दीपेन्द्र रोकायाको "नाफाको जिन्दगी" : जनयुद्दको हिसाब-किताब

आजकाल के-के न पढाकु जस्तो भएर किताप किनिएको छ जाँगर लगाएर । हुन त मसँग पैसो नै हुँदैन, भए पनि किताप महङ्गा हुन्छन् मजुश्री थापाका झैं, ६-७सय पर्ने । नेपालसरकारको तलपमा गुजारा कटाएर त्यती महङ्गो ज्ञान लिने आँट आउँदैन । 
यो साता जनदिशा दैनिकका पत्रकार दीपेन्द्र रोकायाको "नाफाको जिन्दगी" किनियो र ३ दिन जतिमा पढेर पनि सकियो । कर्नालीका प्रतिनिधी लेखक भएकाले रोकायाको लेखाइ पढ्ने जाँगर चल्यो, यसै पनि कर्नालीका स्टेरियोटिपिकल झुत्रेहरु आफ्नै जस्ता लाग्छन्, दु:खका दिनको कर्नालीमा बसेकोले हो कि किन हो । म "क्रान्ती" र "कम्युनिष्ट"हरु सम्बन्धी किताब आजकाल खासै पढ्दिन भलै कि मलाई पढ्न बानी पार्ने कितापहरु त्यस्तै प्रकृतिका थिए, रसिएन उपन्यासका राजेन्द्र मास्के वाला ट्रान्सलेसन, चे ग्वेभारादेखि गोन्जालो सम्म खुब पढियो र शायद अघाइयो । तर दीपेन्द्रको रोकायाको नाफाको जिन्दगी जनयुद्दको लाइभ टिपोट जस्तो लाग्यो र किनेर पढें ।
Nafako Jindagi by Dipendra Rokaya
पुस्तक सरल छ, खासमा यो पत्रकार रोकायाको दैनीकीको डायरी जस्तो हो, जस्मा उन्ले "जनादेश"मा काम गर्दा हस्तक्षेप भएदेखि पक्राउ पर्दाको, यातना पाएर अधमरो हुँदाको, झन्डै अन्तिम पत्र लेखेर मर्न तयार हुँदाको देखि रिहा हुँदा फेरी पार्टीमा फर्किंदा, फेरी पक्राउ पर्दा, डाँडाको टुप्पोमा बसेर रेडियो सन्चालन गर्नेदेखि पूर्व-पस्चिम यात्रामा झन्डै बाँचेका संस्मरणहरु,पढ्दा पत्रकार बन्दाका संघर्ष, जनसरकार घोषणा, प्रतिकार समितीका ज्यादती तिनिहरुबिच फस्दाका कथा, भद्रबन्दी गृह(भद्र गेस्ट हाउस) हनुमान ढोका हिरासत(हनुमान गेस्ट हाउस) का कथा, पान्डुसेन कब्जाका कथा, युद्दबन्दी रिहाका कथा, लेखकका लभ स्टोरीहरु, बाटो हराउँदाको हैरानी छन् । यस्मा पार्टिको लागि मर्न तयार भएको एउटा युवाको हुटहुटी देखि पार्टी संसद र सुबिधाको दलदलमा फसेर शहिद र रगतले देखाएको बाटो बिर्सिनेहरुप्रतिको आक्रोश छ । सरसर्ती पढ्दा जनयुद्दका दृष्‍य आँखामा आउँछन्, त्यस्बेलाको त्रासदी, दुबैपक्षको दमन र ज्यादती सम्झना हुन्छ अनि जनयुद्दमा कम्युनिकेसन र नेट्वर्क कस्तो थियो भन्ने कुराको जानकारी पनि । पुस्तकको शुरुमा "परे छातीमा गोली खान" तयार भएको एउटा युवा पत्रकार अन्त्यतिर आफ्ना नेता र अवसरबादीको चङ्गुलबाट कसरी वाक्क भएर भागेको छ भन्ने कुरा देखाउँछ, कसरी जनयुद्द लड्दा सबैथोक बाजी राख्नेहरुलाई चिन्न छोडिएको छ भन्ने कुरा पनि बताउँछ । पुस्तक पढ्दा दीपेन्द्र सिधासादा लाग्छन्, भलै कतै कतै कथा मिलाईएको भान हुन्छ, आफुले देखेको र भोगेको कुरा खुलस्त भनिदिएका छन् । युद्दका क्रममा भोगेको चीत्कार बिर्सेका युद्दका ठेकेदारहरुले कसरी युद्दला ब्यापारीकरण गरिएको छ भन्ने पनि देखाएको छ ।
दीपेन्द्रले घुमेका धेरै क्षेत्र मुगु, जुम्ला, कालिकोट, डोल्पा, रुकुम, रोल्पा भोगेका नेपालगन्ज सुर्खेत र दैलेखहरु कर्नालीबस्दा मैले पनि धेरथोर बुझेकाले मलाई यी ठाउँ आफ्ना जस्तै लागे । संकटकालमा मानब अधिकार आयोगमा काम गर्दा भेटेका र प्रशस्तै सुनेका अनुहार र ठाउँहरु पनि मैले भेटें यस्मा । परान धराला, गजेन्द्र महत, नरेश भन्डारी, रकम-दुर्ग शाही, ज्योति न्यौपाने, हरिचन्द्र कठायत, तिलबहादुर रावल, खडकनाथ योगी, बुद्दी फडेराहरु पुस्तकमा भेटिए, जस्मध्ये कोही मैले भेटेका र कोही मैले कार्यक्षेत्रमा रहँदा खोजेकाहरु थिए । दुबै पक्ष सरकारी संयन्त्र र माओवादीहरुले जनतालाई सताउन हरसम्भब प्रयत्न गरेका थिए, खाना खुवाउनु पर्ने आतंक, किन खाना खुवाइस भन्ने कुटपीट, सुज अभियान, डब्लुटी आतंक, सेना गाउँपसेपछि भेटिएकाजतिलाई कि कुट्ने कि मार्ने गस्ती, जनअदालतका नाममा भएका मनोमानी लगायत आफुले देखेका घटनाहरु पनि पुस्तकमा भेटिए । समग्रमा यो पुस्तक युद्दमा हिंडेको एउटा युवाको टिपोट हो, जस्मा आतंकको बिचमा हाँसो र खिचातनी छ, लक्ष पुरा नभै बिसाइएका गोरेटोको पीडा छ । लेखक माओबादीबाअट भएका गल्तीहरुप्रति बायस छन्, तर चितवनको बाँदरमुढे जस्ता घटनामा आलोचना पनि गरका छन् ! 
पुस्तक अलिक लामो भएको भान पनि हुन्छ बेला बेला, कुनै कुनै प्रसंगलाई लेखकले अनाबस्यक तन्काएका छन्, शायद भावनात्मकता बढी भएर पनि होला । कुनै कुनै प्रसंग अतिरन्जित पनि लाग्दछन्, कतै कतै बढाइ चढाइ पनि छ । कतै कतै माओवादीलाई बढी राम्रो र सेना तथा प्रहरीलाई बढी गालीगलौज छ, आफ्नो पक्षबाट भएका कमजोरी र मुर्ख्याइं प्रति लेखक बायस छन् । तैपनी अन्त्यतिर लक्षमा नपुगी बिकेका नेताहरुको खुलेर आलोचना गरिएको छ । लेखकका देश घुम्दाका सपना सुन्दर लाग्छन्, अलिक बढी आदर्शबादी, र वास्तविकताले चाँही हामीलाई गिज्याउँछ । माओवादी द्वन्दमा चासो राख्ने र द्वन्दका बेला हुने कामकार्बाही प्रति अनबिज्ञले दीपेन्द्र रोकायाको किताब "नाफाको जिन्दगी" पढ्नुभए हुन्छ ।
यस् पुस्तकमा भएका लेखकका सबै तर्कसङ्ग म सहमत छैन, कुनै कुनै ठाउँमा ध्वस्त असहमत पनि छु । तर जनयुद्दमा प्रत्यक्ष रूपले सहभागी एउटा क्रान्तिकारीको कहानी गजब छ । हुन त उनी बैचारिक रूपले बैदेवाला ड्यास माओबादी सङ्ग नजिक देखिन्छन् र यस्तो आलोचना गरेका होलान्, तर उन्को पार्टीका नेता भनाउँदाहरुसङ्ग उन्का प्रश्न र तर्कको जवाफ खासै छैन होला । चुसेर काम सकिएपछि मिल्काइएका पुस्ताको प्रतिनिधित्व गरेर उनले जे लेखेका छन्, मलाई भन्न मन लाग्यो जस्को काँधमा गिरी खेलेर बालुवाटार घुसे, उनैलाई त फर्केर हेरेनन् भने सर्बसाधारण जनतालाई हेर्नुपर्छ भन्ने त कुरै भएन । अधिकांश समय आफ्ना श्रीमतीका साथ छिमेकीको मेजमानी खाएर स्याटेलाइट फोनबाट आदेश दिनेहरुलाई दीपेन्द्र जस्ताले भोगेको यातना, उठेका ठेला, बगेका रगत, पसीना र पाएका हन्डरले किन छोओस् ? तैपनी तिनै लाउकेले आफ्ना नजीकका "युद्द अपराधी"हरुलाई जोगाउन "युद्दका मर्म"को ध्वाँस दिंदा हाँसो लागेर आउँछ । 
Nafako Jindagi Book lunching
मैले हाइलाइट गरेका केही प्रसङ्ग :
- २०५८ मंशीर २ गते चितवनमा राष्ट्रिय दलित मुक्ती मोर्चाको सम्मेलनमा जाँदा एउटा लुङ्गी लगाएर लट्ठी तेक्दै हिंडेको बुढोलाई बाटो सोधें, पछी कार्यक्रममा तिनै बुढा मन्चमा बसिरहेका रहेछन्, ती त मोहन बैध्य किरण पो रहेछन् ।
- कृष्ण सेनलाई शिव तिवारी भन्ने ब्यक्तीले फोन गरेर बोलाई गिरफ्तार गराएका थिए, पछि हत्या गरियो
- (दुस्मन)को हातमा परेका शिक्षक किसान जम्मैलाई उनीहरुले नाङ्गै लस्करै उभ्याए सबैको हातखुट्टा पहिले खुकुरीले छिनाए आँखामा पट्टी बाँधे लश्करै गोली हानेर हत्या गरे शिक्षक जङ्गबहादुर बिसीलाई भने काठको तिखो किलो कन्चटमा ठोकेर हत्या गरे बिष्णु पुन"अन्जना"लाई २०५९ पुष १९ गते खारामा शाही सेनाले कब्जामा लीइ बलत्कार गरी मुत्रद्वारमै गोली हानेर फाले  
- सर्लाहीको कालिन्जोरमा खाना खान लाग्दा सेनाको घेरामा परियो, लेखक थाल धुन गएकाले बाँच्न सफल भए, तर जना साथीहरुको त्यहीं ज्यान गयो
- छिन्ताङ पुग्दा स्थानीय जनता भन्दै थिए,"दाजुमारा ज्ञानेले धनकुटाको कुखुरा चोर्(सूर्यबहादुर थापा)लाई फेरी प्रधानमन्त्री बनायो यो अर्को अनिष्टको संकेत हो
- लेखकको बिहेको निवेदन सार्वजनिक रुपमा ताली बजाएर अनुमोदन भएपछि थ्री नट थ्री राइफल साटासाट गरेर बिहा सम्पन्न भयो   
- भारतीय शासकहरु नेपाललाई सके सिक्किम नसके भुटान बनाउन चाहन्छन्, माथिल्लो तहका नेताहरु जम्मै भारतमा सेल्टर लिएर बस्नुलाई कतै रबीन्द्र मिश्रको एमए थेसिसले देखाएको तथ्य पुष्टी गर्ने हुन् कि भन्ने डर लाग्दैछ
- हामीसँग एउटा स्याटेलाइट फोन यसै फोनबाट हामी केन्द्रबाट जारी बक्तब्य प्राप्त गर्छौं हामीसँग बेसको आन्तरिक सेट यसैबाट स्थानीय सुरक्षा सम्बन्धी जानकारी प्राप्त हुन्छ एउटा ल्याप्टप , यसैमार्फत पहाडको टुप्पोमा बसेर प्रसारण(रेडियो) गर्न सजिलो भएको एउटा कम्प्युटर यसैमा कार्यक्रम सम्पादन तथा रेकर्ड गर्ने गर्छौं १००वाट को रेडियो ट्रान्समिटर सानो मिक्स्चर बाँसमा टाँग्ने एन्टेना , त्यस्लाई जेनेरेटरबाट चलाऊँछौ जेनेरेटरका लागि  तेलको जोहो उच्च जोखिम मोलेर गर्नुपरेको सामान्य खालका रेडियो क्यासेटहरु छन् प्रसारणका लागि साँझपख डाँडामा चढ्नुपर्छ चिसो हुरीबतास, चट्ट्याङ असिनापानीसङ्ग हाम्रो लुकामारी चल्ने गर्छ साथीहरु ठसठस कन्दै जेनेरेटर बोक्नुहुन्छ
- बाटोमा साथीहरु बिरामी परिरहने बर्षाको बाटोमा चोटपटक लागिरहने भएकाले भएकाले मैले केही औषधी बोकें औषधी बोकेकाले स्वत: स्वास्थ्यकर्मी भएँ आजदेखि थप जिम्मा थपियो आवश्यकतामा जे पनि हुनुपर्थ्यो दिउँसो पानी पहिरो जुकाले सताएका थिए भने रातभरी उडुसले सताए निदाउन के लागेको थिएँ, सेन्ट्री पालो आयो
- जीवन नाम गरेका कमरेड सन्धिखर्कमा घाइते हुनुभएछ उहाले दुई दिनअघि घाइते हुँदा आफ्नो गालाको मासु गोजीमा हालेर ल्याउनुभएछ एक हप्तापछि पनि आफ्नो गालाको मासु हेर्दै रुनुहुन्थ्यो रे
- पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यले करोडमा खाडी प्रदेश को कैलाश मानसरोवर जडान प्रदेशको राजधानी ताक्लाखार चीनलाई बेचे
- जुम्ला तत्कालीन जनसरकार प्रमुख परानबहादुर धरालालाई पुत्रलाभ भएको खुशीयालीमा घर पुगेको बेला सेनाले कब्जामा लिएर हत्या गरे
- खानाको ब्यबस्थापन गर्न खोज्दा माओबादीको खाना पालोले चिढिएका जनता बोल्न नपरे हुन्थ्यो जस्तै तर्कन थाले हामीलाई देखे पनि नदेखेझैं गर्ने गाउँलेको मनोबिज्ञान सजिलै बुझिन्छ कि गाउँघरतिर पहिले 'डुमसँग कुरा गर्यो नून ढिका खती'भन्ने उखान अहिले 'साँझ बिहान माओबादीसङ्ग कुरा गरे खाना खती'भनेझैं मान्न थालेका रहेछन्
- जनयुद्दमा ज्यानको बाजी राखेर पत्रकारिता गर्नेहरुले चाकडी गर्दैनन्, यथार्थ बोल्छन्, त्यसैले उनिहरुले पार्टी सतामा पुगेर पनि अवसर पाएका छैनन् माओबादीका कतिपय ठुला नेताहरु युद्दकालमा भारत बसे, त्यहीबाटै बर्ग फेरिसकेका रहेछन् संसदीय अभ्यास आएपछि वर्ग भुल्न कुनै महाभारत लागेन अध्यक्ष प्रचन्डको घरभाडा उठ्बस सुनेर छक्कै पर्नुपर्ने अवस्था आयो
- अहिले नेताहरु भुरेटाकुरे ढुस्के राजाजस्ता भएर आफ्नो गुणगान गाउने साधन बनाउन अभिप्रेरित छन् केही रेडियो टिभी दैनिक पत्रीकामा मोटो रकम लगानी समेत गरेको सुन्नमा आएको छ्
- माओवादी शान्तीप्रकृयामा आएपछि शहर मध्यमवर्ग रोज्न थालेको वर्गसंघर्षका बेला महत्वपूर्ण भूमिका निर्वाह गरेका गाउँठाउँ क्षेत्रका आधारभूत वर्गका जनतालाई भुल्दै गएको कुरा सही हो
- त्यस्पछि पार्टिले अली सोचेझैं नयाँ योजना ल्यायो तीन करोड रुपैया उठाउने प्रेस किन्नेसम्मको त्यस्का लागि कृष्णसेन स्मृति प्रकाशनले शेयर उठायो पैसा नउठेको पनि होइन तर त्यो पैसा संबिधानसभापछि को स्थिती के हुने भन्ने आधारमा जनदिशालाई उपलब्ध गराएन
- गोबिन्द आचार्यले कार्यालयमा सबै साथीहरुलाई राखेर दीपेन्द्रको ठाउँमा मनॠषि धिताल आएपछि डा भट्टराईले तीन करोड रुपैया लगानी गर्नुहुन्छ भन्नुभएछ
- त्यस्को केही समयपछि भट्टराइले आफ्नो गुट बनाउन जमेर लागेको देखियो उहाले आफ्नो बीभागीय काममा अध्यक्ष प्रचन्डबाट सहयोग नपाएको कुरा बताउन थाल्नु भयो उहाले जनादेशमा सम्पादक कोमल बराललाई आफ्नो अन्तर्वाता बारे असहमती राखेकैले 'कु' गर्नु भयो
- बिज्ञका हिसाबले समाज कल्याण परिषदबाट 'सर्च फर कामना ग्राउन्ड' नामको अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको मध्यकालीन मुल्यांकन गर्ने मौका पाएँ अरुका नाममा किताब  लेख लेखेर पेट पाल्ने काम गरें पार्टिमा मरे जिउँदा कस्ता छन् भनेर सोधखोज गर्ने कोही छैन, किनकी पार्टी मास पार्टिमा परिणत भैसकेको
- सुर्खेत जुम्ला सडक धराप लोक मार्ग हो :)
- कुनै जमानामा पार्टी सदस्यता पाउन गाह्रो हुने पार्टी हाल आएर 'मास पार्टी' भएको 'मास पार्टी'मा बेरोजगार केन्द्रीय नेताहरुलाई समेत थाहा छैन कि अब कसरी अगाडि बढ्ने ? यो संक्रमणकाल भएकाले यसो भएको होला भन्नुको बिकल्प छैन
- भट्टराईले मधेसी मोर्चासँग गोप्य रूपमा चार बुँदे सहमती गर्नु, कन्टेनरको चाबी बुझाउने निर्णय गर्नु, ईतिहासमै ठुलो मन्त्रीमन्डल बनाउनु, बिप्पा सम्झौता गर्नु, सुकुम्बासीलाई रुवाएर सामन्तको जग्गा फिर्ता गर्नु, प्रस्तावित संबिधानमा पार्टी नीती परीत्याग गर्नु, पटक मूल्य बृद्दी गर्नु, जनसेना बिघटनको प्रकृया थाल्नु, नेपाललाई कालो सुचीमा पार्ने स्याल हुइया कराएर संसदमा सुपुर्दगी संगठित अपराध परामर्श कानुनी सहायता बिधेयकल्याउनु, नेपालका बिमानस्थलहरुको सुरक्षाको जिम्मा भारतीय कम्पनीलाई दिने निर्णय गर्नु, माथिल्लो कर्णाली अरुण तेश्रो एकिकृत महाकालीजस्ता परीयोजना अघि बढाउने जस्ता बिषयमा भारतसँग सहमती गर्नुले राष्ट्रघातको चाङ्ग लागेका छन्
- यस्मा नेपाल बिषयका बिज्ञ मानिन्ए भारतीय प्राध्यापक एसडी मुनिको 'नेपालका माओवादीलाई पहाडबाट ओराल्दा' शीर्षकमा लेखिएको लेख पढ्दा अध्यक्ष प्रचन्ड बाबुरामलाई भारतीय एजेन्टजस्तै लाग्ने बताइएको वास्तबमा उहाँहरुले यस बिषयमा केही नबोल्नुले पनि मुनिको भनाइ प्रमाणित हुन गएको
- योभन्दा बढी गम्भीर प्रश्न प्रचन्ड टाकनटुकन नै रहेछ भन्ने कुरा यसै भेलामा प्रस्तुत दस्ताबेजको कार्यक्रम भाषाले बोल्छ दस्ताबेजमा कार्यक्रम बाबुरामको लेखन तथा भाषा अर्का उपाध्याक्ष प्रकाशको प्रचन्ड प्रतिबेदन बाचकजस्तो मात्र देखिनुभयो यस्ले गर्दा उहाँलाई राजनीतिक, बैचारिक पारीवारीक रूपमा पनि गरीब दुखी नेता लाग्न थालेको कृष्णबहादुर महराको शब्दमा प्रचन्ड नेत्रित्वमा रहँदासम्म उपयोग गर्नुपर्छ भन्ने अवसर बादीको झुन्ड प्रचन्डका अगाडि चाकरी गर्छ
- तपाइहरुले विकल्पका कुरा गर्नुभयो तर मलाई प्रचन्डका चार विकल्प छन जस्तो लाग्छ एक उनी संसदीय नेता मात्र हुन्छन् दुई, हेग पुर्याइने डरले बौद्ध भिक्ष्यु बन्न सक्छन् तीन, आफ्नो काममा आत्मग्लानी भएर आत्महत्या गर्न सक्छन्, चार क्रान्तिकारी कार्यकर्ता या जनताको हातबाट मारिन सक्छन्
- मोहन बैध्यले पालुङटार भेलामा हाँसी हाँसी भन्नुभयो : साथीहरुले मलाई प्रश्न गर्छन्, तपाईंले नेतृत्व गर्नुहुन्न वास्तबमा यो पार्टिलाई संसोधनवादी भएको देख्न चाहन्न आबश्यक परे नेतृत्व गर्न तयार छु दु: गर्यो गर्यो, नेतृत्वमा पुर्यायो, नेतृत्वमा बोसो लागिहाल्ने समस्या देखापरेको साथीहरुले बुझ्नुपर्छ घटनाक्रमलाई नजिकबाट नियाल्दा जनयुद्दका बेला प्रचन्ड रहस्यमय पात्र हुनुहुन्थ्यो युद्दमा सहभागी बहुनेका लागि मात्र होइन, स्वयम युद्द लडिरहेका कार्यकर्ताका लागि पनि वहाँ रहस्यमय हुनुहुन्थ्यो त्यो बेला शहर बजारमा भेटिएका माओवादी नेता तथा कार्यकर्ता भन्थे," वहाँ रोल्पा रुकुममा बस्नुहुन्छ।" तर रोल्पा रुकुम पुगेकाले पनि वहाँलाई कहिल्यै त्यो क्षेत्रमा भेटेनन् किनकी जनयुद्दको मूल नेतृत्व भेट्न सहजै सम्भब थिएन जनयुद्दकालमा केही समयमात्र वहाँ रोल्पाका बिभिन्न ठाउमा बस्नुभएको थियो वहाँले युद्दको अधिकाँश समय भारतमा बिताउनु भएको थियो
- भारतमा बस्नलाई भारतीय बिस्तारवादीहरुसँग साँठगाँठ थियो भन्ने हरु पनि छन् २०५७ को हिउँदमा पन्जाबमा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनमा सहभागी पत्रकार कुमार शाहका अनुसार त्यतिबेला स्थानिय प्रहरीले घेरा हाल्दा मन्चबाट आत्तिदै 'कुरो गरेरै आएको थिए, के भयो यो?' भन्दै भारतीय सुरक्षा अधिकारीसँग प्रचन्ड आँफैले फोन गर्नुभएको थियो त्यसपछि कार्यक्रम सहजताका साथ सम्पन्न भयो यसरी हेर्दा वहाँले भारतीय शासकहरुबाट केही स्पेस पाएको देखिन्छ
- फौजी रूपमा पहिलोपटक मोर्चामा पुग्नुभएका जनमुक्ती सेनाका सर्बोच्च कमान्डर प्रचन्डकै कारण रुकुमको खारा मोर्चा सफल भएन भन्ने तत्कालीन कमान्डरहरु नै छन् तत्कालीन सैन्य कमान्डरहरुको बिचारमा जनयुद्दलाई 'यु टर्न' गर्न अध्यक्ष प्रचन्डले मुख्य भूमिका खेल्नुभयो खारामा
- अध्यक्ष प्रचन्ड बस्ने घरलाई हेड्क्वाटर भनिन्थ्यो दुलहीझैं सिङ्गारपटर गरिन्थ्यो घरको सबै कोठा सजाइन्थ्यो वरीपरी रिसोर्टजस्तै बनाइन्थ्यो
- युद्दकालमा प्रचन्ड बसेको घर अगाडि उभिएर जनमुक्ती सेनाका बटालियन कमान्डरसम्म भएका सम्बेगले भन्नुभयो : यो ठुलो बारीवरीपरी बंकर खानेका थियौं दुइवटा घोडा थिए दिउँसो ओखरको रुखमुनी बसेर चेस खेल्नुहुन्थ्यो, साँझपख डाँडामा गएर स्याटेलाइट फोनमा कुरा गर्नुहुन्थ्यो दिउँसो लेख्ने पढ्ने इन्डियन टिभी च्यानल हेर्ने गर्नुहुन्थ्यो, मेसका साथीहरुले खाना बनाएर कोठामै पुर्याउनुहुन्थ्यो
- सन्तोष घर्तीमगर : प्रचन्डले छोरालाई सगरमाथा चढाउने पैसो यो गाउका लागि सिफारिश गरेको भए फुन्टिवाङको रूप फेरिने थियो
- वसन्त रोक्का - बड्डा(बुढा) बडा सौखिन रहेछन्, उहाँको बसाइ खानपीन अली भिआइपी नै थियो
- त्यस्बखत जनमुक्ती सेनामा कार्यरत सूर्यप्रकाश रोक्क, मनराखी रोक्का बालकुमारि घर्तीलाई यही घरको आँगनमा अध्यक्ष प्रचन्डलाई बेट्दा भगवान् भेटेजस्तै लागेको अहिले आफु बेरोजगार भएर घरमै बस्नुपरेकाले दु: लाग्ने बताउनुभयो हाम्रा सपना प्रचन्डहरुले चकनाचुर पारे
- रोल्पा थवाङका बरप्रशाद घर्ती तत्कालीन जनसतामा गाउँ जनसरकार प्रमुख हुनुहुन्थ्यो उहाँले उतिबेला मसँग अन्तर्वाता दिंदा भन्नुभएको थियो "जनताको सबै समस्या जनसत्ताले हल गर्नेछ।" अहिले मैले आफ्नो परिचय दुईतीनपटक भनेर सम्झाउन खोज्दा पनि 'मैले तपाईंलाई चिन्दैन' भन्नुभयो यो सबै हामीलाई प्रचन्ड बाबुरामहरुले धोका दिएकाले भएको हो भन्दै उहाले आशु झार्नुभयो कुनै बेला ड्याङ्गड्याङ्ग गोली हानुजस्तो रिस उठ्छ तर उनिहरुलाई आजकाल भेट्न गाह्रो भन्दै वहाँले आशु पुछ्नुभयो
- कमरेड हाङ : प्रचन्ड अब कम्युनिष्ट नेता हुनुहुन्न
- रोल्पाली नेता चुडामणी वली : अब रोल्पाले धोकेवाज प्रचन्डको नाम सुन्न चाहेका छैनन्, वहाँले गर्दा हाम्रा सपना मार्ने काम भयो
- यसैले मैले एक बर्षअघिदेखी भन्दै आएको थिए : अध्यक्ष प्रचन्ड दुखी गरीब नेता हुनुहुन्छ घटनाक्रमले पुष्टी गर्दै आएको वहाँको छोरा प्रकाश दाहालले आफ्नै पार्टिकी क्रान्तिकारी नेता शंकर अधिकारीकी श्रीमती बीना मगरलाई भगाउनुभयो मैले सुनेअनुसार छोरीहरुको घरबारमा पनि उतारचढाब आएको रुखो श्रीमती यस्तो परिवारको साथ पाइने आनन्द कमै हुन्छ
- अर्को कुरा वहाँका बारे बजारमा नानाथरिका हल्ला चलिरहेका छन् उनिहरुका अनुसार काठमान्डुको भाटभटेनीमा लगानी गर्नुभएको काङ्ग्रेस नेता सुशील कोइरालाकाको शब्दमा प्राय: ठुला मिडियामा लगानी गर्नुभएको कोही भन्दैछन् नेपाल युरोप गर्ने जहाज किन्दैहुनुहुन्छ यता यही आन्दोलनमा लागेका कारण निर्धाहरु सामाजिक बहिष्कारमा पर्नुपरेका घटना नेपाली समाजमा दिनहु घटिरहेका छन्
- के सोचेका थियौं के भयो ? शुरुमा बाबुराम हाइ हाइ भन्नेहरु बाबुराम बाइ बाइ भन्न थालेका छन् शुरुमा प्रखर बिचारक बुद्दिजीबी ठान्नेहरु पिएचडिमा खोट देखाउन थालेका छन् वास्तबमा वहाँकै नेतृत्वमा २०५२ सालमा देउवालाई बुझाएको ४० बुँदे मागपत्र आँफै भुल्नुभयो डा भट्टराईले भारतमा बिप्पा सम्झौता गर्दा राजनीतिक जुवा खेलेको बताउनुले पनि उहाँ माओवादीको आवरणमा बसेको भारतीय एजेन्ट हुनुहुदोरहेछ भन्ने जमात बढेको साँच्चै भन्ने हो भने उहाँ नयाँ लेन्डुप दोर्जीझैं देखिनुभएको
- प्रकाश उपाध्यक्ष हुनुभयो उहासँगको एकताले पार्टीलाई क्रान्तिकारी बनाएन बरु गोलमाल बनायो पार्टी एक हिसाबले २०४८ तिर फर्क्यो
- सार्वजनिक कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलनका नेताह्रुको पुछारमा उहाँको तस्बीर राख्नेसम्मको काम भएको थियो मेरो ख्यालमा उहा २०६३ असार गते साँझ पार्टी, जनता जनमुक्ती सेनालाई थाहा समेत नदिई बालुवाटारमा सार्वजनिक हुनुभयो त्यस्को भोलिपल्ट गृहमन्त्री कृष्ण सिटौलाको हेलिकप्टरमा डोटीको बीपीनगर पुग्नुभयो सेती-महाकाली, भेरी-कर्नाली थारुवान ब्युरोको सामुहिक प्रशिक्षण भयो सबैले हेडक्वार्टरको साहसको बढाइचढाइ गरे गृहमन्त्रीलाई शुरुमै गार्ड बनाएको चर्चा गरे त्यतिबेला मैले सबैलाई यो बिषयमा नहौसिन आग्रह गरेको थिए यस्लाई धेरैले अर्थपूर्ण रूपमा लिन सकेनन् त्यस्तिबेला जनसेनाका पश्चिम कमान्डर प्रभाकर कपिल्बस्तु पिली मोर्चा पार्टीलाई नसोधी लडाएको भनेर स्पष्टीकरण दिंदैमा हैरान हुनुहुन्थ्यो
- पालुङटारको भेलामा प्रचन्डले फीतलो प्रस्तुती देखाउनुभयो उहाको पक्ष लिएर बोल्नेहरुको मन खिन्न हुनेगरी "यो मेरो दस्ताबेज होइन, खेस्रा हो' भएर पन्छिनुभयो
- उहालै महानायक ठान्नेको तन मनमा खिन्नता आउँदै गयो पारिवारीक गुटको घेरा बढ्दै गयो उहाँको व्यबहार हेर्दा जता पनि ठीक्क हुने बेश्यारुप देखिन थाल्यो हिजोआज जता जाँदा पनि पार्टी अध्यक्ष प्रचन्डको आलोचना भएको सुन्नुपर्छ थरीथरिका कुरा सुन्दा हाँसो दु: एकैचोटी लाग्नेखालका पाईन्छन्
Dipendra Rokaya

(पुस्तकको नाम : नाफाको जिन्दगी 
प्रकाशक : सुन्दर-सुन्धरा स्‍मृति प्रतिष्ठान, हुम्ला 
मुल्य : ३५०)
(सबै तस्बीरहरु लेखको फेसबुकबाट लिइएका हुन् । यो पुस्तक पढ्नुभन्दा पहिले म वहाँलाई चिन्दैनथें । )


     

1 comment:

  1. " पार्टिमा मरे जिउँदा कस्ता छन् भनेर सोधखोज गर्ने कोही छैन, किनकी पार्टी मास पार्टिमा परिणत भैसकेको छ ।" अनि पार्टीका लागि ज्यान गुमाएकाहरूका परिवार शहिदको मूल्याङ्कन होस् भनेर उफ्रिरहेका छन्। बिडम्बना !!

    ReplyDelete

ShareThis