#Farwestern #Banda : सुदुर पश्चिम हुनुमै पीडा छ, बन्द त के हो र ?

 आज १५औं दिनसम्म पनि अखण्ड सुदुरपश्चिमको माग राखि गरिएको अनिश्चितकालिन् सुदुरपश्चिम बन्द जारी रहेको छ । यससँग समानान्तर रुपमा खप्तड प्रदेशको माग राखि गरिएको बन्द तथा तराईमा थारुहट प्रदेशको माग राखि बन्द गरिएको पनि धेरै दिन भईसकेको छ । यसै समयमा केन्द्रिय राजनीतिमा समेत उतारचढाव आइरहेको अवस्था छ । यसका कारण सुदुरपश्चिमको माग राज्यको आखाँबाट ओझेलमा परेको जस्तो देखिन्छ । केन्द्रीय राजधानी काठमाण्डौ एक दिन बन्द हुँदा वार्ता गर्न कुद्ने र बुँदेका बुँदे सहमति गर्ने सरकारले हप्तौं सुदुरपश्चिम बन्दबाट आक्रान्त रहँदा पनि कुनै चासो देखाएको देखिन्न, मानौं यो भुभाग नेपालको होइन अन्तैबाट कसैले ल्याएर चिप्काईदिएको हो ।


नेपाली जनताले दोस्रो जनआन्दोलनमा संघियतालाई मुख्य मुद्दा बनाएका थिएनन् । राजनैतिक उतारचढाव र बिभिन्न राजनैतिक दल तथा समूहका बीचको बार्गेनिङ्गको परिणाम स्वरुपमा संघियताको बहसले चर्चा पाउन थाल्यो । संघियता आफैमा नराम्रो अवधारणा होईन नत विकास र मानव अधिकारको अचुक संजिबनी नै । यसको परिणाम त संघियताको स्वरुप र यसको कार्यान्वयनले निर्धारण गर्ने हो ।  तर यो सत्यलाई बिर्सेर यस क्षेत्रका राजनीतिक तथा सामाजिक संगठनहरुले संघीयतालाई नाकको लडाँई तथा बार्गेनिङको आधार बनाएका छन् । नेपालमा हाल आएर संविधान निर्माणको अन्तिम तयारी भइरहेको बखतमा बिभिन्न जाति, जनजाति, समूह र क्षेत्रका समुदायहरु आफ्नो पहिचान सहितको संघियताको माग राखि आन्दोलित भएका छन् । यस क्रममा सुदुर पश्चिमका नौ जिल्लालाई नेपालको भावी संघीय संरचनामा टुक्रयाउन नपाईने भनी सुदुर पश्चिम आन्दोलित भएको हो ।
यस्तै प्रकृतिका बन्द हडताल देशका अन्य स्थानहरुमा पनि सुचारु नै छन् । बन्दकर्ता सबै समूह र संगठनहरुले जनताले जनताको लागि बन्द गरेको भन्दछन् । लोकतन्त्रमा आफ्नो अधिकार र पहिचान खोज्नु जनताको अधिकार ठानिन्छ र हो पनि । तर अधिकारको खोजीको यो आन्दोलनले नागरिकका बाँच्न पाउने अधिकारबाटै नागरिकहरुलाई बञ्चित गरेका समाचारहरुले ठाँउ पाउने गरेका छन् । बिरामीले उपचारका लागि रिफर गरिएका असपत्तालनमा जान सकिरहेका छैन् । एकातिर सार्वजनिक यातायातका साधन नचल्दा सर्बसासाधारण सुगम केन्द्रित अस्पत्ताल जान सकेका छैनन् भने एम्बुलेन्सको भाडा तिर्न सक्ने हसियत राख्ने केही बिरामीहरुका लागि समेत सेवा उपलब्ध हुन सकेको छैन । कारण बन्द छ । आन्दोलनकारी त एम्बुलेन्स बन्द छैन भन्छन् त ? तेल पनि पाउदैन नि त । यस्तै यस्तै सम्बाद चल्छन् विगत चौध दिन देखि सुदुर पश्चिममा । सदरमुकाम नामको सानो ठाउँमा यसै पनि माग र आपूर्ति कम हुन्छ, तयसै अनुपातमा भविष्यको लागि भण्डारण पनि कम हुन्छ । यो त्यो के भन्नु, सुदुरपश्चिमका पहाडी जिल्ला आईपुग्दा देशकै अभाव खड्किन्छ, के यो पनि नेपाल हो भन्ने भान हुन्छ । मुख्यरुपले भारतका सीमावर्ती ठाउँ लगायत अन्य ज्यालामजदुरीले चल्ने यहाँको अर्थतन्त्र बन्दको सानै रुघाले त नराम्ररी थला पर्छ भने हप्तौंसम्म वास्ता नगरिएको बन्दले के हाल भयो होला आफैं अनुमान लगाउन सकिन्छ ।
स्थानीय पहलमा पहाडी केही जिल्लाहरुमा बन्द खुलाइएको छ । स्थानीय बजार बन्द छैनन् । स्थानीय सवारी साधन निर्वाध चलेकै छन् । यस्तै अनुमान हुनसक्छ बाहिरबाट सुन्नेहरुको । तर वास्तविकता फरक छ र वर्तमान संघियताको बहससँग बहुतै सम्बन्धित पनि । बैतडी, दार्चुला लगायतमा केही दिनको बन्द पश्चात स्थानीय बजार खुल्यो । तर बन्द नगर्दैमा आफै चल्ने स्वचालित संयन्त्र होइन रहेछ बजार । यसका लागि त व्यापार चाहिन्छ । व्यापार चल्न वस्तु तथा सेवा उपलब्ध हुनुपर्छ । सुदुर पश्चिमको पहाडी क्षेत्रमा आत्म निर्भर रहन सक्ने बजार क्षेत्र भएको भए किन नै गरिबी र उत्पीडनको खेती चल्थ्यो होला र ?
हो सुदुर पहाड पूर्णत परनिर्भर क्षेत्र रहेछ । किनकी यस क्षेत्रलाई यस्तै बनाईएको रहेछ । यहाँ प्रशस्त जलस्रोत छ । पश्चिम सेती जस्ता प्रस्तावित परियोजना यही छन् । तर यहाँको धेरै जनसंख्या विजुली बिहिन छ । बिद्युत सेवा उपलब्ध भएको क्षेत्रमा पनि लोडसेडिंको राष्ट्रिय रोग छदैछ । यहाँको थप बिशेषता एक घण्टामा ५ देखि १० पटक बिजुली जान्छ । विजुली सम्बद्ध निकायसँग कसैले सोध्ने आँट गरेमा उत्तर सजिलो छ । भारतबाट हो । मुख्य ग्रीडमा समस्या हो । अन्त त यस्तो हुदैन त ? यहाँ यस्तै हो । काम खतम । सबैथोक बाहिरबाट आउने र परनिर्भरताको चरम स्थितिमा राज्य माग्दै गरिएका बन्दहरुले प्रश्न जन्माउँछन् : भनेजस्तै राज्य पाइयो रे ल, चल्छ चाहिं के ले ?

यहाँको दुई तिहाइ भन्दा बढी अन्न पानि आउने ठाँउ त तराई नै हो । तराईको बन्द नखुले पछि यहाँको बन्द आन्तरिक रुपमा खुलेको के अर्थ । आखिर यातायात खुलेर के भो त तेल आउने बाटो त बन्द नै छ । तरकारी पसल खुलै छ तर तरकारी छैन । औषधि तथा अस्पतालका लागि आवश्यक अन्य मेडिकल सामाग्रीहरुको अभावका कारण जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरु बन्द हुने स्थितिमा पुगेका छन् । गम्भीर प्रकृतिका तथा अन्य स्वास्थ्य संस्थामा रेफर गर्नुपर्ने बिरामीहरु तथा गर्भबतीहरु समेत जिल्ला अस्पताल तथा अन्य बिरामीहरु यातायातका अभावले गम्भीर अवस्थामा पुगेका छन् । अस्पतालमा अक्सिजन, टिबी रोगको औषधि, स्लाइन, एक्सरे प्लेट तथा रसायन, प्लास्टर, अत्यावश्यक एन्टिबायोटिक औषधि सकिएको छ । ज्वरो, झाडा, जुकालगायतको औषधि केही दिनका लागि मात्रै बाँकी छ ।
 काठमाडौबाट सुदुर पश्चिम हानिएदेखि यता मसँग उपेक्षित यो भूभागको तीता अनुभव र अथाह संभावनाको चुकचुक मात्र छ । समग्रमा सुदुर पश्चिम बन्द तथा अन्य राजनीतिक कारणहरुले भन्दा वैचारिक तथा सामाजिक कारणले समेत पिछडिएको रहेछ । काठमाडौले देख्ने सुदुर पश्चिम र यहाँ रहेको वास्तविकता बिचको खाल्डो पुर्नै असम्भव दिशाउन्मुख छ । म यो लेख्दा भसक्कै नकारात्मक देखिन सक्छु, तर मसँग “पहिलो गासमै ढुंगा” भनेजस्तो सुदुरपश्चिम अनुभव छ । राजनीतिक, आर्थिक तथा विकासका दृष्टिकोणले त बिजोग छ नै, मानसिकताका हिसाबले समेत खासै उल्लेख्य आशा गर्न सक्ने ठाउँ देखिन्न । त्यसमाथि बेला बेला विभिन्न माग राखेर गरिने बन्द- हड्ताल र अवरोधले यस क्षेत्रलाई पछि थप पछि धकेल्ने निश्चितप्राय छ । 



Article Written
 by निमराज भट्टराई
facebook.com/Nimraj Bhattarai


****लेखक राष्ट्रिय मानब अधिकार आयोगका भुतपुर्ब कर्मचारी र हाल जिल्ला निर्वाचन कार्यालय बैतडीका जिल्ला निर्वाचन अधिक्रित हुन्, तस्बिरहरु Google images बाट सभार गरिएको हो !

2 comments:

  1. very nice article.. ho samasya dherai gambhir cha, sudur paschim ko kastakar jeeban lai aru kastakar banayeko cha yo banda ra hadtaal le. i dislike..

    ReplyDelete
  2. Good very good

    ReplyDelete

ShareThis