जगदीश घिमिरेको "सकस" भित्रका सकसहरु

जगदीश घिमिरे दाजुको "सकस" फेला परेको थियो अस्ति साँझ, आज पढेर सिध्याएँ । 

पुस्तक पढ्नु अघि उत्सुकता थियो, मैले जगदीश दाजुको "अन्तर्मनको यात्रा" पढेको हुँ यसअघि, अत्यन्तै उत्कृष्ट लागेको थियो । त्यही भएर "सकस"बाट पनि मलाई राम्रो कृति पढ्नपाउने आशा थियो । समग्रमा "सकस" राम्रै छ, नेपाली इतिहाँस र बर्तमानका धेरै कुरा बोकेको छ । पुस्तकले लामो कालखन्ड बोक्छ, प्रताप मल्ल र नरभूपाल शाहहरुदेखि पृथ्वीनारायण शाह, उनका सन्तान, राणा शासन, प्रजातन्त्र स्थापना, पञ्चायत, बहुदल, गणतन्त्र र नयाँ नेपाल समेत । ईतिहाँस र राजनीतिमा रुची भएकाको लागि संग्रहरणीय कृति हो, माया प्रेम र थ्रिलर कथा अनि आख्यान पढ्नेलाई झ्याउ लाग्न पनि सक्छ । त्यसो त नेपालको इतिहाँस र बर्तमान दुबै झ्याउलाग्दो छ । 
Jagadish Ghimire's Sakas
"सकस" एकनास बगेको छ, बिकासक्रम सँगै, नेपाली राजनीति र इतिहाँस र कालखन्ड यस्का मोडहरु हुन् ।

कुमारी, शरद, जीबा, बोधदादा, देबीजी, बा, कोइराला बाजे, बद्रीलाल, नरेश, कर्मलाल, मुक्तात्मा, रामेस्वर् सर, आकाश, बारुद, पत्रकार, कमरेड ज्वाला, टेकबहादुर, मदन, धनन्जय दास र अन्य पात्रहरु आफ्न कथा सँगै इतिहाँस र वास्तविकता बताउँछन् । तिनमा रक्तरन्जित नेपाली इतिहाँस, शोषण र उत्पीडनका साथ साथै द्वन्दका भोगाइहरु छन्, सर्बसाधारणका पीडाका गाथा छन्, दोहोरो चेपुवामा पर्दाको उकुस मुकुस र सकस छ । पढ्न बस्दा तपाईंलाई आनन्द आउँदैन बरु इतिहाँस र बर्तमानको अमिल्दो "फ्युजन"प्रति ऐंठन हुन्छ । नामअनुसारकै बिषय वरीपरी कृति घुम्छ, र सर्बसाधारण भएर जीउनुपर्दाको सकस देखाउँछ ।   

सकसमा पढिएका धेरै एतिहासिक कुराहरु मेरा लागि नयाँ थिए, जयजयकार गरेर लेखिएका महेन्द्रमाला पढेर हुर्केको मलाई यी गजब लागे । जस्तै पेज ११५ मा रणबहादुर शाहको यो प्रसङ्ग :
"भारदारहरुलाई अपराधको निहुँमा मारिन्थ्यो । तिनका दुईबर्षसम्मका छोरा, नाति, पनाति पनि काटिएका लिखत छन् । मारिनेका पत्नीलाई मात्रै होइन, तिनका बुहारी, कमारी, सुसारेलाई पनि घिस्याउन लगाउँथे । यो काम सबभन्दा बढी रणबहादुर, भीमसेन थापा, माथबरसिंहहरुले गरे, गराए । भारदारहरु सैयौंसय काटिएका लगत छन्, तिनका जहान र नोकर्नीहरु त हजारौं पुगे होलान् ।"

मान्छे काटेर मज्जा लिने रणबहादुर शाहको प्रबृत्तीका बारेपेज ११७ मा लेखिएको छ :
"मैले एकरत्ती नडराइकन चटाचट गिंडेको देखेर काजीलाई भनिबक्स्यो,'यो लायक रैछ पोडे । हेर् भ्युँसिने, कति मजासँग काट्छ ! कति पोडे त रोएर भाग्छन् नि हैन?' 
Jagadish Ghimire (image source : http://dhaiba.blogspot.com/2008/09/blog-post_6353.html)
त्यस्तै, पेज १२०मा लेखिएको यो प्रसँग :
"डोरबहादुर बिष्ट, हृषिकेश शाह र प्रदीप थापा मगर जस्ता विद्वानहरुले शोधखोजका आधारमा नेपालका पुराना र नयाँ शासकहरु शाह, राणा, मल्ल, सेन लगायत सबै खस छेत्री ठकुरीहरु मगरका बंशज हुन् भन्ने सिद्द गरेका छन् । पृथ्वीनारायण शाहकै बेला बनेको ढलौटे सालिकमा जुँगा छैन । त्यो सालिक नुवाकोट दरबारमा राखिएको छ ।"

त्यस्तै, कम्युनिज्मका बारेमा मलाई रमाइलो लागेको बहश, पेज नं १३७ मा :
"मैले भनें,"रिभोल्युशनरी इन्टरनेसनल मुभमेन्ट, रिमको केन्द्रीय कार्यालय लंडनमा छ । मंगल ग्रहमा केके छ भनेर पत्ता लगाउने अमेरिकाले रिमको कार्यालय र नेता किन पत्ता लगाउन सक्दैन ? किन भने रिमलाई सोआइए ले संचालन गरेको छ ।"

गिरिजा कोइरालाहरुसँग "जीबा" पात्र जेल बस्दाको यो अनुभब :
"यौटा सन्ड-मुसन्ड मधेशी कैदी थियो । उसले "ठूला नेता" मानेकाहरुको गोडा मिच्थ्यो । मैले सोधें, "तपाइ के काम गर्नुहुन्थ्यो ?"
उसले भन्यो, "डकैती"। 
म तर्सिएँ । राजनीतिक बन्दीका रूपमा उ पनि गिरिजाहरुसँग छुट्यो ।"

इतिहाँसका धेरै जालझेलहरु अघि सरेका छन् लेखकले, कसरी चल्थ्यो देशको शासन भन्ने सन्दर्भमा पेज १६७को यो प्रसंग :
"भीमसेन थापा रणसँग काशी जाँदा स्वामीका सामान्य आठपहरीया सुबेदार थिए, फर्कँदा ठूला सरदार भएर आए । चारपाटा मुडेर देशनिकाला भएका बज्रनाथ पौडेलका छोरा रङ्गनाथलाई काशीमा स्वामी महाराजले उनको उपाध्याय बाहुनको जात थमौती गरेर राजगुरु बनाएका थिए । जात पतित भएका बेला उनको परिवार 'अछूत' थियो । राजगुरु भएपछि त्यही परिवार अति छूत भयो ।"

रणबहादुर शाहकै अर्को प्रसंग, जस्मा राज्यकोष अनाबस्यक खर्च गरेको भन्ने सुनुवाईमा उन्को कसरी हत्या भयो भन्ने बर्णन छ, पेज १६९मा लेखिएको :
"उ अत्तालिएको देखेर रस लिंदै स्वामी(रण)ले राजगुरु रंगनाथपट्टि फर्केर खिसी गरे, "अब त नानीको मुख सुक्यो । हाSहाSहाS!"
शेरबहादुरलाई यो खिसी असह्य भयो । उसले म्यानबाट तरबार थुत्त थुत्यो र बिजुली चम्केझैं तेरी माच्चि ... तेरी माच्चि ... भन्दै स्वामीलाई झ्याम्म झ्याम्म हान्यो । स्वामीले यतिमात्र बोल्न भ्याए, "ए बाले, लौन शेरेले मलाई मार्यो ।"        

राजा बीरेन्द्रको रामेछाप बजार भ्रमणको प्रसंग पनि रमाइलो छ । राजालाई देखाउन फलेका जुनारका रुख सिङ्गै ल्याएर गाडीएको थियो रे । पेज १९५ :
"राजाको हेलिकप्टर उड्यो । रामेछापका प्रजाले राजारानीलाई देखाउन चिलाउनेका रुखहरुमा झुन्ड्याएका जुनार बाँदरले जस्तो हारालुछ गरेर टिपे । गाडेका जुनारका बोट, हाँगा, पात फल सबै धुस्नु पारे ।"

सकस इतिहाँस हुँदै माओबादी द्वन्दसम्मको बेलीबिस्तार लगाउँछ । मन्थलीको सन्दर्भ राखेर पेज २०२मा लेखिएको छ :
"माओबादी राति भयंकर आवाज आउने बम पड्काउँथे । वरीपरीका पहाडमा ठोक्किएर त्यो कैयौं गुणा ठुलो हुन्थ्यो । जवाफमा सेनाले उपत्यका थर्काउने अनेक किसिमका गोली र गोला पड्काउँथे । कहिले केही सेकेन्ड थामेर गर्ने भली फायर गर्थे कहिले लहरे फायर । एक मिनेटमा भटटट्ट हजारौं गोली चले जस्तो पनि सुनिन्थ्यो । कहिलेकाही रातभरी पनि गोली चलीरहन्थ्यो । निदाउन सकिंदैनथ्यो । सेनाले मन्थली वरीपरी निगरानी गरिरहेको हुन्थ्यो, कतैतिर पिलिक्क सानो लाइट बलेको देखे भने रातभरी फायरिङ्ग गर्थे । लाग्थ्यो, मान्थली उपत्यका घेर्ने डाँडाभरी युद्द नै युद्द छ, आक्रमण नै आक्रमण छ, सर्बत्र दोहोरो भिडन्त बाहेक केही छैन ।"
video
जगदीश घिमिरेसँगको अन्तर्वाता ( श्रोत : http://vimeo.com/49575926)

द्वन्दका दु:ख र सकस यसरी निस्कन्छन् :
"उनको निधनको खबर सुनेर मैले उनले भनेको सम्झें, " यो मुलुकमा जो गोली लागेर ठहरै मर्छ, त्यै भाग्यमानी हो।"
सोचें, 'को भाग्यमानी? छोटो यातनापछि मारिने मुक्तिनाथ कि बिजोगसँग बर्षौं बाँचिरहने रामेस्वर । बाँदरमुढेमा ठहरै हुनेहरु कि बिजोकसँग बाँच्नेहरु?"

सकस क्रमबद्द मिलेको र चिटिक्क छैन, सिन्धुलीगढीमा फिरङ्गीहरुसँग भिड्दाका कथादेखि दरबारमा तन्त्र साधना र गेरुबस्त्रका आडमा गरिने बकवासहरु छन् । राजदरबार हत्याकान्डदेखि काँग्रेसको मुक्तियुद्द र आन्दोलनका पीडा छन् । भैरबनाथ गणका यातनादेखि दोरम्बा र जनसरकारका उर्दीहरु छन् । मधेश आन्दोलनका पीडा देखि एकल महिला र बुढेशकालका तिरस्कार छन् । समग्रमा सकसले देशले बोकेको युगौंदेखिको सकसलाई लेखनमा उतारेको छ । पहिले स्तम्भ लेखक हुँदाकै आक्रामक शैली आउँछ बेला बेला !

गजब लेखनशैली र अति गम्भीर बिषयका बाबजुद केही कमजोरीहरु छन् सकसमा । कथाको पत्रै-पत्रले ठाउँ-ठाउँमा क्रम टुटेर लठपत्र भएको छ । सबैकुराको खीचडी बनाउने जस्तो कल्ले के भन्न खोजेको भन्ने कुनै कुनै बेला स्पष्ट छैन । कुनै कुनै ठाउँमा लेखक भाबुक हुँदा दर्शन अलिक लामो गैदिन्छ । द्वन्दका कुनै कुनै घटनाहरुलाई अलिक फिल्मी रंग दिइएको छ, जस्ले गर्दा ती अलिक फिका लाग्छन् । सबैलाई खराब देखाउन खोज्दा लेखक र सुत्राधारको दृष्‍टिकोण समेत अल्झिएको देखिन्छ । नेपाल एकीकरणका क्रममा देखाइएको बीरता र देशभक्तिको पाटो छोडिएको छ । कथानक जोड्ने घटनाहरु कतै कतै धेरै तन्किएका र कतै धेरै खुम्चिएको छ, अलिक सम्पादन गर्देको भए हुने जस्तो लाग्छ । 
सन्दर्भ र श्रोतहरु पनि खुलाएको भए ऐतीहासिक घटनाक्रमहरु अझै पत्यारिला हुनसक्थे । आख्यान हो, तैपनी ऐतिहासिक पात्रहरु काल्पनिक थिएनन् । सन्दर्भ र श्रोत उल्लेख गरिदिंदा ती विश्वशनीय हुन्छन् । 

समग्रमा एउटा पठनीय कृति हो "सकस", एक-दुइजना मित्रहरुले नपढ्नु भनेर "बोरिङ्ग" भएको सिफारिश गर्दा गर्दै पनि पढियो "सकस"! पढ्दा कृतिका कारणले होइन हाम्रा वास्तबिकताले दिने पीडाबोधले सकस हुन्छ । सरल र शुद्द नेपाली भाषा आकर्षक र लोभलाग्दो छ । इतिहाँसमा चासो राख्नेका लागि धेरै कुरा छन् "सकस"भित्र । अन्त्यमा जीबाको यो प्रेम दर्शन :
"उनीहरु दुबैलाई थाहा थियो, यो अनाबस्यक प्रश्न थियो । अनाबस्यक कुरामा रस लिनु यौनिक आकर्षणको पहिलो पहिचान हो ।"  


मलाई मन परेको जोतारे धाइबाको जगदीश घिमिरे सम्बन्धी लेख : "जगदीश अवतार : संक्षिप्त आराधना"

No comments:

Post a Comment

ShareThis