"यस्तो भयो, न बा रहे, न बाको समाउने रह्यो !"


सन्दर्भ : संबिधानसभाको कुसामयिक निधन

देश सकेर निच्च गर्दै हाँस्न लाजै मान्दैनन् !
देश अहिले एकदमै अचम्मको परिस्थितीमा छ, गम्भिर छ र हाँसो उठ्दो पनि । सरकारमा बसेर खान पाएको झुन्ड र सरकारमा जान नपाएको झुन्डका बिच "को बैधानिक" भन्ने गजबको दोहोरी चलेको छ । अहिलेको स्थिती आउनुमा राजनैतीक र संबैधानिक पाटोहरु प्रसस्त होलान् र तिन्को कैयन पेज लामो व्याख्या पनि । तर सर्बसाधारण नागरिकको आँखाबाट हेर्दा देश अलपत्र छ । जन-संबिधान बनाउने जिम्मेवारी सहित फुर्तिसाथ बानेश्वर पसेको एउटा राम्रै दलबलको कामको छेउ-टुप्पो केही नटुङ्ग्याइ अन्त्य भएको छ । यसबाट पर्ने राजनैतीक, संबैधानिक, आर्थिक असरहरु धेरै होलान्, तर म जस्ता कुनै दलसँग असम्बद्धले बुझ्ने सिधा तर्क के हो भने ठुलै गडगडाहटका साथ ल्याइएको संबिधान सभाले जनताको शान्ति र बिकासको आसामा त तुषारापात गरेको छ नै, पहिले कहिले नदेखिएको एक किसिमको कुरुप बिभाजन समेत समाजलाई दिएर गएको छ । जनता शान्तीको आसामा थिए, जनसंबिधानको आसामा थिए, दीर्घकालिन बिकास तथा जीबनस्तरमा चामत्कारीक बृदि को आसामा थिए, तर संबिधान सभा नामको जनावर थारो पल्टियो । पाल्न पोस्नको दु:ख, दुनियाँसंसार गर्न ढाड सेकेर ॠणको भारी बोकाएर आफु मरेर गयो ।


अहिले तीनवटा गजबका ब्यहोर चर्चित छन्, राजनैतिक् र मेडिया बजारमा : १) हरिया दाँत देखाएर नभएको गम्भिरता थोते अनुहारमा दलेर माफि माग्ने । २) आफुले के-के न लछारे जस्तो अर्कोलाई दोष लगाएर त्यस्ले गर्दा जनसंबिधान आएन भनेर पँधेर्नीको जसरी झगडा गर्ने । ३) बेलामा संबिधान नबनाएर हुँदै नभएका संबिधानका धारा र कुवा तानेर "को कार्यकारी?" र "को जिम्मेवार?" भनेर हात खुट्टा बजार्ने । यि सबै कुरा भोली जनतासँग भोट् माग्न आउनको लागि गरिएको हो भन्ने त प्रष्टै छ, त्यसमाथी यि सबै नाटकले जनताको घाऊमा नुनचुक दल्ने काम गरेको पनि छर्लङ्ग छ । हामीलाई संबिधान चाहिएको थ्यो, "नयाँ नेपाल" चाहिएको थ्यो, बिकासका योजना र सफल भबिष्यको सुनिस्चितता चाहिएको थ्यो, सबै सपना र आसाको बज्रस्वाँठहरुले समष्टिगत अन्त्य गरिदिए । शान्ती र संबिधान का नाममा जनताले बिकास खोजेनन्, सजिलो खोजेनन्, राम्रा खोजेनन् र अन्त्यमा न यो आयो न त्यो रह्यो । जस्ले जती उफ्रेर कराए पनि हाम्रो ५ बर्ष बर्बाद भयो, राज्यकोष ब्रम्हलुट गरी अरबौं स्वाहा पारीयो, केही ठालु गाउँबाट शहर पसेर "बिजिनेसम्यान" भए, केही जनताका सर्बहाराका नेताहरु छाप्रोबाट दरबारमा सरे । राजालाई नारायणहिटीबाट घोक्रेठ्याक लगाएर के-के न गरियो भनेर फुलेका जनतालाई नयाँ बन्दै गएका लाजिम्पाट, डल्लु, सानेपा र पेरीसडाँडाका "मिनी-नारायणहिटी"हरुले उनिहरुको खुशी "मुतको न्यानो" थियो भन्ने दिब्यज्ञान समेत प्रदान गरे ।

के हामीले शान्तीको आसा राख्नै नपाउने गरी अपराध गरेका छौ ??
अहिले बेपत्ताहरु बेपत्ताको बेपत्ता छन्, द्वन्द्वका क्रममा भएका र बनाइएका करोडौं घाऊहरु आलै छन्, त्यतीबेला बनाइएका भग्नाबशेष ज्युँ का त्युँ छन्, प्रत्यक्ष रुपमा अदालतबाटै ज्यानमारा घोषित भएकाहरुले ४ बर्ष सभासद् र मन्त्रीसमेत खाएर सके, जीबनस्तर गिर्दो क्रममा छ, अर्थतन्त्र अरबका दाजुभाइको पसिना र रगतको मुल्यको करबलले चलेको छ, कानुनको शासन छैन, जस्लाई जतिखेर मनलाग्यो सडकमा निक्लेर सगौरब बन्द घोषणा गर्दिन्छ । त्यतिमात्र होइन, सर्बसाधारणको ढाड सेक्ने यि बन्दहरु "जनताको लागि" भएको दाबी समेत गरिन्छ । हुनसक्ने जती लोडसेडिङ छ, बजार कालाबजारी र भ्याटमाराहरुको नियन्त्रणमा छ । समग्रमा सक्नेका लागि सबैथोक र नसक्ने निमुखाकालागी केही नभएको जङ्गलराज चलेको छ । यि सबै कुरा जनतालाई "शान्ती र संबिधान" को नाममा सहन लगाइयो, जनताले पनि सहे, ठीक छ, संबिधान आउला, शान्ती होला, कानुनको शासन होला, ज्यानमारा, भ्याटमारा र मुलुकमाराहरुलाई कारबाही होला, संबिधानसभाले अहिले सम्म प्राप्त उपलब्धिहरुलाई समेत संस्थागत गर्ला । उल्टो भो, संबिधानसभाको कुसामयिक निधन भो र देश टोक्नु न बोक्नुको यो मोडमा आएर थिल्थिलिएको छ ।

लोकतन्त्र !?!?!?!?
संबिधानबिद, कानुनबिद, योजनाबिद, अर्थबिद लगायतका "बिद"हरुलाई गूड्डी हाँक्नकालागी बिकल्पहरु होलान्, तर जनता बिचारसुन्य छन्, न अघी जाने बाटो छ न पछाडी फर्कने कुनै उपाय । देशलाई यहाँ ल्याइपुर्याउने केही भष्मासुरहरु एकलाई अर्कालाई असंबैधानिक भनेर चिच्याउँदै छन् । तेसिमालाने, दुई बर्षमा गर्छु भनेर संबैधानिक रुपमा जिम्मा लाको काम चार बर्षमा नि एक छेउ नपुर्याउने तिमीहरु सबै असंबैधानिक हौ । तिमीहरुमा अलिकती पनि लाज, सरम या घीन नामको चिज छ भने दाँत देखाउन बन्द गर । यो उ होइन तिमीहरु सबै असंबैधानिक हौ । दिन रात सहमती हुन लाग्यो भनेर वाक्क बनाउने टिभी लगायत मिडिया पनि असंबैधानिक हुन् । रिसोर्ट रिसोर्ट चाहारेर फोटो खिच्दै छाप्दै ढाँट्दै गर्ने पत्रकारहरु पनि असंबैधानिक हुन् । संबिधानको नाममा आएको दुनियाँ डोनेसन डकारेर बिदेश घुम्ने कर्मचारी तथा NGO का साउहरु पनि असंबैधानिक हुन् । निश्कर्ष यो भयो कि सर्बसाधारण निमुखाहरुलाई यिनेरुले कहिले यता फर्काएर चिमोटे, कहिले उता फर्काएर आस देखाए, कहिले अर्कोतिर फर्काएर नाटक देखाए तर अन्त्यमा ६०१ भेडाहरुको नेत्रित्वमा नयाँ ठालु, पुराना ठालु र टाठाबाठा मिलेर आँफैले जन्माएको संबिधानसभा र जनसपनाको सामुहिक बलात्कार गरे । तिमीहरु पातकिहरु हौ भनेर कुनै दिन कुनै पुस्ताले इतिहाँसमा लेख्ला नै "नेपाल" रहिरहे, तर सर्बसाधारण वाल्ल छन्, हतास छन् ।

लास्टाँ संबिधान सभाले नारायण अमृत दाइले सधैं भन्ने उखान प्रमाणित गरेर गयो, "न बा रहे, न बाको समाउने रह्यो।"  

image source : www.nagariknews.com
                         Los Angeles Times (the kid carrying nepali flag in his hand)
        

7 comments:

  1. यथार्थ स्थितिको सटीक प्रस्तुति । साँच्चै हो "विद" हरू बीच अब के त भन्नेमा तर्क-कूतर्क चलिरहँदा सामान्य नेपाली भने करिब करिब दिमाग शुन्य स्थितिमा पुगेका छन् । मेरै मनको कुरा लेख्नुभए जस्तो छ :)

    ReplyDelete
  2. वाह ! सटिक बिश्लेषण | तर के गर्नु आफैले आफ्नै बिजोग हेर्दा नि केहि गर्न नसकेर निरिह रहिरहनु पर्दा पो दिक्क लाग्छ | लौ न, यो समय एकदमै उचित समय हो, देशको नेतृत्व फेर्ने.... युवालाई जुर्मुराउन आग्रह |

    ReplyDelete
    Replies
    1. yup bro, but, everyone is frustrated!! :((

      Delete
  3. एकदम सान्दर्भिक लेख। यीनीहरु पातकी नै हुन्।

    ReplyDelete
  4. हुन त सबै अहिले एही भनी रचन, कोही कस्लाई गाली गरी राछन त कोही कस्लाई, तर तपाईंको लेखले चाहि खात्टी आम नेपाली को मन बोले जस्तो लाग्यो, हरेक नेपालीको रुदन जस्तो लाग्यो, कुन पार्टी ठीक थियो कुन बेठिक, कुन संबैधानिक थियो कुन असंबैधानिक , तेस्ले के फरक पर्‍यो र, आखिर संबिधान आएन । एकदम राम्रो लेख । keep it up.

    ReplyDelete

ShareThis