जेठ् १९ को सम्झना : अहिले पनि उस्तै

ति दिन आजै जस्ता लाग्छन, त्यो घटना भर्खरैको जस्तो लाग्छ । हरेक पटक जेठ १९ आउँदा त्यो भयानक याद बोकेर आउछ यद्दपी त्यो घटना भएको ११ बर्ष बितिसकेको छ । मारिनेहरु त मरेर गैहाले, बाँच्नेहरु, प्रतक्ष्यदर्शीहरु, तीनका परिवारहरु तथा स्वयं राजसंस्था समेत समयसँग बग्दै कहाँबाट पुगिसके । तर ति परीदृष्‍य, त्यो समय र त्यो घटनाको वास्तविकता अहिलेसम्म बाहिर आउन सकेन । बिबिध महानुभाब् हरुले त्यही घटना भजाएर किताप बेच्ने प्रयास गरे, मैले नै मार्न लगाएको हुँ भन्ने पनि निस्के, तर त्यो घटना अहिलेसम्म पनि रहस्यकै गर्भमा छ । धेरै प्रश्नका उत्तर अहिले पनि निरुत्तरित छन् र राष्ट्र्प्रमुख तथा उनका सारा शाखासन्तान कसरी र किन एकै चिहान पारीए भन्ने प्रश्न उत्तिकै टड्कारो पनि ।


घटना भएका बेलाको कुराहरु अहिले पनि जस्ताको तस्तै छ मनमा । म मनोहर क्याम्पसमा आइ ए पढ्थे, बालाजुमा डेरा थियो । भन्नेहरुले बिबिसीलगायतका संचार माध्यममा पहिलेनै आइसकेको थियो भन्छन्, तर त्यस्तो बिबिसी हेर्नेखालको चेतना नभएकाले थाहा थिएन । राती प्रत्येक् शुक्रबार NTV ले नेपाली फिल्म दिन्थ्यो, त्यो शुक्रबार NTV बाट "रणभुमी" भन्ने नेपाली फिल्म आएको थ्यो, B/W टिभीमा त्यो फिल्म हेरेर सुतेपछी एकैपटक बिहान बिउँझिए । बाहिर पसलमा(हामी त्यस्लाई लाटोको पसल भन्थ्यौं)दुध किन्न जाँदा दुध आएको रहेनछ । किन भनेर सोध्दा उस्ले "खोइ कस्ले हो राजाको छोरा दीपेन्द्रलाई आन्द्राभुँडी बाहिर निस्कनेगरी छुरी हानेको छ रे, त्यही भएर हल्लाखल्ला छ अनी नआएको।" भन्यो । मैले चाँही पत्त्याइन, यो मुला लाटो सधैं गफ दिन्छ, आज पनि दियो भन्ठानें । घर गएर टिभी खोल्दा टिभिमा भजनमात्रै आइरहेको थियो, रेडियोको समेत त्यस्तै पारा थियो, टिभीमा सधैं आउनुपर्ने पत्रीका पढ्ने कार्यक्रम पनि आएको थिएन । त्यसपछी पत्रीका पसलतिर गएँ, त्यहा ठुलो भीड थियो, हल्लाचाही "राजदरबारमा कुटाकुट भयो रे, राजाले आफ्न छोरालाई घरबाट निकाले अरे।" भन्ने थियो । कुनै पत्रीकामा केही छापिएको थिएन तैपनी राजदरबारमा केही न केही भएको भने पक्क थियो ।

एकछिन पछी कोही एकजनाले "नेपाल समाचारपत्र" को एक कपी खोजेर ल्याएछ, अनी त्यहाँ हारालुछ शुरु भयो, पसलेले त्यही पत्रीका फोटोकपी गरेर बेच्न थाले, जस्मा "दरबारमा गोली चलेको र राजपरीवारका सदस्यहरु घाइते भएका" भनेर लेखिएको थियो शायद । मैले पनि एक कपी फोटोकपी किनें र घर गएँ । रेडियो टिभिको उस्तै ताल थियो, भजन बजाको बजायै थिए । कोही के भन्छन, कोही आर्मिले गोली हानेको रे भन्छन्, कोही पारसले हानेको रे भन्छन्, कोही के भन्छन् कम्तिमा १-डेढ सय कथा बजारमा थिए । रेडियो टिभीले केही भन्दैन,थाहा पाउनेहरु र अन्तरराष्ट्रिय च्यानलहरुसम्म पहुँच थिएन । "के हुने हो अब?" भन्ने गम्भिर छट्पटिका बिचमा टिभीले तत्कालिन "राजपरिशद् स्थायी समिति"को बैठक बस्न लागेको सुचना सुनायो १२ बजेतिर शायद । अनी कोही के भन्छन्, कोही के भन्छन्, तर केही न केही भएको पक्का भयो । टिभिले भजन बजाइरहेकै थियो उही पारामा । १:३० बजेतिर राजपरिषद स्थाई समितिको बैठक बसेर "श्री ५ बिरेन्द्र, श्री ५ ऐश्वर्य, नीराजन, श्रुती, धीरेन्द्रहरु समेत राजपरिवारका सदस्यहरुको निधन भएको, श्री ५ दीपेन्द्रलाई बेहोस् अवस्थामै राजा घोषणा गरिएको तथा श्री ५ ज्ञानेन्द्रलाई राजप्रतिनिधी परिषद को अध्यक्ष चुनिएको" आसयको सुचना जारी गर्‍यो । साथै राजपरिवारको शब छाउनीमा राखिएको पत्तो लागेपछी हामी २-४ जना साथीहरु त्यतै दौड्यौं । हतारमा म त चप्पल लगाएर नै कुदेछु । बाटोभरी मान्छेहरु मिनिट्रकमा के मा नारा लगाउदै कुदिरहेका थिए, कपाल खौरेका मान्छेहरुको लश्कर नै थियो । हामी हिंड्दै छाउनी अस्पातलको गेटमा पुग्यौं । टन्नै मान्छेहरु जम्मा भैसकेका थिए । कोही हातमा फुल लिएर कोही फोटो लिएर रुँदै कराउँदै बसेका थिए । बाटोको दुबैतिर मानिसहरु बसेका थिए । मेरो छेउमा सुँक्क सुँक्क रुँदै एकजना बृद्द महिला बसेकी थिइन्, मैले उनिसँग अलिकती फुल मागें ।

शब निकालियो लाइन लगाएर । बिरेन्द्रको शबको अलिकती हिस्सा देखिन्थ्यो अनुहारतिरको, ऐश्वर्यलाई चाँही पाल्की जस्तोमा राखिएको थियो । शब छेउमा आइपुगेपछी ति महिला ढलिन्, तीनलाई उठाएर छेउ लगाउँदै तीनको फुल सबै मैले राजा बिरेन्द्रतिर नै चढाइदिएँ । हामी छेउ छेउ कुद्यौँ पछी पछी । तर अलीक वर स्वयम्भुबाट छाउनी घुम्ने मोडमा आर्मिले हामीलाई रोके, राजाको लाससङ्गै जान कुदेका हामी पछी परेम् । त्यही बेला तत्कालिन प्रधानमन्त्री गिरिजा कोइरालाको कार आइपुग्यो, त्यो कारलाई बाटो खुला गर्न आएको सुरक्षाकर्मीले हामीलाई अझै धकेलेपछी भनाभन् भयो र रिसको झोकमा हामीले ढुङ्गा हानेर गाडी फुटाइदियौं । मलाई याद छ, मेरो सबिन भन्ने धरानतिरको साथीले आफुले लगाएको जुत्ता फुकालेर गिरिजालाई हान्ने हुँदा पुरै शबयात्राभरी खाली खुट्टा हिंडेको थियो ।

त्यस्पछी हामी फेरी पछी लाग्यौं । डल्लु निर पुगेपछी प्रधानमन्त्रिको गाडी अर्कै बाटो लाग्यो र तनाब अलिक शान्त भयो । सिधा भन्नुपर्दा म भाबनाशुन्य थिएं र चुपचाप हिँडिरहेको थिएं । बाटोमा मान्छेहरुको रुवाबासी र नाराबाजी हेर्दा महशुष हुन्थ्यो हामीले के गुमाएका छौं भनेर । भन्नेहरुले त्यस्लाई राजनैतीक रुपमा व्याख्या अनेक गर्लान, तर राष्ट्रप्रमुख गुमाउँदाको त्यो क्षणको कथा म अहिले पनि जस्ताको तस्तै सम्झन्छु । म कती सम्म एकसुरले हिंडेको थिएं भने बाटोमा कसैले मेरो चप्पल टेक्दियो र फुस्कियो, आफुलाई भिडले अगाडि लगिहाल्यो । आफ्नो भाको त्यही एकजोर चप्पल छोड्न नि भएन, भिडले फर्केर टिप्नै दिन्न, मान्छे कती हो कती हो । फर्केर बल्ल चप्पलसम्म पुगें, निहुरेर टिप्न खोज्दा लडिहालें । अनी मलाई एकदुइजनाले कुल्चे पनि । मेरो माथिबाट त घोडा पो गयो फुत्त, ल मरियो जस्तो लाग्यो । अनी एकदमै जोडले एकजनाले मलाई तानिदिए र म उठ्नसकें, नत्र राजासङ्गै कुल्चिएरै मर्ने सम्भाबना थियो । । बिस्तारै शब गौशाला पुग्यो । मान्छेहरुले घरको छतबाट फालेको अबिर पानी र फुलले म रातै भएको थिएं, तैपनी अघी दौडिने जोश कायम थियो । घोडाले झन्डै कुल्चँदा पनि नारा लगाउने जोश कायम थियो ।

हामी आर्यघाट पुग्दा आर्यघाट भरीइसकेको थियो, शोक बीलाप र रुवाबासी तथा नाराबाजीको त कल्पनै गर्न नसकिने उपस्थिती थियो । मैले जिन्दगीमा पहिले पटक त्यती धेरै मान्छे देखेको थिएँ, आँखाले भ्याउने जती सबैतिर मान्छेनै मान्छे थिए । हामी कुदेर गएर श्लेष्मान्तक बनको पुछारमा, जहाँ अहिले पार्क जस्तो बस्ने बनाइएको छ, त्यहाँ रुखमा चढेर दाहसंस्कार बल्ल बल्ल हेरियो । लहरै धुनी तापे जस्तै चिता जल्दै थियो, मान्छे आउँदै थिए जाँदै थिए, रुँदै कराउँदै थिए । हामी धेरैमान्छे गैसक्ने बेलासम्म बस्यौं १ बजेतिर सम्म र घर फर्कियौँ । फर्किदाँ पनि मन भाबशुन्य थियो, हल्ला र आशंकाका बीचमा पिंधिएको थियो । घर आएर एकछिन सुतेर फेरी पत्रीका पसलमा जम्मा भइयो । मानिसहरुमा कपाल खौरने र फोटो बोकेर हिंड्ने लहर थियो । कोही ज्ञानेन्द्रले मारेको नत्र तेश्को परिवारलाई किन केही नभाको भन्थे, कोही दीपेन्द्रले आफु बच्नेगरी अरुलाई हानेको के के भन्थे के के । ती दुई तीन मेरो जिन्दगीका सबै भन्दा तनाबपूर्ण दिनहरु मध्य एक थिए ।

बिरेन्द्र मारिएको पर्सीपल्ट दीपेन्द्र पनि बितेको र ज्ञानेन्द्र राजा भएको समाचार आएपछी आक्रोश सडकमा ओर्लियो । नाराजुलुस र कुट्पीट शुरु भए । हामी फेरी छाउनी तिर कुद्यौं । अस्तीजस्तो छाउनीको गेटमा बस्न नदिन खोजेपछी सैनिक प्रहरी तथा प्रहरीसँग झडप भयो । हामीले ढुङ्गा हानेर छाउनी अस्पतालको गेटसमेत क्षति पुर्याइदियौं । अनी पुलिसको गाडीले ३ बजेबाट कर्फ्यु लाग्ने भनेर माइकिङ गर्न थाल्यो । हामीले पत्त्याएनौं र त्यहीं बसिरह्यौं । हामी त शबयात्रामा जान आको हामीलाई त के गर्ला र भनेर । तर कर्फ्यु शुरु हुनेबित्तिकै पुलिसले कुटपीट र पक्राउ शुरु गर्‍यो, अनी अब त बाँच्नु पर्‍यो, कहाँ जाने त भन्दैगर्दा स्वयम्भु तिर पुलिस न आउँला भनेर त्यता भागीयो । अलिक माथि लुकेर आर्मीको ट्रकमा दीपेन्द्रको लास लगेको हेर्दै गर्दा त्यहाँ पनि पुलिस आएपछी स्वयम्भुको टुप्पामा पुगियो भागेर । अब जाने बाटो कतै छैन, शहर सुनसान छ, साँझ नपरिन्जेल त्यहीं बसियो । भोकले आँफै मर्ने बेला भएको थियो । अनी साँझ परेपछी अब त जान देला भनेर तल भगवानपाउपटिको गेटमा निस्केको एउटा पुलिस गेटै बाहिर "मु** हरुलाई एक-एक मार्नुपर्छ" भन्दै बन्दुक काँधमा आकाशतिर पछाडि फर्काएर पड्काउँदै हिँडेको थियो । सातोपुत्लो गयो, आज मरिनेभो भनेर । अनी हामीले पिसाब फेर्न जान लागेको एउटा अली बुढो पुलिसलाई बिन्ती गर्यौं, लौन हामी त ज्यामी काम गरेर आको, यहाँ फसियो भनेर हारगुहार गरियो । त्यल्ले उ त्यो झाडीबाट छिरेर खेत खेतै जा, सडकबाट गैस भने बाँच्दैनस भन्यो । अनी हामी त्यो बन्दुक बोक्नेलाई छल्दै त्यहाँ बाट बल्ल तल्ल कुनै खोलामा झर्यौँ र बल्ल बल्ल घर आइपुग्यौं ।

यो घटना भएको ११ बर्ष बितिसकेको छ, ति बेहोस् हुने बुढी आमै, त्यो मलाई खबर सुनाउने बोल्ने लाटो, मलाई उठाइदिने ति महानुभाब, आर्यघाटबाट फर्किंदा केरा दिने ति सज्जन, त्यो बुढो पुलिस र त्यो बन्दुक पड्काउने पुलिस लगायत अघिल्लो र पछील्लो दुबै शबयात्रामा मसङ्गै हुने श्यामे(च्यामे भन्थेम हामी), सविन, पिमान, रबी र नारायण लगायत साथीहरु कहाँ पुगे होलान्, तर त्यो घटनाको रहस्य र त्यसपछीका घटनाले देशलाई कहाँ पुर्यायो भन्ने सबैको सामुन्ने छ । राजा बिरेन्द्र कस्ता थिए भन्ने अरु जानकारले बढी जान्दाहुन् किनकी दरबार ज्ञानेन्द्रले छोडेर हिंड्ने दिनसम्म पनि सर्बसाधारण नेपालीका लागि के हो के हो थियो । राजा त्यो सैनिक सुरक्षाका बिच परिवारसहित मारिए, त्यो बेला मन्त्री हुनेहरु कती अहिले पनि मन्त्री या देश चलाऊने छन्, प्रतिबेदन सार्वजनिक गर्ने नाउँमा मानबिय सम्बेदनाको समेत धज्जी उडाउने तारानाथ भटटटटटट हरु अहिले पनि गौरबसाथ सज्जन बनेर अन्तर्वाता तथा उपदेश दिदैछन् । तर प्रश्न अनुत्तरित छ आखिर कस्ले किन र कस्को सहयोगमा यो घटना गरायो ? हरेक पटक कसैको हत्या हुँदा आयोग गठन हुन्छ, गृहमन्त्री भनाउँदाहरु गम्भिर भएको नाटक गर्छन्, तर न हत्यारा समातिन्छ न न सुरक्षा सुद्रिढ हुन्छ अनी फेरी त्यही नाटक दोहोरिन्छ । जनताले त त्यो नियती भोग्छन् भोग्छन्, एक राजाले पनि एकादेशको कथा शैलीमा आफ्नो जीबन गुमाए ।

Image Sources : 
httpwww.ekmulakatnews.comnews.phpnewsid=702
httpblogs.miis.edumiisinnepal20122011112289
httpnepalitimes.com.npblogsmycity20091224the-decade-in-pictures
wikipedia
httpwww.telegraph.co.uknewsworldnewsasianepal5078735Failed-arms-deal-sparked-Nepal-royal-massacre.html
phalano.com
httpwww.frontlineonnet.comfl181218121270.htm
httpamit-educationinfo.blogspot.com2010_01_01_archive.html

1 comment:

  1. The whole nation was mourning. The shock that stirred frustration..rage in people.. that chaos and instability it created.. This write up took me back to my memory lane. My hajurba passed away the same day Dipendrawas announced dead. We had somehow managed to reach pashupati. The ‘aryaghat’ looked horrifying. For the first time in my life I saw corpses being queued up for cremation. Don know how so many people died same day. While returning, curfew had been imposed already. Pashupati to basantapur, we were stopped at least 50 places and interrogated by the police. And the stupid custom that we have, my dad wasn’t allowed to wear shoes half the way back home before my brother interrupted and insisted him to wear them. The narrow lanes of Kathmandu were full of people trying to defy curfew..sth like playing hide n seek with the police. And it was actually strange, (sounds a bit rude but ) a lil funny as well that the later days of the 13 day mourning period, when people visited us for condolence, most of the talks used to be about the royal massacre. That shows how popular King Birendra and his family was among the general people. That massacre was ominous for Nepal. Sometimes I even think, had that mishap not occurred, Nepal might not have been in such messed up state now. :( RIP..the royal family..

    ReplyDelete

ShareThis