रुवाबासी र गनगने बाबुराम

अलिक अगाडि नै सुनेको एउटा कथा शेयर गरौं, सुनिसकेको भए माफ पाउ है !

एउटा लोग्ने स्वास्निको बेस्मारी झगडा पर्‍यो, बोलचालै बन्द हुनेगरी । स्वास्नी लोग्नेलाई शंका गरेर र लोग्ने श्वास्नीलाई शंका गरेर मात्र घर छोडेर हिंड्न सकेनन् ।
खाना मात्र संगै खाने हुन थाल्यो, लोग्ने बिहान घरबाट अफिस जान निस्कन्थे, साँझ फर्किन्थे, खाना झट्पट खाएर सुतिहाल्थे । बोलचाल हुने कुरै भएन, को कम ।
एक दिन साँझ अफिसबाट फर्किंदा लोग्नेले दुईवटा अन्डा लिएर फर्के, लुगा फेरे, अन्डा किचेनको टेबलमा राख्देर चुप चाप बाहिर निस्के, चिया पिउन ।
स्वास्नीले त्यो देखेर अन्डा फ्राइ गरेर मज्जाले डबल अम्लेट बनाएर राखिदीइन् । साँझ खाना खाने बेला अन्डा फ्राइ भएको देखेपछी लोग्नेले झोक पोखे : "अन्डा उसिनेर खाने बिचार थियो, कुकुर्नीले फ्राइ गरेर पो राख्दिछे ।"
त्यो दिन खाना खाएर सुते, अर्को दिन फेरी लोग्नेले साँझ दुईवटा अन्डा ल्याएर राखेर बाहिर गए । हिजोको गाली सम्झिराखेकी स्वास्निले चुपचाप अन्डा उसिनेर राखीदीइन्, साँझ फर्केर खाना खाने बेला लोग्ने फेरी गर्जिए, "आज चाँही फ्राइ अन्डा खाने मुड थियो, कुकुर्नीले उसिनेर राख्दिछे, त्यस्का हाताँ कीरा पर्नलाई।"
दुबै जना खाना खाएर सुते, भोलीपल्ट फेरी लोग्नेले दुइवटा अन्डा लिएर आए, टेबलमा राखेर निस्के । स्वास्नीलाई हिजोको गालीले झनन रिस उठिराको थ्यो, अनि उन्ले एउटा अन्डा फ्राइ गरीदीइन्, अर्को उसिनेर राखीदीइन् । लोग्ने आए र खान बसे, अन्डाको हालत देखेपछी उन्लाई केही फुरेन, लास्टमा प्याच्च मुखबाट निस्क्यो : " कुकुर्नीले फ्राइ गरेर खाउँला भन्ठानेको अन्डा चाँही उसिन्दिछे, उसिनेर खाउँला भन्ठानेको चाँही फ्राइ गरेर राख्दिछे ।"
कथाको सार : ल्याङ ल्याङ या गन-गन गर्न जानेको मान्छेले जे मा पनि ल्याङ ल्याङ या गन-गन गर्न सक्छ, बिना क्राइटेरिया ।
Baburam Bhattarai All smiles!!
प्रसङ्ग डाक्टर बाबुराम भट्टराईकै हो, उन्ले आजकाल पत्रीकाँ लेख छपाउन थाल्याछन्, अस्ति पनि नागरिकमा "लेखक प्रधानमन्त्री हुन्" भनेर लेख निक्लेको थ्यो । धन्य भगवान, केहीलाई त थाहा छ, उनी प्रधानमन्त्री हुन् भनेर । उन्ले भनेका "उनी आँफैलाई समेत प्रधानमन्त्री भाको अनुभब भा'छैन" रे, हामी निमुखा जनतालाई हुने कुरै भएन ।
बाबुराम भट्टराइको बालुवाटार इन्ट्री कुनै भारतीय साउथ फिल्म तिरका जुँगामुठे हिरोको भन्दा कम धमाकेदार थिएन, मुस्ताङ नामको नेपालमै असेम्बल गरिएको टडक इस्ट्यालको गाडीमा चढेर गर्नु हल्ला गरे शुरुमै । हुन त उनी प्रधानमान्त्री हुने तयारी गर्दैगर्दा अब के-के न हुन्छ भनेर धेरै जसो अबुझहरु सात बित्ता उफ्रिए, भुइंमा न भाँडामा भएर । म पनि अबुझो म नि उफ्रें, किन नउफ्रिउँ ?? सिटामोल नपाएर मान्छे मर्ने देशमा एउटा डाक्टर राष्ट्रपती त थे नै, अर्का डाक्टर पर्धानमन्त्री भे'र आए । अब भ्याइयो, म जस्ता धेरैले सोचे । त्यसमाथि अर्थमन्त्री हुँदा बित्तिय अनुशासन र कर संकलनमा नमुना काम गरेर देखाएका मान्छे, केइ त हुन्छ भन्ने सबैलाई लागेको थ्यो । हुन त केही बुझक्कडहरु मैले त पहिलाई केही हुन्न भनेको थें नि भनेर बटारिन्छन् पनि, तर धेरैलाई आशा थियो, केइ त हुनेवाला छ ।
शुरुवात राम्रै भो, "हेल्लो सरकार", "जनतासँग प्रधानमन्त्री", "बाटो भत्काउ कार्जेकरम", "सुकुम्बासी पुनर्स्थापना", "बजार नीरिक्षण", "मुग्लिन सम्मका होटेल र शौचालय नीरिक्षण" लगायतका हिन्दी फिल्म नायक शैलीका काममा हात हालेर पर्धानमन्त्री हिरो बनेकै हुन् । आफुले त बाबुराम नफुक्लिउन्जेल "बाबुरामलाई काम गर्न देउ" भनेर उफ्रिने चिच्याउने गरेकै हो ।
Baburam Bhattarai : Serious for nothing

तर आज लोग्नेश्वास्नीको माथिको कथामा जस्तै गन-गन र ल्याङ ल्याङ मात्र गर्छन्, बाबुराम । कहिले "कुर्सी त्याग्ने घोषणा" गर्दिन्छन्, कहिले "मैले छोडे संसार डुब्छ" भनेर दाह्रा किट्छन्। देश जहाँको त्यहीं छ, शान्ति प्रकृया अधमरो छ, संबिधानसभाको असामयिक निधन भो, तैपनी बाबुराम काम गर्न दिएनन् भनेर ल्याङ ल्याङ नै गर्दैछन् । कहिले कल्ले काम गर्न दिएन भन्छन्, कहिले सहमती भएसी छोड्दिन्छु भन्छन्, नयाँ नयाँ बहाना निकालेर रुवाबासी गर्छन् । त्यस्को उपलब्धी शुन्य छ ।
बाबुरामलाई लाग्या होला, प्रचन्ड, माकुने या झलनाथले केही नगरे हुने, मलाई चाँही किन ?? तिनिबाट जनतालाई केही आसा थिएन, ती पदलोलुप स्वाँठ हुन् सबैलाई थाहा छ । तिमीबाट आसा थियो, तिम्ले पनि ल्याङ ल्याङ बाहेक केही गरेनौ । भर्खरै जेठि सासुलाई महत्वपूर्ण पदमा आसिन गराएको हल्ला सुन्दैछु, बधाई छ । तिम्रा छोरा छैनन्, नत्र पर्कासले जस्तो बारम्बार सम्धी हुने साइत पनि जुर्थे होलान् ।
हुन त भनिहाल्यौ लेखमा ३ महिना भन्दा टिक्ने आसा थे'न एक बर्ष खाएँ भनेर, बजायौ, तिम्लाई त लङ्गुर बुर्जाको "चौबर झन्डी" दाउ फापेजस्तो भो । हामीलाई उपलब्धी शुन्य । "न दानब थिएं, न राक्षस छु" भन्ने तिम्रा तर्कमा दम होलान्, तर मलाई त आजकाल तिमी राँके भुत जस्तो लाग्न थालेका छौ, परबाट देख्दा के-केन जस्तो, नजिक गएसी के-न-के !
Baburam Bhattarai : Discolored, faded and deserted

तिम्ले जोगाएका बालकृष्ण, प्रभु शाहहरु, पोसेका गच्छदार, राजेन्द्र महतोहरु, घोक्राएका बैदेबा लगायतका ग्याङ र अन्य धेरैका तिमीप्रतिआफ्नै धारणा होलान्, तिमीलाई देउतै मानेर सपोर्ट गर्नेको ठुलो जत्था बाँकी नै होला, मेरो भन्नु केही छैन । तिमीसँग ठुला सैद्दान्तिक ज्ञान होला, राजनितिक दर्शन होला, दुनियाँ बुझेका होलाउ, यत्रैसिती । म जस्तो सोझो जनताले देख्ने राहत चाँहीयो, शान्ति सुरक्षा चाहियो, बिकास चाहियो । सक्दैनौ भने जे सुकै गर, गन गन नगर !! भोलिपर्सी गतिलो बनेर निस्क्यौ भने मै पनि सपोर्ट गरौला तर यतिखेर चाँही मलाई के लाग्छ भने तिमीजस्तो उचाइबाट स्खलन चाँही कसैको नहोस्, बिद्यानष्ट बेहालै हो यो !
भगवानले तिम्लाई सद्बुद्दी दिउन्, कथाको लोग्नेको जस्तो बहाना खोजी खोजी ल्याङ ल्याङ गर्ने काम बन्द होस् । शुभकामना !!

No comments:

Post a Comment

ShareThis