कथा : फुरौलीको पोइ

र म फेरी पनि केटी हेर्न गएँ । 

यो तेश्रो पटक थियो, मेरी आमाले मलाई कुनै केटी हेर्न पठाएको । पहिले त अनेकथरी बहाना बनाएर टार्थें, तर आजकाल मलाई त्यस्मा लाग्ने दु:ख भन्दा गएर हेरिदेर चुप चाप फर्केर आउनुमा कम दु:ख लाग्न थालेको छ । गैदियो, गफ गर्‍यो, एक थोक बिङ्गा लगायो, भाग्यो । आमाले भनेका धेरैथोक टेरिन्नथ्यो, यो टेर्न अलिक सजिलो लाग्यो । 

यो पटक पनि मेरी आमाले तीजको दर पार्टीमा जाँदा मेरी टाढाकी सानीमा मार्फत एउटी उम्मेद्वार पत्ता लाउनुभएको थियो, अनि त काम पुगिहाल्यो । "भेट कि भेट" भनेर हाहाकार मच्चाएपछि म वाल्ल पर्दै बानेश्वरको बेकरी क्याफेतिर लागेको थें । यसअघिका यस्तै दुई भेटबाट मैले त्यस्तो भेटघाट कसरी बिना क्षति टुङ्गाउने भनेर उपाय आबिष्कार गरिसकेको थिए । त्यसैले आमाको घोर बिरोधका बाबजुद मैले गोजिको टाँक च्यातिएको हाल्फ प्यान्ट लगाएँ र आइपोड भिरेर निस्कें । आमा केही गरे मान्नुहुन्थेन होला, तर शर्ट प्यान्ट लगाएर त म केही गरे जान्न भनेपछि वहाँ गल्नुभो अनि अस्वीकृति जस्तो स्वीकृति दिनुभो : "भनेको त कहिले टेर्छस् र गधा ?" 

मसँग उत्तर थिएन खासै, फिस्स हाँसिदिएँ । 

यो २३-२४ बर्ष कटेपछिको उमेर अत्ती दिक्कलाग्दो हुने । अलिक समयपछि भेट भयो, साथीहरु सोधिहाल्ने : "जन्त कहिले लान्छस ?" अलिक टाढा या नजिकका नातेदार भेटियो, कि बिहा कहिले गर्ने भनेर सोधेर हैरान, कि लायक नालायक केटीहरुको लिश्ट सुनाएर हैरान । गाउँटोलका मान्छे भेटियो भने कि जन्तको ध्याउन्न, कि रत्तेली नाच्नको टेन्सन । आफ्ना घरका अलिक पाकाहरु त फलानाको यती छोराछोरी, ढिस्कानाको यस्तो भनेर सुनाएरै हैरान । यस्तो लाग्छ सारा संसारको एउटै मात्र चिन्ताको बिषय मेरो बिहे मात्र हो । आरामले अरु बिषयमा कुरा गरिराखेका मान्छेहरु म पुगेपछी "जहिले गरे नि गर्नै पर्छ" "ढिला गरेर के फाईदा" लगायतका उपदेश दिएरै हैरान पार्छन् । अरु त अरु "श्रीमती पीडित" उपनाम पाएका मेरा छिमेकी लामिछाने काका जो एक दिन बिराएर घरमा कुच्चोको पिटाइ भेट्छन्, उनीसमेत बिहा गरेसी यो हुन्छ उ हुन्छ भनेर नानाभाँती सुनाउछन् । 

बिशेषगरी उन्का भर्खर बिहे हुँदाका सम्झना सुन्न लायक हुन्छ, साली जिस्काएको यता त्यता । तर तिन्ले गफ दिरहेका छन् भन्ने प्रष्टै थाहा हुन्छ, किनकी उन्का ३ वटै सालीहरु तर्साउने जस्ता छन् अनी उनी आफु चाँही ढिँडो पकाउने ताप्के जस्तो । 

यस भन्दा अगाडि भेट्न गएका दुबै जना केटीहरुलाई मैले अन्ट सन्ट गफ लगाएर भगाइदिएको थिएं, यो पटक के गर्ने हो आँफैंलाई थाहा थिएन । 

मलाई कुनै हतार थिएन, गाडीमा चढे चाँडै पुगिन्थ्यो, मलाई त टाइममा पुग्नु नै थिएन । त्यसैले दुबै हात गोजिमा राखेर बोन्जोभी को Stand by me गीतमा सुसेल्दै हिंडिराखेको थिएं । 

आधा घण्टा लगाएर बानेश्वरको इन्द्रेणी फुडल्यान्ड अगाडि पुगेपछि म बाटो काट्नको लागि रोकिएँ । त्यत्तिकैमा कुद्दै आएकी एकजना बच्ची मसँग ठोक्कीइन् र लडिन्, मैले झट्पट नतानेको भए रफ्तारमा आइरहेको बाइकले तिन्लाई हिर्काउँथ्यो । मैले हतार हतार रोइरहेकी बच्चीलाई अलिक पर्तिर सारें बोकेर । मलाई यसरी बच्चा सडकमा छोड्नेहरुको दाँत नै भाँचिदिउँ जस्तो लाग्छ । कुनै पार्टी थियो शायद, निकै ओहोर दोहोर थियो । तर कसैले बच्चा मेरो हो भनेन । म वाल्ल परेर ती नानीलाई बोकेर उभिएँ, ती जोड जोडले रुन लागिन् ।    

आफ्नो बिहा भाकै छैन, कस्तो रेछ छोरी रुवाउने बाउ भने होलान् अरुले भन्ठानें । मलाई बिहेको कल्पनाले अरु अत्त्यायो, तोइट्, यस्तै रोइराख्ने बच्चा भयो भने त के गर्ने होला?

एकछिन उभिएपछि बल्ल ती नानीकी आमा जस्ती देखिने खोज्दै आइन्, र मेरो हातबाट उन्लाई लिइन् र फकाउने प्रयास गर्न लागिन् । म हिंड्ने तर्खरमा थिएँ, उन्को कान देखिहालेँ । उन्को कानको लोतीको पछाडि अर्को एउटा डल्लो थियो, फुलौरा जस्तो । सानामा सबैले "फुरौली" भनेर जिस्काउने रमिला थिइन् मेरो अगाडि । सबैथोक बदलिसकेछ तर कानको फुरौला उस्तै छ । होइन होइन होइन उन्को ठुलो निधार, गाढा कालो आँखा र नाकको टुप्पोको छेउमै भएको कोठी समेत उस्तै छ । "हो, रमिला नै हुन् ।" मैले सोचें । एकमनले बोलाउँकी भन्ने लाग्यो, तर होइन यार के बोलाउनु, चिनिनन् भने हैरान् भन्ने लाग्यो । फर्कें र बाटो लागें । 

मलाई अझै बेकरी क्याफे गएर ती अपरिचित जीबलाई भेट्न् मन थिएन, त्यसैले फर्कें लुखुर लुखुर अलिक तलसम्म र बाटो छेउको पीपलको रुखको फेदमा थ्याच्च बसें । 

समय कस्तरी बदलिएछ, मेरो बच्चैबेलादेखिकी साथी रमिलाको पनि कुद्ने छोरी भैसकिछ, "बुढो भैएछ क्यारे!" झल्याँस्स एक मन सोचें । 
Nepali child smiling!   photo :  www.foggodyssey.com
रमिला र म सानो छँदादेखिकै साथी थियौं । १ कक्षामा सँगै सरकारी स्कुल भर्ना भएका हामी ३ कक्षामा पढ्दासम्मा साथी भैसकेका थियौं । स्कुल संगै जाने मात्र होइन बाख्रा चराउन जाने पाखो पनि एउटै । गाउँभरीका सबै सङ्गै बाख्रा चराउन गयो, अनी बेलुका संगै फर्कियो । पाखोमा बाख्रा लगेर छोडेपछि कुनै काम नहुने । अलिक ठुला गनिएकाहरु चुङ्गी, खोपी, हुतुतु, डन्डिबियो र मोजाको बलले सेक्काइ खेल्थे । हामी साना र केटीहरुलाई ग्रुपमा नमिसाउने भएकाले हामी चाँही गट्टा र भाँडाकुँडी खेल्थ्यौ । म चाँही सधैं आफ्नी दिदिको पछी पछी लाग्ने भएकाले दिदिले जे खेल्यो त्यही खेल्थें । 

दिदिले आफु गाजल लाउदा मलाई पनि लगाइदिन्थी, अनी केटाहरुले यो पनि छोरी भएछ भन्दा मलाई मर्नेगरी लाज लाग्थ्यो । 

म दिदीहरुसँग सँगसँगै लागेर भाँडाकुँडी खेल्थें, रमिला फुरौली हाम्रै टिममा । हामी घर बनाउथ्यौं, छाप्रो परालले छायो, अनी चुलो बनायो । खानेकुरा पकायो, भाग लगायो, खाए जस्तो गर्‍यो । फेरी भाँडा माझ्यो, घोप्टायो, अनि खेतको काम गर्‍यो । फेरी खाजा बनायो । ठ्याक्कै घरको काम गरेजस्तै । हामी अलिक साना भएकाले दाउरा खोज्ने जिम्मा थियो । रमिला र म छोराछोरी बन्थेम, दाउरा खोज्ने खेत खन्ने काम हुन्थ्यो हाम्रो । दिदी अलिक ठुलि भएकाले आमा बन्थी, उ आमा बनेर मलाई फाईदा । घरबाट ल्याएको खाजामा मीठो छानेर मलाई दिन्थी किनकी भाग लाउने काम आमाको हुन्थ्यो । 

बीच बीचमा बाख्रा फर्काउन जाने जिम्मा मेरो थियो, मैले आँफैले जिम्मा लिएको पनि । किनकी, पाखाको पल्लो छेउमा घिमिरे बाजेका बारीमा अम्बा, कटुस, सुन्तला या नाशपाती चोर्न पाइन्थ्यो । 

एक दिन शनिबारको दिन खाना खाइसकेपछी सबैले छोराछोरी ठुलो भएकाले बिहे गर्ने निर्णय भयो । तर सबैले लाज मान्ने । कोही यता कोही उता भागे । आमाले भनेको पनि कसैले टेरेनन्, दिदिले मलाई फकाइ :"थारु, म तलाई कुल्फी किन्दिन्छु भोली स्कुलमा, तँ बेहुला बन् न है ।" मैले नाइ भन्ने कति कोशीष गरें, तर बा बन्ने सुन्तली दिदी लगायतले समेत मलाई नै बेहुला छाने । नभन्दै मेरो बिहा हुने भो । सबैजना केटी खोज्न निस्के । 

पल्लो गाउं भनिएकोमा गएर केटी छिनेर आए, रमिला मेरो बेहुली हुनेभैन् । 

मलाई सन्दीपको अलिक नयाँ टिशर्ट लगाइदिए, ट्राउजर मेरै नयाँ थियो । दिदी बनेकी रीताले धुर्सुलको फुलको माला उनेर लगाइदिइन् । केटीहरुले गाजल समेत लगाइदिए । म सांच्चै बेहुलो जस्तो देखिएँ । 

सबै मिलेर मलाई अन्माए, यतिन्जेलमा ठुलाबडाको टोली पनि रमाइलो मान्दै हाम्रै बिहेमा मिस्सिन आयो, ठुलै रमिता भो । माख्लाघरे रमेश दाई बेहुलो बोक्नेमा परे । मलाई जुरुक्क बोके उन्ले । केटीपाटी घरमै बसे रत्त्यौली खेल्न । आमा बनेको मेरी दिदिलाई खाजा बाँड्दैको चटारो । 

अन्मिएर जाँदा उल्का मज्जा आयो, रमेश दाईले बोकेर लगे, मलाई त रमाइलो पो लाग्यो । 

उता पल्लो गाउँ रेडी थियो । कोहिले बाजा भनेर पीपलको पात बटारेर बजाए, कोहीले टीन ठटाए । बेहुली बनेकी रमिलालाई स्वयंम्बर गरेर मलाई माला लाईदीइन्, म त लाजले भुतुक्कै । 

पछाडिबाट जन्ती बनेका बीरे हरुले गिज्याए, बेहुलो भएर नि लाज मान्ने होस् ?? मैले सोचें हो त म त बेहुलो पो त । रमिला त लाजले रातो पीरो भएको प्रष्टै देखिन्थ्यो । 

त्यसपछी गोडा धुने काम शुरु भयो, सबैले गोडामा पानी हालेर खाए जस्तो गरे, पैसा दिएजस्तो गरे । जग्गेमा बसेर घुम्न पनि लाए । रमिलालाई साडी भनेर लगाइदिएको अम्बिकादिदिको सल मैले समातेर घुम्दा फुस्कियो । अरु सप्पै हाँसे, मलाई चाँही खिन्न भो । बसेको ठाउँ सार्ने, पीर्का र रुमाल तान्ने, जुठो खुवाउने, कन्यादान गर्ने, सिन्दुर हाल्ने सबै काम भए । बेहुलिका बा बनेका शंकरकाकाले रमिलालाई मेरो जिम्मा लगाए । जन्तीहरुले बाजा बजाएर नाचेर उत्पात गरे । बेहुला बेहुली पनि नाच्नुपर्छ भनेर मलाई पनि लगे, म त अली अली हल्लिएं, रमिला त साडिको पीरले नाच्न सके पो । 

अन्त्यमा हामी सबैलाई बिदा गरे बेहुली पार्टीले, मलाई र रमिलालाई बोकेर जग्गे घुमाए, अनी अन्माइदिए । अन्माउने बेला रमिला रुन थाली, मलाई लाज पो लागेर आयो । 

बोकेर घर पुर्याए, उता रत्तेली खेल्नेहरु रेडी थिए । बाजा बजाउनेहरुले पनि जोडले बाजा बजाए । घरमा भित्र्याउने काम पनि भयो । रमिलाले आमा बनेको मेरी दिदीलाई ढोगेर ढुङ्गाको पैसा चढाइन् । घर भित्र्याएसी बिहे सकियो । 

सबैलाई बोलाएर भोज लगाइ दिदिले आमा बन्दै । भोजमा खसी भनेर भोगटे काटियो अनी सबैले मासुभात खाए । यसरी रमिलाको र मेरो ख्याल ख्यालमा बिहा भयो ।  

सबैले घर लैजा अब भन्दै जिस्काए, मलाई मर्नु परो । आफुलाई त दिदिले बल्ल उस्को खाटमा सुत्न दिन्छे, रमिलालाई कहाँ सुताउनु ? मलाई त बल्ल बल्ल दिदिले स्कुल जाने बेला लुगा लगाइदिन्छे नाक बजाउँदै, रमिलालाई कस्ले लगाइदिन्छ । म घरतिर भागें । 

त्यो दिन त केही भएन, भोलिपल्टबाट बिहेको परीणाम देखियो । अघिल्लो दिनसम्म सबैले दीपक भन्ने म भोलीपल्टदेखि "फुरौलीको पोइ" भएँ । अगाडि त कसैले भन्दैनथे, किनकी म सके हातले नसके ढुङ्गाले हानिहाल्थें, तर झगडा परेको बेला र पाएको बेला गिज्याएर हत्तु बनाए । रमिला त वरीपरी पर्नैं छोडि । 
Nepali children playing in khumbu trail! Pic : Alexandre Buisse (The Khumbu Diaries)
तर म खतरनाक पाराले रमिलाको पति भएर निस्कें, कसैले केही भन्यो भने त्यस्ले कुटाइ खान्थ्यो । रमिलालाई भनेको थाहा भो भने पनि मेरो दुश्मन हुन्थ्यो । म उस्लाई पर्खेर हिंड्ने भैसकेको थिएँ । भाँडाकुँडी खेल्दा अब हामी छोरा बुहारी थिएम् । गाउमा पनि सबैले जोडी भनेर जिस्काउथे । यहाँसम्म कि बुवाहरु पनि सम्धी भनेर जिस्किनुहुन्थ्यो । 

६ कक्षामा पढ्दा सम्म रमिला र म एकदमै मिल्ने साथी थियौं । म गाउँभरी कहलिएको "फुरौलीको पोइ" थिएं । त्यसो भन्दा मलाई रिस उठ्न छोडेको थियो । फुरौलीले पनि मलाई "बिहाको दिन छोडेर किन भागीस् लद्दु?" भनेर जिस्काउँथी । मेरो दिदी मरी मरी हाँस्थी, म रातो पीरो हुन्थें लाजले ।

म फुरौलीसँग साँच्चै बिहा गर्छु भन्ने सोच्थें मनमनै । बिहा गर्ने मात्रै होइन, घर कता बनाउने, गोठ कता बनाउने भन्ने समेत प्लान गर्थें म ।

६ कक्षाको वार्षिक परीक्षा हुनेबेला अचानक रमिलाको परिवार चितवन बसाइँ जाने भयो । अघिल्लो पटक चितवन जाँदा रमिलाका बा ले उतै घर जग्गा किनेर आएका थिए । रमिलाले बाँकी पढाई उतै गर्ने भै । उनिहरु १० दिनमा सबैथोक बेचेर बसाइँ गए । जाने बेला फुरौलीले फेरी डाइलग हानी : लद्दु, तँ नभागेको भए म त संगै बस्थें, बिहा गरेर छोडेर भागीहालिस् ।" उ बत्तिसे देखाएर हाँसी, ठुला निधार टल्किने गरी, मलाई चाँही साँच्चै पीर लाग्यो । 

फुरौली गएपछि मैले साँच्चै जीबनको ठुलो भाग गुमाएँ जस्तो लाग्यो । 

त्यसपछि फुरौलिलाई देखिन मैले, फुरौलीका बाबा कहिलेकाही आउँथे, तर उस्का कुरा गर्दैनथे । म चाँही अझै पनि फुरौलीसङ्गै बिहा गर्ने योजनामा थिएं । उमेरसङ्गै मेरा योजनाका साइज बढ्दै गएका थिए, तर निच्च गरेर लद्दु भन्दै जिस्काउने फुरौली थिइन । मलाई फुरौलीको पोइ भनेर जिस्काउनेहरु तेरो स्वास्नि तलाई छोडेर भागी भन्न थालेका थिए ।  

धेरैपछि मेरो बुवा चितवन गएर आउँदा पो थाहा भो, फुरौलीले त SLC दिनेबित्तिकै बिहा गरिछे, भागेर लभ म्यारिज । त्यतिखेर म BA पढ्ने भैसकेको थिएँ । तैपनी म हरेक केटीलाई हेर्दा फुरौलीसङ्ग तुलना गर्थेँ । त्यत्रो कलेज पढुन्जेल मेरा गर्ल्फ्रेन्ड भएनन्, किनकी म फुरौलीजस्तै गर्ल्फ्रेन्ड खोज्थें ।

अघिल्ला दुई केटीहरु फुरौलीजस्ता नभएका कारण मलाई मन नपरेका थिए, अहिलेकी पनि मन नपर्ने सम्भाबना कम थियो । तर तेश्रो उम्मेदवार भेट्नुभन्दा अगाडि नै मेरो अगाडि फुरौली उभिएकी थिइ ।   

मलाई के गरौं कसो गरौं भयो, फटाफट नजिक गएर मैले फुरौलीलाई बोलाएँ "हाइ रमिला, सञ्चै?? मलाई चिन्यौ?"

उ कन्फ्युज भएको देखियो, अन्त्यमा भनिन् : गाह्रो भयो । 

मैले भनें : सरी, मैले अरु नै भन्ठानेको, सरी है । 

म रोडमा निस्कें, बाटो क्रस गरें र बेकरी क्याफेभित्र छिरें । क्याफेको माथिल्लो तल्लामा थिइन् मेरी आमाकी च्वाइस । 

ठिकै राम्री रहिछन्, दुक्खै गरेर मेक्-अप गरेजस्तो देखिन्थ्यो । कुरा पनि राम्रो गर्थिन् , मैले आधा घण्टापछि बिल माग्दै भनें : आमाले भन्नु भो कि भएन, मेरो यो दोश्रो बिहे हो । तपाईं दोश्रो बिहा गर्ने हो र मसङ्ग ??

तीनी अप्ठेरोमा परेकी प्रष्टै देखिन्थ्यो, म बिल तिरेर बाहिर निस्कें । उनी घरमा सल्लाह गर्छु भन्दै निस्किन् । 

म सडकमा निस्किएँ, अनि बिहाको दिन बेहुलो हुन परेर भागेको सम्झेर मुस्कुराएँ !  

4 comments:

ShareThis