बुढेसकालको तिरस्कार र अपमान : सजाँय के को ?

एकजना बिदेसमा डाक्टर पढ्न गएका लाजिम्पाट निवासी एक छोरा उतै डाक्टर्नी बिहा गरेर फर्के । घरमा ती बिदेश पढेर आएकी बुहारी लाई ७३ बर्षिय बुढीयाको सेवा गर्न दिक्क लाग्दै गएपछि उनिहरुले ति आमैलाई पशुपतीको बृद्दाश्रममा लगेर "आमै यहाँ बस्दै गर्नुस्, तपाईंलाई एकछिनमा एकजना डाक्टरले आएर जाँच्छन्, हामी आउँछौ ।" भनेर छोडेर आए । बिचरा आमै बिरामी अवस्थामा घर आउन पनि सकिनन् र त्यहीं बस्न थालिन् । पछि  हाम्रै एकजना मित्र फलफुल बाँड्न जाँदा "म मागेर खान्न बाबु, मेरो घर सम्पत्ती छोरा बुहारी सप्पै छन्, लिन आउँछु बिसेक भएपछी भनेका छन्" भनेपछी पोल खुल्यो र कुनै NGO मा काम गर्ने ती साथीले पुलिसको सहायता लिएर ति आमैलाई घर लगिदिए । यो एउटा प्रतिनिधि घटना हो, हाम्रो बर्तमान समाजले उमेर पुगेका अग्रजहरुलाई गर्ने व्यबहारको । यस्ता घटना भएका समाचारहरु धेरै पत्रीकाहरुमा आउँछन् र आरामले बिलाउँछन् । सामाजिक सुरक्षाको ठेक्का लिएको गफ दिने सरकार होस् या समाजसेवालाई "बिजिनेस" बनाएर बायोडाटा थप्दै फुल्दै गर्ने NGO/INGO का साहुजीहरु, धेरैको लागि यि मर्मस्पर्शी घटनाक्रमले कुनै महत्व राख्दैनन् । अझै केही थप समाचारका सारांश हेरौं :-
1) ७३ बर्षकी सत्यलक्ष्मी श्रेष्ठलाई २०६७ फागुन ९ गते बोरामा हालेर सुन्धारामा लगेर फालिएको अवस्थामा पहिले स्थानिय बासिन्दा र पछि प्रहरीले फेला पारेर अस्पातल लगेर भर्ना गरे । जाडोले कठ्याँङ्ग्रिएर अचेत अवस्थामा भेटिएकी उनी सन्तानबिहिन रहेको र उनकै सौता रुक्मणी र सौताकी छोरी विश्वलक्ष्मीले त्यसरी फालेको हुनसक्ने प्रहरीले आसंका गरेको छ । थप अनुसन्धान हुँदैगर्दा प्रहरीले उक्त घटना सम्पत्तिको लागि गराइएको हुनसक्ने आशंका समेत गरेको छ । (श्रोत : रामाअआ उजुरी)
 2) २०६८ साल कार्तिक ७ गतेको हिमालय टाइम्स दैनिकका अनुसार गौशाला, पशुपतीस्थित बृद्दाश्रममा पुरुष ९० र महिला १४० गरी २३० जना बस्छन् । यहाँ बस्नको लागि ६५ नाघेको र आफन्त कोही नभएको हुनुपर्ने भएपनी धेरैजसो अग्रजहरु घरमा नअटाएकै कारण या असक्त या काम गर्न नसक्ने भएका कारण त्यहाँ छन् । त्यहाँ बस्दै आएका साबित्री, धनमाया जंगम, तिर्थकुमारी राइ लगायत बृद्द महिलाहरुले घर, सम्पत्ती र आफन्त हुँदा पनि हातखुट्टा चल्न छोडेकै कारण आफु यसरी बृद्दाश्रममा काल पर्खेर बस्नु परेको बताए ।
3) धनुषा जिल्लाका इनर्वा, दिगम्बरपुर, दुबरकोट हथीलेटवा, दुहबी, बल्हा, कठाल, उमाप्रेमपुर, खरिहानी, धवौली, नौवाखोर पर्साही, बरमझिया र रघुनाथपुर गरी ११ गाबिसका ज्येष्ठ नागरिक तथा एकल महिलाहरुले २०६९ बैशाखसम्म सरकारले उपलब्ध गराउने ज्येष्ठ नागरिक तथा एकल महिला भत्ता पाउन सकेका छैनन्, कारण ती गाबिसका गाबिस सचिबहरुले नाम र उमेर अध्याबधिक गर्ने काम गरिदिएनन् । (नयाँ जनदिशा दैनिक २०६९ बैशाख २७)
4) २०६० सालमा श्रीमान गुमाएपछी छोरा बुहारीसँग बस्दै आएकी ६७ बर्षिया लुरी कुँबरका छोराले उनको नाममा रहेको सम्पत्ती समेत झुक्क्याएर आफ्नो नाममा गरेको थाहा पएपछी उनले अदालतमा अंश मुद्दा दिइन् । अदालतले उनको सम्पत्ती उनलाई नै भोगचलन गर्न दिनु भनी फैसला गरेपनी उनले सम्पत्ती त पाइनन्, बरु उनका छोराबुहारिले "खान दिन्न के गर्छेस् गर्" भनेर कुट्तै घरबाट निकालिदिएपछी उनी अहिले राष्ट्रिय महिला आयोगमा निबेदन दिएर बसेकी छिन्, अलपत्र ! (श्रोत : रामआ उजुरी)
5) थापाथलीकी ८६ बर्षिया राज्यलक्ष्मीदेबी सिंहले छोरा बुहारी मिलेर खान नदिने, दिए पनि गैरखाध्य पदार्थ खुवाउने, गालीगलौज गर्ने गरेकोले "न्याय दिलाईपाउँ" भनी प्रधानमन्त्री कार्यालयको लैंगिक् हिंसा इकाइ र महिला आयोगमा उजुरी दिएकी छिन् ।
6) रामेछाप जिल्ला चिसापानी-७ गुठगाउँका तुलसीप्रशाद कंडेल ८१ बर्षको उमेरमा खाने लाउने गर्जो टार्नकै निमित्त जागिरको खोजिमा हिँडेका छन्। आफ्नो उमेर छौन्जेल भारतका बिभिन्न शहरमा नोकरी गर्दै हिंडेकाले घरजम गर्न नभ्याएको र अहिले बिचल्ली भएको उनको भनाइ छ । अर्को जागिर नपाउन्जेल अहिलेलाई उनी दैनिक एक छाक खान पाउने शर्तमा बाँदर कुर्ने काममा लागेका छन् । (श्रोत : गोरखापत्र दैनिक २०६९ बैशाख २२) 7) १७ फेब्रुअरी २०१२ मा नेपालगन्ज स्थित आफ्नै घरमा सुतिरहेकी एक ८५ बर्षिय बृद्द महिलालाई नजिकैका ३५ बर्षिय भिम सिंह ठाकुरले बलात्कार गरे । (श्रोत : कान्तिपुर दैनिक)
8) पुष २०६८मा गुल्मी बडागाउँ २ स्थित आफ्नो घरबाट गाबिस कार्यालयमा बृद्द भत्ता लिन जाँदै गरेका ७० बर्षिय गुमान बहादुर कुमालको बाटैमा मृत्यु भयो । (श्रोत : The Himalayan Times)
9) नुनथला गाबिस खोटाङकी ६६ बर्षिया निरमाया राइलाई उनकै ३३ बर्षिय छोरा टार्जन राइले रक्सी सेवन गरेर मात्तिएको अबस्थामा बाँसको लट्ठीले कुटिकुटी मारे । उनी अहिले प्रहरी हिरासतमा छन् । (श्रोत : नागरिक दैनिक जनवरी २६, २०१२)
10) खारा-८, रुकुमकी ६५ बर्षिया बेलमती खड्कालाई उनका ज्वाँईले कुष्ठरोग लाग्को कारण देखाइ घर नआउनु भन्दै दिउँसो समेत मानिसहरु जान डराउने जङ्गलको बिचमा एउटा गोठ बनाएर छोडिदिए । १२ बर्ष अगाडि पति  र हालै छोरा गुमाएकी उन्लाई कुष्ठरोगको उपचार निशुल्क हुन्छ भन्ने समेत थाहा छैन । (२७ अक्टुबर २०१० नयाँ पत्रीका)
11) तुप्चे-७ नुवाकोटकी गङजुङमाया तामाङ लाई उनका आफ्नै छोरा रेकबहादुर तामाङले सम्पूर्ण सम्पत्ति लुटेर, झुक्क्याएर जिउनी समेत बेचिदिएर गाउँले समेत को सहयोगमा १४ बैशाख २०६८ मा घरबाट निकालिदिए । उनलाई घरनिकाला गर्न स्थानिय राजनितिक कार्यकर्ता बसन्तजंग ठकुरी, महादेबखर्क प्रा. बि. का प्रधानाध्यापक रमेश भण्डारी र स्थानिय चर्चका पास्टर रत्नबहादुर तामाङले समेत सहयोग गरेको उन्ले बताइन् । (नयाँ पत्रीका २५ बैशाख २०६८)
यि माथिका र यस्तै अन्य कैयौं समाचारहरुले हामी कत्तिको आधुनिक हुँदैछौं भन्ने कुरा छर्लङ्ग पार्छन् । घरमा गरिने गालीगलौज, हेपाहा व्यबहार र छि-छी दुर्-दुर त आम घटना भैहाले समाजका, बेला बेला सतहमा आइपुग्ने यस्ता घटनाहरुले हाम्रो समाजमा उमेर पाकेर थलिएका बुढा बा-आमाहरुलाई कुन हदसम्मको पशु व्यबहार गरिंदैछ भन्ने पनि देखाउँछ ।

"सानो छँदा मर्ला भन्ने पीर, ठुलो भएपछी मार्ला भन्ने पीर" होस् या "बाबुआमाको मन छोराछोरीमाथी, छोराछोरिको मन ढुङ्गामुढामाथी" होस्, हाम्रो समाजमा ज्येष्ठ नागरिकहरुलाई गरिने व्यबहार र उमेर गएपछी खानुपर्ने हण्डरका बिषयमा प्रसस्तै किंबदन्ती र उखानहरु पाईन्छन् । सानो छँदा कति थोकबाट जोगाएर पहिले बस्न, बिस्तारै हिंड्न, अनी कुद्न र मान्छे बन्न सिकाएपछी धेरैजसोले आफुले सानोमा चढेको काँध र बोकिएको बुइ बिर्सिने रहेछन् । जब बुढेशकालमा स्वास्थ्य, खल्ती, स्मरणशक्ती, ताकत र समाज सबैकुराले जा-जा भन्न थाल्छन्, तब आफुले गाँस काटेर हुर्काएका या गाउँघर-टोलछिमेकमा लौरी लगाएर बोल्न सिकाएकाहरुनै आफुमाथी जाइलाग्छन्, त्यो बेसहारा मन कति रुँदो हो । कसैले पनि घमण्ड गर्नुपर्ने जरुरत छैन, बम बिस्फोट या गोली खाएर या प्लेन गाडी खसेर मरीएन भने हामी सबै बुढो हुन्छौं, अनी हाम्रो आउने पुस्ताले हामीलाई ठीक त्यही व्यबहार गर्नेछ, जुन हामीले सिकाएका छौं । अहिले बलको घमण्ड या सम्पत्तीको लोभले आफ्ना अभिभाबक या बुज्रुकहरुलाई मिल्काउनेहरुका जीबनमा पनि यी दिन आउने लग्भग निस्चितप्राय छ ।
राष्ट्रिय मानब अधिकार आयोग र जेरियाट्रिक सेन्टर नेपालले २०६८ मा एउटा अध्ययन प्रतिबेदन प्रकासित गरेका थिए, राष्ट्रिय दैनिकहरुमा प्रकासित् ज्येष्ठ नागिरकहरुमाथी भएका दुर्व्यबहार सम्बन्धी समाचारहरुको सम्बन्धमा । सो प्रतिबेदनका अनुसार २००८ जुलाई देखी २०१० जुलाई सम्म कान्तिपुर राष्ट्रिय दैनिकमा ५२ र अन्नपूर्ण राष्ट्रिय दैनिकमा ७५ वटा सो सम्बन्धी समाचारहरु प्रकासित भएका थिए । सो प्रतिबेदनमा देखाइए अनुसार सो अबधिमा ५१ शारिरिक दुर्ब्यबहार, ३९ बेवास्ता, १७ डकैति, ५ आर्थिक, ३ यौनजन्य र २ कानुनी प्रकारका दुर्व्यबहार भएको भेटिएको थियो । गाउँतिरका बिधवाहरु भेटिए बोक्सी भन्नेदेखी, अनाबस्यक श्रम गराउने, आबस्यक औषधीउपचार र आबस्यक अन्य चीजहरु नदिने, भिख माग्नको लागि मन्दिर या सडकमा छोडिदिने, शहर बजार या बिदेश पढेपछी नहेर्ने र स्याहार नगर्ने लगायत अन्य कैयौं आततायी दुर्ब्यबहारहरु गरीइने गरेको सो प्रतिबेदनले देखाएको छ । अझ आफ्ना अभिभाबकहरुले साँचेको जिउनी या अली अली सम्पत्ती समेत लुटेर मर्नको लागि प्रार्थना गर्नेहरु सन्तान भनिन लायक होलान् र कुनै कोणबाट ??
उमेरले बुढा भएपछी सडकमा लाठा या टायर बोकेर आफ्न माग पुरा गराउन जुलुस निकाल्न पनि सकिन्न, न त अन्ना हजारे जस्तो मन लागुन्जेल भोकै बस्न । हुन त कहीं कहीं बाट सकारात्मक पहल नभएका होइनन्, नेपाली सेनाले "भेट्रान होम" भनेर अबकासप्राप्तहरुको लागि घर बनाउदै छ रे छाउनीमा, केही संस्थाहरु पनि छन् बृद्दाश्रम चलाऊने, सहयोग गर्ने । राष्ट्रिय मानब अधिकार आयोगले पनि जनकपुर, रशुवा, काठमाडौं लगायत ठाउँहरुमा ज्येष्ठ नागरिकका अधिकार सम्बन्धी केही कार्यक्रम बनाउने र नीती निर्माण तहमै ज्येष्ठ नागरिकहरुको लागि बिशेष ब्यबस्था गर्न प्रयास समेत गर्दै आएको छ, तर पर्याप्त छैन । परन्तु, यी नगन्य प्रयास ती अबोध मुहारमा खुशी ल्याउन पर्याप्त छन् त ? सक्नेले सोचिदिनु पर्छ कि पर्दैन ?? राज्यले कम्तिमा सरकारी कार्यालयहरुमा ज्येष्ठ नागरिकहरुलाई अलिक सजिलो पार्दिने ब्यबस्था गरिदिए के जान्छ ?? सार्वजनिक यातायातमा बुढा-बुढी मान्छेलाई उभ्याएर बस्न नपाइने नियम लगाइदिए के हुने ?? देश लुट्ने सारा भतुवाहरुलाई "भुतपुर्ब" भन्दै गाडीको लर्को दिने पैसाले ज्येष्ठ नागरिकहरुलाई निशुल्क उपचार् गराउने ब्यबस्था गरिदिन सकिन्न र ? ती बृद्द-बृद्दाहरु मलाई मेरो छोरोले, बुहारीले, छिमेकीले या गाउँलेले कुटे भनेर रुँदै हिंड्दा किन कुटिस् भन्ने फुर्सत् छैन हामीलाई । आफुलाई जन्म दिने आमा बा लाई सडकमा लगेर छोड्नेहरु सम्मानजनक बाँच्ने परिस्थिती अन्त्य भएर तीनलाई ठिंगुरा कोच्नु पर्छ कि पर्दैन ?? कडा कारबाही गर्नु पर्छ कि पर्दैन ?? बल्ल बल्ल रोएर पाउने बृद्द भत्ता घरमै गएर दिए पनि के नै सकिन्छ र ?? प्रश्न धेरै छन् अनी हाम्रो सभ्य भनिएको समाज ति अबोधहरुलाई रुवाएर निरुत्तर छ ।
ज्येष्ठ नागरिकहरुमाथी हुने दुर्व्यबहारका लागि उजुरी दिएर उपचार तथा कारबाही दाबी गर्नसकिने राष्ट्रिय मानब अधिकार आयोग, राष्ट्रिय महिला आयोग लगायतका निकायहरु नभएका होइनन्, तर उजुरीपछी प्राप्त हुने थप दुर्व्यबहारको भयले ती ठाउँहरुसम्म धेरै अग्रज जानै डराउँछन् । धेरैजसो दुर्ब्यहार ज्यान तथा छत कै आशामा चुपचाप सहिन्छन् या सहन लगाइन्छन् । कारण स्पष्ट छ, अहिले दुर्ब्यहार सहितको भएपनि केही त छ, भोली उजुरी दिएपछी न सरकार या अन्य निकायले केही गरिदिन्छन्, न त आफ्नो जाने ठाउँ रहन्छ । न पीडकहरुलाई कडा कारबाही हुन्छ, न पीडितलाई क्षतिपुर्ति या पुनर्स्थापना । त्यही कारण धेरै घटना सतहमा आउँदैनन्, अझ धेरैले आफुमाथी भएको दुर्व्यबहार थाहै नपाएर या "कर्मले पारेको या लेखेर ल्याएको" भन्दै सहेर बस्ने नै उत्तम बिकल्प देख्दछन् । थाहा पाउनेहारुको यो हाल छ भने दुर्व्यबहार या अन्य कारणले मानसिक स्थिती खल्बलिएपछी सडकमा झिटिगुण्टा बोकेर हिंड्ने या नाच्दै हिंड्ने अग्रजहरुले बाँच्ने जिन्दगी त कल्पनाबाहिरको कुरा हुनसक्छ ।
धेरै बाँकी छैन, त्यो कथामा भनिएजस्तै आफ्नो आउने पुस्ताले "बा, डोको नफाल, भोलीपर्सी तिमीलाई के मा हालेर लगेर फाल्नु मैले??" भनेर सोध्ने दिन आउन । आफुलाई जन्म दिने आमा बा लाई पाल्न या ढल्न लागेका बुज्रुकहरुलाई अलिकती दया देखाउन नसक्ने पुस्तालाई कस्को यत्रो खान राज्य र प्रजातन्त्र चाहियो ?? घाँस खाउँ सबै मिलेर !!  


यो पनि हेर्नुहोस् :


2 comments:

  1. very nice article, you have denuded the dirty picture of our society.. it is something, we should really be ashamed of

    ReplyDelete

ShareThis