नेपाली फिल्म हाइवे : एक समीक्षा

Disclaimer : मैले यो समीक्षा लेख्दा न बजारमा उपलब्ध कसैको समीक्षा पढें, न हाइवेकाहरुसँग के गर्न खोजेको भनेर सोधें, फिल्म हेरें, आएर ठोक्दें । मेरो ब्यक्तिगत बिचार मात्रै, असहमत हुन पाईन्छ है ! :)

कुरा नघुमाइकन शुरु गरौं, "हाइवे", नेपाली कथानक चलचित्र धेरै हिसाबले ऐतिहासिक फिल्म हो । प्रस्तुतिकरण, यस्ले प्रयोग गरेको कथानक, अन्त्य र थिम लगायत धेरै हिसाबले यो ऐतिहासिक छ । र जस्ले सुत्रबद्द फिल्म हेरेर सिटी बजाउने, सात तलाबाट हाम्फाल्ने या चोभारमा अपहरण गरेर लगिएकी हिरोइनलाई हिरोले बचाउँदा ताली बजाउछन् र उफ्रिन्छन्, तिन्का लागि फिल्ममा केही छैन भने पनि हुन्छ । फिल्ममा कुनै सुत्र नै छैन, नाटकको भाषामा Absurd Theater जस्तो । 
Highway Movie Poster 1

हिजो हाइवे हेर्ने साइत जुर्यो, लोड्सेडिङको दु:ख झेल्दै हेरियो पनि । धेरै दिनदेखि सोसियल र प्रिन्ट लगायत ब्रोड्कास्टिङ मिडियामा छाइरहेको हुँदा फिल्म हेर्नु अगाडि मनमा एक किसिमको कौतुहल थियो । प्रचारबाजी टन्नै भएका पनि हुन्, र त्यो तार्किक पनि थियो किनकी धेरै फरक धारका फिल्महरु राम्रा भएर पनि चल्दै चलेनन् । नुमाफुङ, मुकुन्डो लगायतका फिल्महरुलाई फरकधारका मार्गदर्शक फिल्म भनिन्छ तर नढाँटी भनौं त हामी मध्य कति जनाले यो फिल्म हेरेका छौं ? छैनौं, किनकी हाम्रा आफ्ना कथा जुन फरक धारमा बनाइए या बनाउने प्रयत्न गरिए, ती चलेनन्, धेरैले त हलमा लाग्ने आँटै नगरी डब्बामा बन्द भए । हाइवे हेरेपछि म मा यो फिल्मका लागि गरिएको प्रचारबाजी प्रति गुनासो छैन । कसैले हेरोस् नहेरोस्, हाइवे चल्नु अगाडि नै चर्चित भयो । 
Highway Movie Poster 2

 फिल्मको कथा: कथाको कुरा गर्नुपर्दा हाइवेमा लामो कथा छैन, त्यसो त फिल्म नै छोटो छ, ९० मिनेटको । ईलामबाट काठमान्डु आउने एउटा बस, त्यस्का यात्री र तिन्का आफ्नाका वरीपरी कथा जेलिएको छ । फिल्मको शुरुमा ईलामबाट हिंड्न शुरु गरेको बस फिल्मको अन्त्यमा काठ्मान्डु आइपुग्छ, कथा त्यत्ती हो । तर काठमान्डु आउँदा ठाउँ कुठाउँ झेल्नुपरेका बन्द, बन्दबाट फुत्किन गरिएका तिक्डम र हैरानीहरु हाइवेका मुख्य कथा हुन् । त्यसलगायत ती पात्रहरुका आफ्नै ब्यथा र सहायक कथा छन्, जुन ध्यान नदिइ हेरे भद्रगोल लाग्न सक्छन् । समग्रमा हाइवेले टिपेको कथा नेपालको आफ्नो ब्यथा हो, जे जस्तो साना ठुला कुराको लागि सडकमा उत्रेर हजारौंलाई अलपत्र पार्नेहरुको दम्भको कहानी हो । सहायक कथाहरु चाँही बिच-बिचमा बेस्कन जेलिएका छन्, र धेरै कथा छानेर धेरै बिषयबस्तु एकैपटक देखाउन खोज्नु निर्देशक र लेखकको अलिक बढी नै महत्वाकांक्षा जस्तो देखिन सक्छ, जस्तै : बिग्रदाँ पारिवारीक सम्बन्धहरु, तेश्रो लिङ्गी तथा यौन ब्यबसायीका दु:ख, विश्वाशको संकट, निर्मम शहर र कसैलाई नपर्खने सडक आदि आदि । सबैभन्दा महत्वपूर्ण कसैले नसोचेको ठाउँमा गएर फिल्मको कथा सकिन्छ, Open Ending । कथानकलाई दर्शकलाई असहज हुने गरी "रफ" बनाइएको छ, ध्यान दिएर हेरियो भने फिल्म हेरुन्जेल त असहज हुन्छ नै, हेरिसकेपछी पनि राम्रै बिचार गर्नुपर्ने बनाइेको छ । कहीं कथा फास्ट फर्वार्ड गरिन्छ झ्याप्प, कही फ्ल्यास ब्याक । नेपाली हाइवेमा यात्रा गर्दा हुने हैरानी जस्तै अप्ठेरो छ कथा ।


Highway Movie Trailer 
कलाकार र अभिनय : फिल्ममा कलाकार छनौटमा राम्रै ध्यान दिइएको प्रष्ट देखिन्छ । सधैं झैं दयाहाङ राइ आफ्नो भूमिकामा जमेका छन्,देश फर्कँदै गरेको लाहुरेको रुपमा । रिचा यौन ब्यबसायी तथा बेहुलिको भूमिकामा सफल छिन् । सौगात मल्लको छोटो भूमिका छ, "लभर ब्वाई" को रुपमा । कर्माको गेट अप पुरै चेन्ज गरिएको छ, र उन्ले राम्रो अभिनय गरेका पनि छन्, अपेक्षा अनुरुप नै । आशा  परदेशमा रहेका श्रीमानलाई ढोका दिने श्रीमतीको आफ्नो भूमिकामा सफल छिन् तर कतै कतै हल्का असहज देखिन्छिन् । रबिन्द्र मिश्रको पनि परिवार टुक्रिएको चिकित्सकको राम्रो भूमिका छ, तर उनी नबोलेर हाउभाउमा गर्ने अभिनयमा एकदमै शान्दार छन्, संबाद बोल्न थालेपछी असहज देखिन्छन् । तेश्रो लिङ्गी भूमिका श्रेष्ठको पनि राम्रो अभिनय छ । समग्रमा यी लगायत सबै कलाकारहरुलाई राम्रो अभिनय गराउन निर्देशक सफल छन्, कथा धेरै भएकाले कलाकारहरु फुत्त फुत्त आउँछन् र गइरहन्छन् । कथामा प्रयोग गरिएका बेहुला(नाम थाहा भएन), बिनय श्रेष्ठ, गाडीका चालक सहचालक, गाडीका अन्य यात्रु, "फूल आँखामा" गीत गाउने सानी फुच्ची केटी लगायत गाडीका अन्य यात्रुहरुको पनि छोटो र राम्रो अभिनय छ ।
Highway Movie Poster 3

संगीत र संबाद : हाइवेमा एउटै मात्रै गीत छ, "पप्लु" शिर्षकको, जुन बाहेक फिल्ममा कुनै अरु गीत थोपरिएका छैनन् । कथाको अत्तो न पत्तो हावाहुरीझैं गीत आउँदैन यस्मा । पप्लु गीतमा यौन ब्यबसायी बनेकी रीचालाई अभिनय गराइएको छ, जुन कथासँग सुहाउँदो नै छ । बाँकी कहिलेकाही डिस्को या बार देखाउदा आउने टुक्राहरु र बेला बेला ब्याकग्राउन्डमा आउने धुन बाहेक यस्मा अरु संगीत छैनन् । संबादको कुनै लिखीत स्वरुप नभएर On the spot बोलेको जस्तो देखिन्छ । समग्रमा हाइवेको संगीत र संबाद फिल्म सुहाउँदो छ । कतै कतै समाजमा छाडा मानिने संबाद हरु छन्, तर ती परिस्थिती सुहाउँदा लाग्छन् ।
Richa Sharma on the Song "Paplu"

प्राबिधिक पक्ष : फिल्मको छायांकन एकदमै शानदार छ, देशको खराब पक्ष देखाउन प्रयोग गरिएको हुनसक्छ, फिल्मलाई Yellowish color मा प्रस्तुत गरिएको छ, जुन सुहाउदो लाग्छ । बन्दको छायांकन हतारमा गरिएको देखिन्छ कतै कतै तर सान्दर्भिक र Relistic लाग्छ । फिल्मको सबैभन्दा उल्लेखनिय पक्ष यस्को Editing हो, News Format र Jump Cut Format मा EDiting गर्न गरिएको मेहेनत प्रष्ट देखिन्छ । कथालाई असहज बनाउन Editing ले पनि भूमिका खेलेको देखिन्छ । कतै कतै त फिल्म एकदमै क्रुरतापुर्बक काटेको पनि देखिन्छ । देशको असहज परिस्थिती देखाउन कथालाई पनि त्यसरी काटिएको हुनसक्छ, तर बिषय सुहाउँदो छ । मलाई बिशेषगरी ईलामका दृष्‍यहरु र रबिन्द्र मिश्रमाथि खिचीएका क्लोज अप सटहरु उत्कृष्ट लागे । SLR क्यामेरा प्रयोग गरेर खिचेको फिल्म प्राबिधिक रुपले उत्कृष्ट बनेको देखिन्छ ।

समग्रमा बर्लिन फिल्म फेस्टिबलको लागि समेत छनौट हुन सफल नेपाली चलचित्र हाइवे फरक धारको कथाको वकालत गर्ने नेपाली चलचित्रप्रेमीहरुको लागि उत्कृष्ट प्रस्तुती हुनसक्छ । भर्खरै यो चलचित्र The 12th Osian’s Cinefan Film Festival, New Delhi (27 July to 5 August 2012) को ASIAN & ARAB बिधामा प्रतिस्पर्धाको लागि समेत छनौट भएको कुरा निर्देशक दीपक रौनियारले बताए । मलाई ब्यक्तिगत रुपमा हाइवे असाध्यै उत्कृष्ट लाग्यो, केही कमजोरीहरुका बाबजुद । नेपाली फिल्म यत्तिको बन्न थाल्यो भने "छ्या, नेपाली फिल्म पनि हेर्छन्?" भन्ने दिन बिस्तारै जालान् । सर्बोत्कृष्ट नहोला, तर धेरै हिसाबले नेपाली चलचित्रमा परिवर्तनको हाइवे पक्कै खोल्छ यस्ले । नेपाली चलचित्रमा चोरेको कथा चोरेको गीत, चोभारको क्लाइमेक्स, नपत्त्याँउदो सुपरहिरो र आयातित कन्सेप्ट हेर्दा वाक्क लाग्नेहरुलाई परिवर्तनको आभास चाँही गराउछ हाइवेले ।
 तैपनी फेरी भनौं, सुत्रका फिल्म मन पराउने र हाइवे पनि त्यस्तै होला भनेर सोचेको भए हेर्न नगए हुन्छ ।   

No comments:

Post a Comment

ShareThis