"पैसा तिरेपछि " : नेपाली सेन्सर बोर्ड, हाइवे र रमाइलो

नेपालमा आजकाल सबैकुरा लथालिङ्ग छ, संसद छैन, कामचलाऊ प्रधानमन्त्री र सरकार छ जुन कुनै कामको छैन । अर्थतन्त्र, बजार, कानुनको शासन र सामाजिक सद्भाब सबै डामाडोल छ । यस्को कारण यो हो कि नेपालका सबै सरकारी र गैरसरकारी संयन्त्रहरु मक्किएको फर्निचर जस्ता भएका छन्, जता हावा चल्यो त्यतै लच्किने । तर हाम्रो आजको बिषय राजनीति होइन, भाँड मे जाये राजनीति । यी सबैका बिचमा नेपालमा एउटा त्यस्तो निकाय छ, जो आजकाल एकदमै सकृय छ, कतै कतै चाहिने भन्दा बढी पनि, त्यो हो सेन्सर बोर्ड । फिल्म जाँच पास गरेर सर्टिफिकेट समेत प्रदान गर्ने निकायले बेला बेला यति हाँसउठ्दा कामहरु गर्छ कि ती "डायलग"हरु कुनै सिनेमा भन्दा कम हुन्नन् । सही सम्झिनुभो, प्रसङ्ग पछिल्लो नेपाली चलचित्र "हाइवे" र "लक" को हो ।

चलचित्र "हाइवे"को सेन्सर जाँच हुनेक्रममा निर्माण पक्षले सेन्सरबोर्डका महामहिमहरुसँग निकै बादबिबाद गर्नुपर्‍यो । सेन्सरले "हाइवे" फिल्मको कथानकको मुख्य स्थानमा रहेको नाराजुलुस र चक्काजामका क्रममा "लिम्बुवान जिन्दावाद" भनिने लगायतका दृश्य सेन्सरबोर्डले "साइलेन्ट" गराइदिएको छ, अङ्ग्रेजिमा सबटाइटल समेत राख्न नपाईने गरी । नेपालमा हुने जुलुस त्यो पनि साइलेन्ट हुँदा कस्तो देखिएला ?? फेरी "यो दृश्य हटाउँदा कथा वास्तविक देखिन्नँ" भन्ने निर्माण पक्षको तर्कमा सेन्सरबोर्डका साहुजिहरुले "फिल्म त फिल्म हो नि फिल्ममा किन चाहियो यथार्थ?" भनेर हाँस्यास्पद प्रतिप्रश्न गरेका थिए । साथै सेन्सरले फिल्ममा बार गर्लको अभिनय गर्ने रिचाको बाथरुम सिनमा समेत कालो पोत्न लगाएको छ र रबिन्द्र मिश्रले प्रयोग गर्ने "फक यु" भन्ने डायलग समेत बीप गराउन लगाएको छ । त्यो डाइलग बीप गराउनु पर्ने तर्कमा "रबिन्द्र मिश्र जस्ता व्यक्तिले यस्तो बोल्दा कस्तो असर पर्छ?" भन्ने तर्क दिए अघि भर्खर "फिल्म त फिल्म हो नि, किन वास्तविक हुनुपर्‍यो ?" भन्नेहरुले । नेपाली फिल्म यथार्थपरक भएनन्, अन्तबाट प्रभावित मात्राहोइन चोरिएका कथामै फिल्म बन्न थाले, यथार्थ हुनुपर्‍यो भन्ने आवाज उठेका बेला यथार्थ देखाउन खोज्ने चलचित्रहरुलाई निरुत्साहित गर्ने कदमका रुपमा व्याख्या गरे निर्देशक दीपक रौनियारले यस्लाई । साथै फिल्ममा रिचाले मुख छोडेको दृश्य समेत अश्लील भन्दै हटाउन लागएको छ सेन्सरले । 



सेन्सर महिमा यहीं सकिन्न, यो त कथाको एउटा पाटो भयो । आज भर्खरै एउटा अर्को समाचार देखियो, "लक" भन्ने नेपाली चलचित्र सजिलै "U" सर्टिफिकेट सहित सेन्सर पास भयो । "जे पनि देखाइदिन्छु पैसा तिरेपछि", "आँखा झिमिक्क, माल गायब", मध्यरातमा पनि आइदिन्छु, पैसा तिरेपछि" "मेरो चर्किएको हो, चिरिएको छैन" जस्ता शब्द भएको गीत सेन्सरका सदस्यहरुले आँखा नझिम्काई हेरे, र सजिलै पास पनि गरे । यति मात्र होइन यस अघि प्रदर्शन भएका "चपली हाइट", "द लास्ट किस" जस्ता नेपाली चलचित्र समेत सेन्सर पास गरेरै चलाइएका होलान्, ती चलचित्र कस्ता थिए सबैले देखे । "ओेए के हेरेको, यो हेरेको ?" भन्नेजस्ता सम्बादमा समेत कुनै समस्या देखेन सेन्सरले र ती चलचित्र सजिलै हलमा चलेर उत्रिए । त्यस्ता चलचित्रको आक्कलझुक्कल सफलताले नेपालमा त्यस्ता चलचित्र बनाउने होड नै चलेको छ । अहिले इन्टरनेट र युट्युबमा नेपाली सिनेमाको ट्रेलर खोज्दा त्यस्तै मात्रै भेटिन्छन् । प्रश्न यहाँ उठ्छ, सेन्सर के चाहन्छ, नेपाली चलचित्र कस्तो भएको हेर्न चाहन्छ ?? वास्तविक या ATM?? नेपाली जनताले बन्द हड्तालबाट पाएको दु:ख, अहिले चर्को रुपमा उठेको संघियताका कुरा या तातो न छारोका हावादारी यौनबिकृत भिडियो ?
सेन्सरद्वारा पास गरिएको "पैसा तिरेपछी" गीत 
सेन्सर बोर्डको काम फिल्मको वर्गिकरण गर्ने हो। तर नेपालको सेन्सर बोर्डले फिल्मको वर्गिकरण गर्दैन, बरू संवादमा मात्र फोकस गर्छ र साइलेन्ट वा विप गराउँछ। अस्लिल गालीलाई वीप गराउने तर्कलाई मान्न पनि सकिएला। तर फिल्मको कथानकसँगै स्वभाविक रूपमा आउने फिल्मका दृश्य जस्ले न त राष्ट्रिय अखण्डतालाई नै चुनौति दिन्छन् या त सार्वभौमसत्तालाई नै त्यस्ता दृश्यहरू साइलेन्ट गर्नु सेन्सर बोर्डको तानशाही प्रवृति हो। अहिले सबैले स्वभाविक मानेको संघियता अन्तर्गतकै एउटा  लिम्बुवान पचाउन नसक्ने सेन्सरबोर्डले १० वर्षे माओवादी द्वन्द्वका बारेमा वा अरू कुनै पनि राजनैतिक विषयमा बनेका फिल्मलाई कुन नजरले हेर्ला? यसले आगामी दिनमा यथार्थपरक र राजनैतिक मुद्दामा चलचित्र बनाउन चाहने चलचित्रकर्मीलाई के सन्देश देला, सेन्सरबोर्डका अधिकारीले सोच्लान्?
सेन्सरद्वारा पास भएर प्रदर्शननै भैसकेको फिल्म "द लास्ट किस"को ट्रेलर 
चलचित्रहरुले समाजको प्रतिनिधित्व गर्छन् सभ्य समाजमा, हाम्रो चाहिँ चलचित्रहरु एकदमै असामाजिक र असान्दर्भिक बन्छन् । पैसा आउने र बिक्ने भयो भन्दैमा आफ्नो इज्जतै लिलाम गर्ने कुरा चाहिँ पच्ने तर त्यही मापदण्ड अर्को फिल्मलाई जाँच्दा लागु नहुने किन हुन्छ ?? "हाइवे" फिल्म निर्माण पक्षले दाबी गरेजस्तो राम्रो नहोला, तर दुई चलचित्र जाँच्ने दुई मापदण्ड किन हुन्छ ?? यी सबै घटनाक्रमले के प्रमाणित गर्छ ?? देश लथालिङ्ग भयो भन्दैमा सेन्सर बोर्ड पनि दिमाग गोजिमै हालेर बस्न त परोइन होला त ? नराम्रो चीजलाई रोक्न नसक्ने तर राम्रो गर्न खोज्नेलाई छिर्के मात्रै हाल्न त सेन्सरबोर्ड किन चाहियो र, दुई चार जना नेताले नै त्यो जिम्मेवारी सम्हाल्दिहल्लान्, मज्जाले !!
  निर्माण भएर प्रदर्शनको तयारीमा रहेको चलचित्र ATM को ट्रेलर

2 comments:

  1. ekdam sahi kura uthaunu bhayecha. nice article, i would prefer this to be in our daily newspaper because it is v v important issue. thank you for the nice writing janak ji.

    ReplyDelete
  2. ATM को प्रोमो भन्दै कलेजमा साथीहरुले video हेरे तर त्यहाँ मैले त्यो video हेरिन, तर यहाँ हेरेर थाहा भयो कि video मा राम्रो संदेश दिनु कता हो कता......उल्टै अश्लिन र बकवास कुरा पो देखाइएको रहेछ.....फ्लिमको नाउमा बिकृति मात्रै हो यो । फ्लिम त परिवर्तनकारी संदेश दिने पो हुनुपर्छ । यस video मा त नराम्रो काम यसरि गर्नु भनेर पो सिकाएको पाए मैले । लेख र चेतनाका लागि यहाँ लाई धन्यवाद!

    ReplyDelete

ShareThis