A Roadee's Tales हिंड्दा हिंड्दैका कथा - २

यो पटक फेरी सडकका कथा लेख्ने जमर्को गरियो । आजकाल ब्लग लेख्न खासै जाँगर चल्दैन, चले पनि आधा लेखेपछी थन्किन्छन्, लेखेपनि कसैले पढ्दैन :P । यो चाँही लेखौ लेखौ नै लाग्यो । माइक्रो बस नाम का "फ्लेक्जिबल डब्बा"हरु बर्तमान पुस्ताका प्रतिनिधि धरोहर हुन्, म जस्ता आय आर्जन गतिलो नभएका धेरै नेपालीको दैनिकी र नियती पनि । म तिनैमा झुन्डिन्छु, र मेरो पुस्ताका धेरै म जस्तै झुन्डिन्छन् यदी बन्द छैन भने । तिनिहरुसँग झुन्डिंदा र बाटोमा हिंड्दा मन छोएका कुरा मोबाइलमा खिच्ने गर्छु म, यसअघी पनि शेयर गर्दा मन पराइएकोले फेरी शेयर गर्ने जमर्को गरेको छु । मोबाइलबाट हुलमुलमा खिचिएका तस्बीर "गतिला" नहुन सक्छन्, DSLR किन्ने सामर्थ्य खासै छैन, तर तिन्ले बोकेका कथा सडकछाप हरुको कथा हो ।
बाँकी तस्बीर कथामा :
तस्बीर १ : सामाजिक सद्भाबको यो रुप 
  यो तस्बीर रत्नराज्य क्याम्पस अगाडिको हो, भर्खरै सद्भाब र्याली भएको थियो । र्याली सकिएपछी एकजना सहभागीले आफ्नो प्लेकार्ड छेउको ढलको प्वालमा गाडेर हिंडेछन् । उन्को त्यो "सामाजिक सद्भाब कायम गर ।" भन्ने प्लेकार्डमा कसैले डट्पेनले "मा खाली छु, मसँग बिहे गर" भनेर छेउको स्टेसनरीतिर एरो बनाइदिएछ । देख्दा सामान्य भएपनि असामान्य कुरोमा समेत भद्दा मजाक गर्नसक्ने हाम्रो बानी दर्साउँछ यो चित्रले !


 तस्बीर २ : शान्ति र पुस्तान्तर
  दस बर्ष अराजक द्वन्दमा धेरै दु:ख खेपेको मुलुकमा शान्ति धेरथोर फर्किन थालएको आभास हुन्छ । यो तस्बीर मा पाटन कृष्ण मन्दिर अगाडि एकजना बाजे आफ्ना नाती लिएर परेवासँग खेलाउन आएका थिए । परेवाको झुन्ड जता जता जान्थ्यो, बाजे नाती डोहोर्याउँदै उतै उतै पुग्थे । घुम्न आएका पर्यटकहरु समेत नाती र बाजेको यो खेल हेरिरहेका थिए दङ्ग परेर । 

तस्बीर ३ : दादागिरी  
 यि छोटे डन टायपका कन्डक्टर बुढानिलकण्ठ-रत्नपार्क रुटका खलासी हुन्, एकदिन एकदमै जाम भएको बेला लैन्चौर आइपुग्दा उन्को गाडीको ढोकामा छेउबाट आएको साइकलले कोरेर गयो । यिनी ओर्लेर गएर साइकलवालालाई समातेर भनाभन गर्न थाले, कुरा मिल्नै लागेको थियो यिनीले के भन्दिए त्यो साइकलवालाले समातेर तान्यो । यिनी पनि के कम, डन न परे, एक चार्ज गरिहाले । त्यसपछी त्यो मान्छेले यिन्लाई समातेर पट्टापट पिट्न थाल्यो, सडकपेटिमा घुमाइ घुमाइ । गुरुजी ओर्लेर गए छुट्टाउन, पहिले कुरो मिले जस्तो भाको थ्यो, फेरी गुरुजीले के भने त्यो मान्छे गुरुजीलाई पिट्नतिर लाग्यो । गुरुजी र खलासी दुबैले पालैपालो पिटाइ खाँदापनि कोही छुट्टाउन गएन । म झुन्डिराथें, एकछिन त म पनि गइन, तर अत्ती गोद्न थालेपछी गएर अर्को एकजना दाइले र मैले छुट्ट्यायौं । जती छुट्टाउँदा नि झगडा गर्न गाको गाकै देखेर आफुलाई अफिस ढिलो भैसकेको झोकमा यि डनलाई मैले ढलमा फाल्दिएं, धकेलेर । अनि बल्ल ग्याङ फाइट सकियो । यो तस्बीर मैले अर्को पटक यिन्को गाडीमा चढ्दा खिचेको जतिखेर यिन्को घाँटिमा त्यो पहिलेको घाऊको दाग बाँकी नै थियो । 

तस्बीर ४ : न्यायको आसा 
सर्लाहीबाट सर्बोच्च अदालतमा पेसी धाउन आएका यि एक जोडी तराइबासी दाजु दिदी महाराजगंजबाट गाडीमा चढेदेखी नै मसँग सर्बोच्च अदालत कता पर्छ भनेर सोध्दै थिए । बाटोमा आफ्नो कथा समेत भने, आफ्नो एउटा भएको खेत समेत पहुँचवाला आफन्तले कब्जा गरेपछि ज्यालादारीले परीवार धान्ने यो जोडीले १८ बर्षको उमेरदेखि खेप्न थालेको मुद्दा अहिले सर्बोच्चमा आइपुगेछ । मुद्दा सर्बोच्च आइपुग्ने क्रममा यिनी ३९ बर्षका भए रे । एउटा मान्छेको जीबनकालभरी न्याय पाउन नसक्ने दुर्दशा म मानब अधिकार आयोगमा काम गर्छु भनेर फुल्नेले टुलुटुलु हेरें ।  

तस्बीर ५ : वात्सल्य 
 यो तस्बीर युबा संघका डनहरुको "कृयटिभ" बन्दको दिनको हो । चार वटा लगनखेल जाने माइक्रो चढ्न नसकेपछि पाँचौ पटकमा सपरिवार यिनी र म चढ्न भ्यायौं । यिन्ले सपरिवार सिट पाए, मैले उभिने मौका पाएं । गाडीका मित्रले "मान्छे मिलाउँदै" सकेजती मान्छे हाले, त्यसमाथी चरक्क घाम लागेर हुनसक्नेजती गर्मी थियो, अझै युबा संघको कृपाको जामले नकुरा गरौं । पछी गर्मी भएर त्यो फुच्चे हाहाकार गरेर रुन थाल्यो । केही नलागेसी यिन्ले छोरोलाई हातले सकेजती माथि उचाल्दै फुक्न थाले । आफु पसिनाले खलखल हुँदा पनि मतलब नगरी यिन्ले छोरालाई सितल बनाउन सम्पूर्ण यात्रा खर्च गरे । हाम्रा बा-आमाले पनि हामीलाई यसैगरी जोगाए होलान्, तर हामी अहिले फर्केर तिन्लाई कस्तो छ तिम्लाई भन्न भ्याउँदैनौं । 

तस्बीर ६ : शोक 
कृष्णअष्टमीको दिन बिहानैको यो तस्बीर मैले दुध किनेर फर्कँदा लिएको हुँ । म जाँदा पनि यो कुखुरो यसैगरी आफ्नो चल्लो कुरेर बसेको थियो, म १५ मिनेट जती पत्रीका पढेर दुध किनेर आउँदा पनि यो यस्तै थियो, अनी मैले तस्बीर लिएं । सडकको छेउमा (शायद दुर्घटनामा) मरेको चल्लो कुर्ने त्यो कुखुरो देखेर मलाई मानब चरित्र याद आयो । त्यल्ले नि सक्ने भए त्यो लास सडकमा राखेर चक्काजाम र क्षतिपुर्तिको माग गर्दो हो । 

तस्बीर ७ : ग्याजेट
 र यो अन्तिम तस्बीर रत्नराज्यको क्यान्टिनमा काम गर्ने भाईको हो । हिजो बिदाको दिन सोसियोलोजी पढ्न RR पुगेका बेला यि भाई आफ्नो चाइनिज मोबाइलमा ठुलो ठुलो स्वरले बजाएर नेपाली फिल्म हेर्दै थिए । दुईवटा जार लिएर पानी लिन आएका यिनी पानी खोल्ने टेबलमाथी चढ्दा, त्यहाबाट झर्दा, पानी भर्दापनी फिल्म हेरिनै रहेका थिए । अझ हद त तब भयो जब यिनी पानी बोक्ने काम पेन्डिङ राखेर फिल्म हेर्न थाले । मैले यो तस्बीर त्यहीबेला लिएको !
राज्य एकदमै अनुत्तरदायी छ, कुनै नागरिक प्रति राज्यलाई कुनै वास्ता छैन भने बच्चा बृद्ध र महिलालाई हेर्ने फुर्सत कस्लाई छ र ? लाग्छ हामी बाँचुन्जेल हामीलाई मान्छेहरुले शासन गर्ने दिन आउला कि सधैं यिनै हुतिहारा गोरुहरुलाई नै कर तिरेर पोसिराख्नु पर्ने हो, ता कि तीनले हामीले पैसा तिरेको करबाट चिल्लो गाडी किनेर तिनैले घुश खाएर खाल्टो परेको सडकमा हामी हिंड्दा हामीलाई नै हिलो छेप्दै हिंडुन । 

हिंड्दा हिंड्दैका कथा - १ यहाँ छ !!




No comments:

Post a Comment

ShareThis