शोले, जय-बीरु र हिरो


मलाई हिरो नबनी भा'थेन, मैले जसरी भए नि हिरो बनेरै छोड्ने अठोट गरें । 

सोमराज मामाका घरमा इन्डिया लाहुर गएको छोरोले ल्याएको नयाँ डेकमा "शोले" हेरेदेखि मलाई हिरो बन्ने बिचार पलायो । त्यसभन्दा पहिले म जल्ले के बन्ने भनेर सोधे पनि राइम मिलाएर 'डाक्टर' भन्थें, शोले हेरेदेखि डाक्टरलाई हिरोले जित्यो । 

मैले आफ्नो बिचार धनराजलाई सुनाएँ, उस्ले हाँसेर भन्यो : "हिरो तँ जस्तो हुन्न, तेरा जुल्फी हिरोका जस्ता छैन, पएँट पनि हिरोका जस्ता छैनन् अनी झोला र जुत्ता पनि हिरोका जस्ता छैनन्, कसरी बन्छस् हिरो?" म खिस्स परें । 

मलाई आफ्नो झोला र जुत्ता फ्याँक्दिउँ जस्तो झोक चल्यो, "यस्ता ताइ न तुइको बोक्दैन हिरोले!" मैले अठोट गरें । 

म खिस्सीको रिसले झन्झनाउँदै घर पुगें, बा आइपुगेका रहेछन् अफिसबाट, साइकल अड्याउँदै थिए आँगन मा, मलाई हेरेर फिस्स हाँसे । मलाई रिस उठिराको थियो, हाँसिन । म भित्र जान ला'थें, बा'ले बोलाए "एइ, एता आइज त ।"

म गएँ कपाल कन्याउँदै, मेरो प्यान्टमा लागेको धुलो झार्दै बा'ले भने " कहाँबाट लुगा मैल्याइस यस्तरी, पढ्न गाको कि कुल्ली काममा?"
मैले फर्किँदा बाटोमा लडें भनेर ढाँटें, शोलेको जस्तै उडेर हान्ने ट्राइ मार्दा धुलोमा लट्पटिएको भन्यो भने झापड भेट्ने सम्भाबना थियो । दिदी आइ कुदेर कुरा लगाउन, मैले तल हेरेर धुलो झार्दै गरेका बाको ढाडमा मुख लुकाएर कुरा लगाइस भने गइस भन्ने ईशारा गरें फिल्मी इस्ट्यालमा, उ गै । आजलाई बचियो । 
Jay and Veeru in Sholay
बाले इस्टकोटका गोजिबाट एक मुठी सुका जाने सुन्तला कलरको चकलेट निकाले, अनी मलाई दिए । मैले लिएं अनि भित्र दगुरें । भित्र पुगेसी याद आयो, हिरोले यस्ता जाबो सुका खाले चकलेट खाँदैन, छड्के हेर्दै बीडी खान्छ । मुख रसायो तर खाइन, हिरो जो बन्नु थियो ।

दिदी आफ्नो स्कुले सर्ट धुँदै थिइ, म उस्का छेउ गएँ । "गोथे, मेरो चकलेट चोर्न आएको होलास्, म बालाई भन्दिन्छु, बाअाअाआ !" मैले मेरो भाग चकलेट उस्का छेउमा राखिदिएँ र भनें, "तैं खा, हिरोले यस्ता नाथे चकलेट खाँदैन ।"

बेलुका खाना खाइसकेपछि आमा बा दिउँसो बाले ल्याएको पोको खोतल्न थाल्नुभो । त्यस्मा दसैंका लुगा र अरु किनमेल थिए । बाले मलाई र दिदिलाई नयाँ स्कुल ड्रेस ल्याइदिनुभएछ । त्यो सँगै दिदिको नयाँ जामा र मेरो मामाघर जाँदा लाउने सर्ट पएँट थियो । सँगै पहेँलो टल्किने बुट्टा भएको जुत्ता पनि । "यस्पालीको दसैं गजप हुने भो ।" मैले मन मनै सोचें । 

तर झल्याँस्स याद आयो, हिरोले त्यस्तो लुगा लाउँदैन । यस्ता गए गुज्रेको लुगा लगाएर हिरो बन्नी चानस थेन । बाले बर्षैपिच्छे अलिक ठुलो पएँट ल्याइदिनुहुन्थ्यो, अर्को साल पनि लगाउन मिल्नेगरी । पएँट खस्ने समस्या टार्न पछाडि बाट लगेर कुमनिर टाँक लगाउने ब्यबस्था हुन्थ्यो । त्यस्ता लुगा फिलिममा हिरुनीले लगाउँथे । हिरोको त घुँडाबाट उँधो फिंजारिएको पएँट हुन्थ्यो, आफ्ना बाले ल्याइदेको जुत्ता पनि सुरमा भोपालीको जस्तो थियो । मैले जयको शोलेवाला झोला सम्झें, त्यस्तो पो झोला, "यस्ता नाथे टाँक लगाउने झोला बोकेर हिरो भा भाई हो" म रिसले आगो भएं । यी झुसे बुढालाई हिरो के था ? खाली लुगै नलाउने देउताको कथा भन्या भन्यै । 
Amitabh Bachchan and his style
"हिरोले यस्ता लुगा लगाउन्न, म लाउँदिन के यो!" मैले घोषणा गरें । बा वाल्ल पर्नुभो । "के भन्छ यो ? ओइ कस्ले सिकायो तलाइ ?"
"मैले फिलिममा हेरेको, म लगाउन्न ।" म रुन थालें । आमा म नजिक आएर भन्नुभो, "भोली यसैलाई लगेर साट्दिनु न त, कस्तो भन्छ त्यस्तै, दसैंका केटाकेटी रुवाएर।" मैले सोचे "आमालाई मलाई हिरो बनाउन मन रेछ बरु, यी बा के भा'का ? आफ्नो छोरो हिरो भा देखी सहन्नन् ।"

भोली म लुगा हेर्न जाने भएं, यसै नि शोलेको किक ट्राइ गरेर होमवर्क गर्याथेन । खुरु खुरु गएर दिदिलाई जिस्काउँदै सुतें, दिदी होमवर्क गर्दै थिइ, उस्लाई यसरी जिस्काउँदै सुत्न कम्ता मज्जा आउन्न । 

भोलीपल्ट बा रेडी हुनुभो, म पनि भएँ । मैले सकेसम्म कपाल जयको जस्तै बनाउने कोशीश गरें, तर कहाँ उस्को उड्ने जुल्फी कहाँ मेरो नाथे ठुटे कपाल, कतै फर्किएन । 

बाले साइकलको चाबी खोल्नु'भो, बा जहिले पनि मलाई अगाडि डन्डीमा बसाउनुहुन्थ्यो हेन्डिल समातेर । मलाई साइकलको घन्टी ट्रिङ्ग ट्रिङ्ग पार्न खुब मज्जा लाग्ने, त्यत्तिकै बजाइदिन्थें । बा सरकारी अपिसा खरदार थिए, म चाँही गाउँभरी 'साना हाकिम' । मैले आज डन्डिमा नबस्ने निर्णय गरें, हिरो कतै डन्डीमा बस्छ । हिरोले त उठेर चलाऊछ यस्ता नाथे साइकल । मैले बाको पछाडि क्यारियरमा बस्ने अड्डी लिएँ, झुसे बा'ले नयाँ हिरोलाई के सक्थे । म बाको पेटी समातेर पछाडि बसें । 

साइकल हिंड्यो, म गद्गद भएँ, स्कुल जानलागेकाहरु इर्श्याहाले मलाई हेर्थे, धने पनि । मलाई खुप मजा भइराखेको थियो । म कहिलेकाही बाको साइकल कैची परेर चलाऊँथे, सिधै चलाऊन सक्दैनथें, तर जसो तसो चलाऊथें । हिरोको जस्तो उठेर चलाऊन सिक्नु बाँकी नै थियो ।  

अचानक याद आयो, यसरी चुप्प लागेर बस्ने हिरो हुन सक्दैन । शोलेको हिरोले मटरसाइकल पनि उठेर चलाऊँथ्यो, म यहाँ बा'को पछाडि धुम्म परेर बसेको छु, मेरो हिरो हुने छाँट छैन । मैले उठ्ने निर्णय गरें । बल्ल तल्ल उठेको के थें, खसेर छेउको तीतेपाती झ्याँगमा खसें । बा साइकल छोडेर कुद्दै आउनुभो "कसरी खसिस् ? कसो ढन्डेसो भाँचिएन? अगाडि बस् भन्दा टेरिनस्, दसैंका बेलाँ क्यै भा भए।" बा मेरो दर्फर्याएको घुँडो सुम्सुम्याउन थाल्नुभो । मैले सोचें "अलेली घाऊ नलागी त के हिरो बनिएला ? फिलिममा गब्बरको गोली जो खानुछ, यी बा त्यसै डराउँछन्।" 

त्यस दिनलाई मेरो हिरोगिरी त्यसै सकियो, म फेरी बाको हेन्डिलमा बसें, म शोलेको जयबाट एकैपटक सुरमा भोपाली जस्तो लुत्रुक्क परेर साइकलको डन्डीमा बसेको थिएं ।
*********************************************************************************
दसैंको बिदा शुरु भयो, बाले नलगा मामाघर जाँदा लगाउनु पर्छ भने पनि कस्ले टेर्ने ? बा अफिस जाने बित्तिकै म अस्ती बजार गएर ल्याएको घुँडा तल फिंजारिएको पएँट र चुच्चे जुत्ता लगाउन पुग्थें, ऐरे गैरे लुगा लगाएर हिरो बनिने चानस थेन । आमालाई र दिदिलाई कल्ले टेरोस् ?

म हिरो बनेर गाउँतिर निस्कें, केटाहरु चौतारामा बाघचाल खेल्दै थिए, म छेउमा गएर टुक्रुक्क बसें । धने आयो । 
Amitabh and Dharmendra in Sholay
"तँ अब हल्का हिरो देखिइस्, तर तँ जय जस्तो अग्लो छैनस्, मिलेन ।" उस्ले ठम्म्यायो । "बीरु पनि त अग्लो छैन नि, कुरा गर्छ ।" मैले जवाफ फर्काएँ । हुन त मलाई जय मन पर्थ्यो, बीरु मन पर्दैनथ्यो । त्यस्ले फिलिममा जयलाई सधैं दु:ख दिन्थ्यो, रक्सी खान्थ्यो अनि खाली केटीका पछि लाग्थ्यो। अनी ट्याँकीमा चढेर "सुसाइड सुसाइड" भन्थ्यो । मलाई जय जस्तै खत्रा बन्नु थियो, तर धनेले भनेपछी त्यल्लाई ठीक लगाउन म बीरु बन्न रेडी भएँ ।

केटाहरुमा गाई गुइं शुरु भयो, सोमराजका छोराले त अनेक जादु गर्छन् रे, लाहुरबाट सिकेर आ'का भन्ने हल्ला भयो । हो त, अस्ति शोले पनि तिन्कै डेकमा हेरेको । हाम्रो डफ्फा तयार भो, म अघि लागें, हिरो के पछि लाग्दो हो । हाम्रो डफ्फामा सानाठुला गरी १२-१५ केटाकेटी थिए । २-४ हामीभन्दा ठुला पनि थिए । 

सोमराजको छोरो उपरखुट्टी लगाएर पीँढीमा बसेको थियो, हामी गएको देखेपछि उस्ले आफ्नी बहिनिलाई बोलाएर "माचिस दे" भन्यो । उ फिलिमको हिरोजस्तै बीडी पिउन थाल्यो । यो पो हो त काइदा । जुल्फी पनि हिरो जस्तै छ, तर जयको जस्तो थिएन । पएँट पनि अर्कै थियो ।    
   
उस्ले सारा केटाकेटिलाई चक्लेट बाँड्यो, मैले खाइन तर हातमा लिएर धनेलाई दिएँ । उस्ले भाईलाई दिन भनेर गोजीमा हाल्यो । 

उस्का बम्बै गफ शुरु भए, बाटोका कुरा, रेलका कुरा, बडापाव र चट्पटका कुरा, गाडीका कुरा, समुद्रका कुरा । धने र मैले धेरै बुझेनौं, तर हामीलाई लाग्यो, यी सबै खत्रा चीज हुनुपर्छ । 

उ बल्ल फिलिमका कुरामा आयो, फिलिम त्यहीं बन्ने, बाटो बाटोमा फिलिम शुटिङ हुने, हिरो हिरुनिलाई भेट्न र हात मिलाउन पाइने, फिलिम पनि सिनेमा हलमा मात्र हेर्ने, हिरोको घर अगाडि गएर उभेसी हिरोले हात हल्लाउने, मलाई सपना जस्ता लागे । नयाँ नयाँ हिरो आएका, कुन्नी के शारुखान, सञ्जय दत्त, के के के के । हाम्रा गाउँमा जय बाहेक अरु हिरो थिएन । यत्रा धेरै हिरो पक्का नि यी सोमराजका छोरा जस्तै हुनुपर्छ । सबैभन्दा अचम्म जयको घर पनि त्यतै हो रे । 

गफ गर्दा गर्दै सोमराजको छोराले हाम्रो डफ्फामा भएका ४-५ जना १३-१४ बर्षका दाइहरुलाई पनि बम्बै लैजाने सल्लाह गर्‍यो, उनिहरु दसैंको टीका थापेसी हिंड्ने भए । हामीतिर फर्केरै हेरेन । हामी लुरु लुरु फर्क्यौं, जान पाउनेहरु नाच्दै फर्के । मलाई लाग्यो, हिरोको जस्तो लुगा र जुत्ता भएकोलाई चाँही वास्तै गरेन त्यल्ले । मैले बासँग सोध्ने बिचार गरें । बालाई साइकलमा पुर्याइदिनु भन्नुपरो भन्ने बिचार गरें, यिनेरु भन्दा अगाडि जयको घर अगाडि गएर नउभ्भे त के । 

घर गएं, अनी किताप समाएँ । बा आउने बेला भएको थियो । 

बा सधैंझैं आउनुभो र हातखुट्टा धोएर पीँढिमा बसेर हुक्का तान्न थालनुभो, म छेउमा गएर गुँडुल्किएं । बा'ले काखमा लिएर म्वाइँ खानुभो, म तर्कें, हिरुनीले पो म्वाइँ खान्छन्, बाले हो । हाम्रा बालाई केही थाहा छैन । झन बिझाउने दारीले आपत पार्थ्यो । 

"बा' म हिरो बन्छु ।" मेरा मुखबाट निस्क्यो । बाले गोरखापत्र हेर्दै भन्नुभो, "पहिले पढ् अनि बन्लास् ।"

म खिस्रिक्क परेर भित्र लागें, यो पढ्ने भन्ने कहाँबाट आयो ? हिरोले घोडा चढ्छ, गोली पड्काउँछ, डाँकालाई गोद्छ, बीडी पिउँछ, नाच्छ । ती सबैसँग मलाई भनिएको पढाईको कुनै साईनो देखिंदैनथ्यो । हिरोले पनि पढ्छ कतै ? पढ्नेहरु मास्टर हुन्छन्, हिरो त भा-भाइ हो ।   

मलाई राती फिटिक्क निद्रा परेन, ती दाइहरु म भन्दा पहिले बम्बै पुगेर हिरो बन्ने भए । अर्को साल दसैंमा आउँदा ती सोमराजका छोरा जस्तै बीडी पिउँदै आउछन् । त्यस्तै डेक ल्याउँछन्, अनी चकलेट बाँड्दै हिरो हिरुनिका कथा हाल्छन् । आफ्ना बा'ले बुझे पो । 

भोलिपल्ट बिहानै धने सँग भेट भो, उ पनि निम्म परेको थियो, बम्बै जाने टिममा नपरेर । हामी 'भुरा' भनेर छोडिएका थियौं । 

धने म भन्दा बलियो थियो, उस्ले मलाई गिज्यायो, "म त हिरुनिलाई जसरी पनि उचालौंला, तं के गर्छस रमेश ?" हो त, म हिरुनी उचाल्न सक्ने जत्रो थिइन, बसन्तीलाई नउचाली बीरु बन्ने चानस थिएन । 

म फेरी खिस्रिक्क परें, यो जुनीलाइ हिरो बनिएला जस्तो छैन । उस्ले उपायो निकाल्यो, "यसो गरौं, हामी हिरो भयौं भने तैले उचाल्न सक्नेलाई हिरुनी बनाम्ला ।" मलाई उपाय ठीकै लाग्यो, मलाई यसै नि बसन्ती मन पर्दैनथिन्, धने अग्लो भएर मात्र हो, नत्र म जय बन्न छोड्नेवाला थिइन । 

हामीले धेरै नाम छान्यौं हिरुनी बनाउन, तर कोही पोक्ची,कोही काली कोही डल्ली र कोही मोटी निस्के, बसन्ती जस्तो कोही थिएन । जय र बीरु मात्र भएर सोले बन्नेवाला थिएन । हामीले पल्लो गाउँको दीपकेलाई गब्बर बनाउने भयौं, त्यो कहिले दाँत माझ्दैनथ्यो ।

धनेले र मैले जय र बीरुले हाने जस्तो किक ट्राइ मार्दा धनेको हाल्फ प्यान्ट फाटेको थियो । हामीले जम्प गर्ने भनेर दिन भरी धुलोमा पछारिएका थियौं । घोडा चढ्न र बन्दुक चलाउन धनेले सिकाइदिने भयो, मैले भन्दा उस्ले धरै फिलिम हेरेको थियो ।   

अन्त्यमा जय र बीरुको टिमले टीकाकै दिन मामाघर जाने भन्दै भाग्ने प्लान बनायो, हिरुनी उहीं खोज्ने सल्लाह भो । 
*********************************************************************************
बम्बै जाने दिन आयो, म चाँडै उठें अनि हातमुख धोएँ । आमा गोठमैं हुनुहुन्थ्यो, बा सुतीरहनु भएको थियो, दिदी पँधेरा गएको थिइ । म झोला बोकेर फुत्त निस्कें । बा'को गोजीबाट १५० निकालें, दसैंलाई दक्षिणा दिन ल्याएका नोठ । बम्बै पुगेसी हिरो बनेर फिर्ता गर्दिन्छु यी झुसे बुढाको, मन मनै सोचें । 
The epic ride of Jay and Veeru in Sholay
धने पँधेरातलको ढुङ्गामा कुरिरहेको थियो । मलाई देखेपछि लुसुक्क आयो, दुई भाई बित्तातोडले ओरालो झर्यौं । अब हामीलाई छेक्ने कोही थिएन, हामीलाई बम्बै पुगेर जय र बीरुको जस्तो मटर साइकल चढिहाल्नु थियो, धनेले गफ देको थ्यो "साइकल जस्तो होइन बाबु पाइडल चाल्न पर्नी, मटर साइकल त आँफै कुद्छ।" अब धनेले भनेसी होला त, जय जो पर्‍यो उ । 

हामी चार घण्टा जति हिंडेसी थाक्यौं, टीकाको दिन भएकाले गाडी चलेको थिएन । तर गाडी चलेन भनेर घर फर्किने र भोली सोमराजका छोराहरुभन्दा ढिलो हिरो हुने त कुरै थेन, हामी ४ घण्टा हिंडेर हाइवेमा निस्केम । फाट्टफुट्ट गाडी चलेका थिए, तर धने र मलाई देखेर कुनै गाडी रोकेनन् । धनेको गोजिमा चकलेट रेछ, बेस्सरी भोक लागेको थियो, हुन त हिरोले नखानुपर्ने हो, तर उपाय थेन, दाजुभाइले त्यही खाइयो । उस्ले पनि अब चकलेट नखाने र यो लास्ट भएको घोषणा गर्‍यो ।   

धेरै बेर गाडी आएनन्, टीका लगाउन गए होलान्, हामी पर्खीरहेम् । 

थप २ घण्टा जति कुरेपछि एउटा गाडी आयो, धने र म घुसिहाल्यौँ र बर्नेटमाथि धुमधुम्ती बस्यौं । गाडी स्टार्ट के हुन लागेथ्यो, बा आइपुगे साइकलमा । बा सोध्दै सोध्दै आइपुगिहाल्नुभेछ ।  

जय र बीरुलाई तानेर ओराले सबै मिलेर । बाले धनेलाई पछाडि र मलाई डन्डिमा राख्नुभो र साइकल हाँक्नुभो । आज गोदाइ खाइनेभो भनेर म चुपचाप बसेको थें, पिटाइ खाइएन । पल्लो बजार पुगेसी ओरालेर बा'ले केरा र चकलेट किनिदिनुभो र आफुले चिया खानुभो, हुनत हिरोले त्यस्ता नाथे केरा र चकलेट खान्थेन, तैपनी भोकले मर्ने बेला भएकोले कुपु कुपु खाइयो । धनेले उस्को अब चकलेट नखाने घोषणा अघि बिर्सिसकेको थ्यो । 

हामी साइकलमै घर पुगेम्, मान्छेहरु हामीलाई हेरेर हाँस्तै थिए । जय र बीरु एकै रन्कोमा सुरमा भोपाली भएका थिए । घर गएसी दिदिले गिज्याइ, "हिरो आयो,अमिताभ बच्चन।" हाम्रा कुरा सुन्ने गाउँका केटाकेटीले हाम्रो प्लान अघि गाउँभरी छरेछन् । आमाले केही भन्नुभएन, रुनुभो, मलाई दिक्क लाग्यो आमालाई रुवाएकोमा । 

धने बेलुकासम्म हाम्रै घरमा बस्यो, बाले टीका लगाइदिएपछि दिनभरी सम्झाउनुभो, सोमराजका छोराले चौकिदारी गर्ने कुरा, उसँग जाने केटाले भाँडा माझ्ने कुरा अनि बम्बै जान ३ दिन लाग्ने कुरा, धने र मैले कसम खायौं अब देखि नभाग्ने । बेलुका बा'ले उस्लाई पुर्याइदिनुभो । 

स्कुल खुलेसी हामी स्कुलमा जय बीरु भनेर कहलियौं, तर मैले हिरोगीरी छोडिसक्याथें । यसरी म हिरो नबन्दै सन्यास लिएं ।    


No comments:

Post a Comment

ShareThis