछ ? यायावरको कथा यही सेरोफेरोमा बुनिएको छ ।
समग्रमा "यायावर" पढ्दै जाँदा कतिखेर एउटा फिरन्तेको कथाबाट देशमै फिरन्ते र निरर्थक बनाइएका हामी नेपालीको कथासङ्ग जोडीन्छ पत्तै हुन्न । भाषाशैली समाजमा बोलिने जस्तै छ, "पोलिटीकल्ली करेक्ट" बनाइएको छैन । फिल्मलेखनको अनुभवको प्रभाबले धेरै दृष्य चलचित्र हेरेझैं लाग्छन् । कथामा पत्र उप्किंदै जाँदा मानसिकता र संवेदनाका पत्र समेत उप्किन्छन् । धेरै पटक इमान्दार मानसिक व्याख्या अश्लील लाग्न सक्छन्, निर्लज्ज लाग्न सक्छ, तर मानबीय वास्तबिकता निर्लज्ज नै हुन्छ । चलिआएका "सुमधुर, काब्यात्मक तथा मिलाइएका" श्रीङ्गाररसले युक्त उपन्यास भन्दा यो बोल्ड आख्यान फरक छ र धेरै हदसम्म मनोरन्जनात्मक पनि , जीबनको उत्तरार्धमा रहेको एउटा फिरन्तेको इमान्दार तर वाइल्ड कथानक नै यायावर हो !
The writer himself : Brazesh Khanal
पुस्तकको नाम : यायावर 
लेखक : ब्रजेश खनाल 
प्रकाशक : अर्किड बुक्स 
मुल्य : २९५।- 

केही उत्कृष्ट छोएका वाक्य :
  • "मलाई भने बादलले जहिले पनि मन्त्रमुग्ध बनाउँछ । आजमात्र हैन, केटाकेटी हुँदादेखि नै म बादल हेरेर अघाउन्नथेँ । अरु साथीहरू रमाउँदै खेलिरहेको बेला पनि म घण्टौं बादल हेरेर बसिरहेको हुन्थेँ । अनि बादल हेरेको बेला जहिले पनि म एउटै कुरा सोच्थेँ, “कहाँ होला यिनको गन्तव्य, के होला यिनको अविरल र अविच्छिन्न यात्राको उद्देश्य ?”
  • सँधैभरि कति निष्फिक्री देखिन्थे बादलहरू । मलाई त्यतिबेला आफू पनि तिनै बादल जस्तो उडिरहन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला मलाई साँच्चै मेरो जीवन तिनकै जस्तो बेठेगानको हुन्छ र म पनि तिनीहरू जस्तै हुन्छु भन्ने के थाहा ? त्यसैले होला आमाले बेलाबेला भन्ने गर्थिन्, “कुनै पनि कुरा चिताउने बेला हजारपटक सोच्नुपर्छ । के थाहा कुन बेला भगवानले तथास्तु भनेको बेला पर्छ ।”
  • मैले बादल बन्ने चाहना गर्दा पनि शायद भगवानले तथास्तु भनेको हुनुपर्छ ।"
  • “हैन बाङखुरेु, मान्छेले त झन् आफ्नो रुप बादलले भन्दा पनि छिटोछिटो फेरिरहेको हुन्छ । तैंले त्यो कुरा अहिले बुझ्दैनस् ।” ठूलो हुँदै गएपछि मात्र मैले बुझेको थिएँ, आमाले भनेको ठीकै रहेछ । बरु बादललाई चिन्न सकिएला मान्छेलाई चिन्न गाह्रो हुँदो रहेछ ।"
  • "म पढाइमा राम्रै थिएँ । तर हिसाब मलाई साह्रै गाह्रो लाग्थ्यो । गाउँको पढाइ भएकोले अङ्ग्रेजी त सबैको खराबै थियो । अहिले आएर बुझ्दछु, पढाउने शिक्षकको पनि अङ्ग्रेजी खराब थियो । नेपाली भने मलाई साहै्र रमाइलो लाग्थ्यो । मैले लेखेको हेरेर नेपाली पढाउने गुरु भन्थे, “कुमाइ भए पनि यो उपाध्ये बाहुन जस्तो छ ।”
  • मलाई कुमाइ भन्या के हो उपाध्ये भन्या के हो भन्ने थाहा थिएन । हाम्रो कक्षामा सबै जातका विद्यार्थी थियौँ तर हामी कसैलाई पनि हामी फरक जातका हौँ भन्ने थाहा थिएन । हाम्रा लागि त हामी सबै बरोबर, सबै साथीहरू । अबूझ, अज्ञानी बालकहरू जो थियौँ त्यति बेला । बुद्धिको पनि विकास भएको थिएन । त्यस्ता अज्ञानीहरूलाई के थाहा हुनु ? पछि धेरै पढ्दै गएपछि, ज्ञान बढ्दै गएपछि, परिपक्व हुँदै गएपछि, बुद्धि बढ्दै गएपछि पो त्यस्ता कुराहरू थाहा हुन्छन् त मानिसलाई ।"
  • "मेरो मनमस्तिष्कमा त्यो क्षण कुनै क्यामरामा फोटो अंकित भए जस्तो गरी कँुदिएको थियो । बरु क्यामराले खिचेको फोटोको समयसँगै रङ्ग उडेर जान्छ, मनमा खिचिएको तस्वीरको रङ्ग त जहिले पनि त्यति नै सफा, चहकिलो र स्पष्ट रहँदो रहेछ । मान्छेले जतिसुकै बिकास गरे पनि मन जस्तो तगडा क्यामरा त अझै पनि कहाँ बनाउन सकेको रहेछ र ?"
  • "यो फुच्चे मात्र होइन, उमेर भन्दा पहिले नै जिन्दगीको थप्पड खान बाध्य अरु धेरै केटाकेटीहरूमा मैले त्यस्तो नरमाइलो संयोग देखेको छु । ती कलिला केटाकेटी, जसको बाल्यकाल राम्ररी बित्नै नपाउँदै, किशोरावस्था नै नआइ तिनीहरू वयस्क बन्न बाध्य हुन्छन् । अनि प्रकृतिको नियम मिचेका हरेक अरु कुरामा जस्तै केही न केही अप्ठ्यारा प्रभावहरू तिनमा देखिन्छन् । कार्बाइड हालेर समयभन्दा पहिले नै पकाइएका केरा जस्ता लाग्छन् मलाई त्यस्ता किशोरावस्था नदेखेका केटाकेटीहरू ।"
  • "मैले नोटको बिटो हेरेँ । कति पैसा होला त्यो जम्मै ? मैले सोच्न पनि सकिनँ । जे होस्, मलाई चाहिएको मात्र बीस रुप्याँ हो । बाहिर टहटह लागेकोे जूनको उज्यालो कोठा भित्र नछिरेको भए मलाई नोटहरू चिन्न गाह्रो हुन्थ्यो । मैले सोचेँ, पवित्र प्रेमका लागि भगवानले पनि बाटो सजिलो बनाउँदा रहेछन् कि क्या हो । मैले दश–दशको दुइटा नोट झिकेँ । बिटो जहाँको त्यहीँ राख्ने बेला मेरो मनको देब्रे कुना अचानक व्यूँझेछ, लामो हाई काढ्दै प्वाक्क बोल्यो, “थोरै पैसा चोर्ने पनि चोर, धेरै पैसा चोर्ने पनि चोर ।”
  • "बारुद ओच्छ्याउनका लागि चढेका मान्छेहरू तलबाट सानासाना देखिएका थिए ।
  • “एउटा ठाउँलाई अर्को ठाउँमा जोड्ने बाटो बनाउन कति गाह्रो हुँदोरहेछ,” मैले मनमनै सोचेँ, “तर एउटा मनलाई अर्को मनसम्म जोड्ने बाटो बनाउन त्यो भन्दा कता हो कता कठीन हुन्छ । मनमा त बारुद लगाउन पनि पाइँदैन ।”
  • "हुन त त्यसपछि मुलुकमा धेरै परिवर्तनहरू भए । ३६ सालमा नआएको भनिएको प्रजातन्त्र ४६ सालमा आयो । त्यतिले पनि पुगेन, माओवादी जनयुद्ध सुरु भयो । हजारौं नेपालीले एकआर्कालाई मारे, जनयुद्ध सकियो । प्रजातन्त्रले चोला फेरेर लोकतन्त्र बन्यो, त्यसले पनि चोला फेरेर आफूलाई गणतन्त्रमा परिणत गयो । देशमा निकै कुरा बद्लियो, समाज बद्लियो, हैसियतहरू बद्लिए । म त्यस्तै रहेँ, त्यहीँ नै रहे । मानिसहरू कहाँबाट कहाँ पुगे । मेरो जीवनमा कुनै कुराले केही पनि फरक पारेन ।"







No comments:

Post a Comment

ShareThis