नयनराज पाण्डे को 'लू' : समग्रमा मन परेन !


 नेपाली पुस्तकहरु थोरै किन्छु म, किनभने बजारमा धेरै कबिता र गजलका पुस्तक निस्किन्छन्, जुन म त्यत्ती बुझ्दिन, अन्य पुस्तक नै कम निस्किन्छन् । ति निस्कने मध्य पनि बाँधेर शुरुदेखी अन्त्यसम्म राख्न सक्ने पुस्तक त साह्रै कम हुन्छन् । बजारमा निस्किने धेरै पुस्तक कि त "अब म ठुलो मान्छे भएँ, किताब नलेखी हुन्न" भन्ने शैलीमा हुन्छन्, कि त "जे लेखेनी पढिहाल्छन्" भन्ने शैलीमा । बुद्धिसागरको "कर्णाली ब्लुज" पढेपछी मैले ५-६ वटा नेपाली पुस्तक पढ्न शुरु गरें, अनी आधा पढेर या अलिकती पढेर मिल्काएँ । सिधासादा भाषामा म किताबको भाषाशैली र बिषयबस्तुमा बढी आकर्षित हुन्छु, कहिलेकाही अरुले राम्रो छ भन्ने लहै-लहैमा लागेर किन्ने त छदैछ । यसैबिच बजारमा निकै हल्लाखल्ला र राम्रो भनेर प्रसंसा बटुलेको नयनराज पाण्डेको "लू" हात लाग्यो, किन्ने योजना थियो तर लुनाजीले दिनुभएपछी मैले दुई दिनमा पढेर भ्याएँ । मैले गलत भनेको भए माफ पाउँ तर मलाई पुस्तक हल्ला गरिएजस्तो राम्रो लागेन । साधारण भाषामा जबर्जस्ती सिध्याएँ ।

"लू" पढ्न शुरु गर्दा अलिक ठुलै आसा थियो, दुई तीन वटा कारणले : एउटा नयनराज पाण्डेले "उल्लार"बाट जगाएको आसा, दोश्रो यस्ले छानेको एकदमै गम्भिर बिषयबस्तु र तेश्रो पाण्डेको कथा बाचन शैली । हुनसक्छ मलाई अलिक धेर आसा भएर कम मात्र भेट्टाएकोले मन नपरेको । तर पाण्डेको कथाबाचान मध्यभागतिर पुग्दा भद्रगोल पाएँ मैले । यस्ले एकदमै गम्भिर सीमा समस्या र धार्मिक मेलमिलाप लगायत तराइबासीहरुको दु:खलाई प्रस्तुत गरेको छ, सजिब छ चित्रण तैपनी कथाको फेद टुप्पो भेट्टाउन मुस्किल छ । बेला बेला शुत्राधारको उपस्थितीले कथाबाचनलाई रमाइलो भन्दा पनि भद्रगोल बनाउँछ । हुन त यो आख्यान हो, यस्का कतिपय प्राबिधिक कुराहरु म जस्तो साधारण पाठकले भेउ नपाउने हुन पनि सक्छन्, तैपनी मलाई उन्को शैलीले बाँधेर राख्न सकेन । बेला बेला एकदमै "कमर्सियल" चलचित्रको जस्तो लाग्छ कथा भने बेला बेला एकदम आफ्नै कथा जस्तो । बेला-बेला बिषयबस्तुको अती चित्रण भएको भने बेला बेला बिषयबस्तुलाई एकदमै रफ्तारमा कुदाइएको छ । पात्रहरुलाई पुलिसले डन्ठी देखाएर आफुले चाहेजस्तो बयान बकाउन खोजेजस्तो देखिन्छ बेला बेला । बाहुन र नेता चाँही कहिले गतिला हुन्नन् भन्ने अन्ध बिचार निस्किन्छ बेला बेला ।
पुस्तकका राम्रो पक्ष यस्ले छानेको बिषयबस्तु हो । आफ्न देशबाट उपेक्षित सिमाक्षेत्रमा बस्ने एउटा नेपाली गरीब बर्गको प्रस्तुतिकरण आँफैमा चुनौतिपूर्ण बिषयबस्तु हो । धेरैजस्ता ठुला-बडा दक्षिणतिरको दानापानी खाएर ढाडिएका हुँदा तिनिहरु सिमासमस्यालाई समस्या नै देख्दैनन्, नेताहरु त उतैकाले बनाइदिने भएपछी बोल्ने कुरै भएन । यो बिषयबस्तुको उठान नै आँफैमा ठुलो साहस् हो पाण्डेको । त्यसमाथी धार्मिक तथा बर्गिय सहिष्णुताजस्ता गम्भिर कुराको चुनौतिपूर्ण चित्रणलाई पनि उपन्यासले राम्ररी निभाएको छ । भाषाशैली साधारण नै छ तर शुरुको आकर्षण अन्त्यसम्म राख्न सकेको देखिन्न । पुस्तकको अर्को आकर्षक पक्ष भजनको कमी हो । धेरै जस्तो लेखक हरु अगाडि पछाडि दुनियाँ लेखकलाई प्रसम्सा गर्न लगाएर आधा किताब भर्छन्, जुन "लू"मा छैन । उन्का आफ्न कुराहरु पनि अन्त्यमा पात्रहरुसँग जोडेर जुन रुपले राखेका छन्, त्यस्ले धेरैलाई सन्देश दिनुपर्ने हो कि जबर्जस्तिको प्रसंसा धेरैले पत्त्याउन्नन् ।
समग्रमा किशोर नेपालको "शहरको कथा" र रबिन्द्र मिश्रको "खान पुगोस्, दिन पुगोस्" पढ्दा पढ्दै चित्त नबुझेर उठाएको नयनराज पाण्डेको "लू" पनि हल्ला गरिएजस्तो गतिलो चाँही भेट्टाइन मैले । हुनसक्छ, मेरो पुस्तक समिक्षा गर्ने हैसियत नहोला, त्यो स्तरको पाठक पनि म नहुँला, तैपनी समग्रमा मलाई पुस्तक राम्रो बिषयबस्तुको भद्रगोल प्रस्तुती लाग्यो । प्रचार प्रसार र हल्ला गरेरै राम्रो हो भन्ने भनाउने फिल्मी काइदा भन्दा लेख्नमै ध्यान दिए गजब हुनेथियो होला नि है ? "रक्तकुण्ड" जस्तो गोपीक्याँच किताप लेख्ने कृष्ण अबिरलले जती नै "काइट रनर" को नक्कल भनेर उफ्रे पनि मलाई बुद्धिसागरको "कर्णाली ब्लुज" खुब मन परेको थियो (मैले "काइट रनर" पनि पढेको छु है, मलाई कतै पनि नक्कल जस्तो लागेन फेरी) । अलिक राम्रा किताप पढ्न पाउँ न हौ लेख्न सक्नेहरुले, हामी पनि केही सिक्थेम कि ?

(यो नेपाली पुस्तकलाई माया गर्ने साधारण पाठकको बिचार हो, यस्मा अरु दाँयाँबायाँ केही छैन ) :)

4 comments:

  1. हल्ला गरिएजस्तो गतिलो चाँही नहुनसक्छ । मैले पढेको छैन तर अरु धेरैले चाहिँ राम्रै भनर्का छन् है ।

    ReplyDelete
  2. पढ्ने सूचीमा छ लू । पढ्नुअघि यो समीक्षाले धेरथोर धारणा त बनायो । तर पूरा खाली भएर पढ्नेछु उपन्यास । पढेपछि तपाईंको समीक्षासँग दाँजौंला मेरो अनुभव ।

    ReplyDelete
  3. लू पढ्नु अगाडि यस्को कुनै हल्ला सुनेको थिएन| सायद तेसैले होला, किताब एकदमै मन पर्यो| सिमा क्षेत्रको मार्मिक संदेश बोकेको, नेपाली भएर जन्मे पछि पढ्ने पर्ने किताब जस्तो लाग्छ|

    ReplyDelete
  4. तपाईंको ब्लग पहिले नै पढेको थिएँ भने म 'लू' पढ्दा धेरथोर असरमा पर्ने थिएँ हुँला । सकेसम्म खाली भएर पढ्न चाहन्थें म 'लू'(धाइबाजीले भन्नुभएझैं)र पनि धेरै कुरा थाहा पाइसकेको थिएँ । राम्रा नराम्राका बिचमा 'लू'लाई मैले त राम्रै ठहर्याएँ ।

    ReplyDelete

ShareThis