मक्किएका "पिलान"

 आज त कस्ले मुर्तिको कान पनि भाँचिदिएछ, मुर्तिमा रहेको देउता रोइरहेझैं देखिन्थ्यो । देउताहरु गुनासो गर्न जान्दैनन्, मान्छेले झैं, घाम, पानी हुरी जे आउछ थपक्क बस्यो, चुपचाप । सानेले भाँचिएको कान सुम्सुम्यायो, खेल्न आउने केटाहरुले भाँचेका होलान्, मनमनै सोच्यो ।
image source : google images

मुर्ती केही बोलेन, न रोयो, न चिच्यायो । मुर्तिका आँखा अझै पनि बिष्णुमतीको कालो पानीतिर नै हेर्दै थिए, निरुदेश्य, चुपचाप । यस्तो लाग्थ्यो मुर्ती केही खोज्दैछ पानीमा । अघिल्लो महिना साने यसैगरी आउँदा मुर्तीको सुँढ थिएन भाँचिदिएर, आज कान पनि गयो । सुँढ जाँदा त मान्छेजस्तो देखिन्थ्यो बिचरा देउता, आज कान पनि गएपछी त अब त्यो सम्भाबना पनि कम भो ।

सानेले छेउको इंटको टुक्रा उठाएर बिष्णुमतीको पानीमा हुत्यायो, ढुङ्गा छप्प्ल्याङ्ग गरेर तरङ्ग बनाउदै बिलायो । उस्ले सोच्यो, "म पनि त्यसैगरि बिलाउछु आज । मरेपछी पनि मान्छेहरुलाई देख्ने मन छैन मलाई ।"

मुर्ती पानीमा नै हेर्दै थियो, सानेलाई लाग्यो यो मुर्ती पनि उ जस्तै आत्महत्या गर्न आएको हुनुपर्छ ।
********************************************************************************

अलपत्र देशको "धर्तिका बोझ" नागरिक हुनुबाहेक सानेको केही परिचय छैन । साने मै हुँ भन्ने ४-५ वटा क्याम्पसको सरसफाइ गर्छ, अरु पनि छन् सफा गर्ने तर उ अलिक सानो भएर उस्लाई ट्वाइलेट् सफा गर्न लगाइदिन्छन् सबैतिर । मिलाएर भन्दा उ ४-५ वटा गज्जपका कलेजको ट्वाइलेट् सफा गर्छ । ठेकेदारको काम हो, जसबाट उस्ले दिनको १७५ रुपैया र एक छाक भात पाउछ, कहिलेकाँही टन्न गोदाइ र गाली । ठेकेदारले हिर्काउदा उस्को जिउको थुप्रैतिर टाटु बनेका छन्, अनगिन्ती । 

सानेको जिन्दगीमा हाँस्नुपर्ने खुशी हुनुपर्ने कुनै कारण छैन, जताततै बिरक्तै बिरक्ता मात्र । तैपनी उ कहिलेकाँही कलेज पढ्न आउने केटाकेटीको लुगा, कपाल र ब्यहोर देखेर हाँस्छ, "के गरेका होलान् ?"

धेरै नेपालीको जस्तै कथा छ उस्को, बा ढुङ्गा फुटाउने काम गर्थे, एउटा संस्थाले खोलोमा तटबन्ध बनाउने जाली भर्ने ज्यालादारीमा । एक दिन उनी गोली खाएर मरे, खोलावारीबाट सेना र पारीबाट माओवादी हिँडिरहेका बेला उनिहरुले एकले अर्कालाई तर्साउन खोज्दा सानेका बा ले गोली खाए । हेर्न सम्म कोही आएनन्, न कसैले जिम्मा लिए । न शहिद भए, न कसैले बिचरा भने । एउटा ढुङ्गा फुटाउने मर्दा देशको जनसंख्या खासै घटबढ हुँदैन, त्यसैले कोही बोलेनन् । अरुलाई समाचार भो, सानेका बा गए र आमा बहुलाइन् । हिजोसम्म ५ कक्षामा पढ्न जाने साने आज घरको कमाउने मुली भो । गाउँमा "बहुलाई" र "बोक्सी" भनेर उस्लाई बस्न नदिएपछी साने आमालाई लिएर काठमान्डु छिर्यो । उस्लाई उदेक लाग्यो " यो अरु सबै बिद्या धनी, माथिल्लो जात र राम्रा परिवारकाले जान्ने, बोक्सी बिद्या चाँही गरीब, नसक्ने र निर्धोलाई छुट्ट्याएको हुनुपर्छ । देउता बाठा छन् ।" 

साने जागिर खोज्दै काठमान्डु छिरेको ५ बर्ष भो, दोलखा तिरबाट । एक दुई बर्ष बोरामा प्लास्टिक टिप्ने काम गरेपछी ट्वाइलेट् सफा गर्नेमा बढुवा भो, ठेकेदार मार्फत ।

*******************************************************************************

आज काम सकिने बेला बेस्कन गाली खाएपछी सानेलाई झोक चल्यो र सिधै बिष्णुमती किनारतिर हानियो । दिक्कलाग्दो काम, घरमा अर्ध-बहुलाई आमा र उन्को स्याहार अनी पीडादायी बिगत । साने एकसुरमा हिँडिरह्यो । शहिदगेटमा बाटो काट्न लाग्दा त्यहा भएका एकहुल मुर्तीले उस्को चुंडिएको चप्पल र टालेको कट्टुलाई जिस्काए झैं लाग्यो । सानेलाई जोडले चिच्याउन मन लाग्यो "के फुर्ती लाउछौ, तिमेरु पो मरेर गयौ, अहिले बचेँको भए थाहा पाउथ्यौ बाँच्न कती गाह्रो छ भनेर । तिमेरु जस्ता दिनहुँ निस्किन्छन् आजकाल, ज्यानमारादेखी पाकेटमारासम्म सप्पै शहिद । मेरा बा शहिद भएनन किनकी ति न ज्यानमारा थिए, न पाकेटमारा ।"

रत्नपार्क कट्ने बेला "भबिष्य" बताउन बसेका ज्योतिषले सानेलाई देखेर आफ्नो जुत्ता तानेर पछाडि सारे, तिन्लाई के थाहा साने आज "एड्वेन्चर" को मुडमा छैन भनेर ।

बिष्णुमती किनार पुग्ने बेला सम्म सानेले निर्णय गर्‍यो, आज चाँही मर्दिन्छु, जे पर्छ परोस् । झ्याप्प हाम्फाल्दियो भने मर्न गाह्रो छैन, एक आँट कुरा खतम । नाक थुनेर हाम्फाल्यो भने पानी त नगन्हाउला । 

हाम्फाल्नै लागेका बेला उस्का आँखा मुर्तिको कानमा पर्‍यो, त्यो बिचराको दाहिने कान गायब थियो । उस्को र त्यो मुर्तीको बिचमा समानता छ, दुबैलाई कसैले खासै वास्ता गर्दैनन् हिर्काउने बेला बाहेक । यो देउता खोलापारी खेल्ने भुराहरुको ढुङ्गा हाने "प्र्याक्टिस" गर्ने तारो भएको छ भने साने चाँही ठेकेदारको फ्रस्ट्रेसनको तारो ।

समयक्रममा देउताको पनि बर्गिकरण भएको छ, अलिक घना बस्ती र शहरतिर डेरा भाका सोर्स फोर्स वाला देउताको सान नै बेग्लै छ, यो बबुरो देउता दिनभरी बिष्णुमतीको फोहोर पानी रुङ्गेर बस्छ ।

सानेले आमाको अनुहार सम्झियो, तिन्लाई सबैले ढुङ्गा हान्लान् यो देउतालाई जस्तै । सानेको लास कुहिएपछी फेला पर्ला कसैले र साने भनेर कसैले पनि नचिन्लान्, आमा खोजेको खोजेकै होलिन् फेरी । कसैले खोलामा हाम्फालेको देख्यो भने बाहिर निकालेर कुट्न पनि सक्छ । लास चिनिहालेर सानेको पनि मुर्ती यहाँ बनाइदिए भने त केटाकेटीले उस्लाई पनि पारीपट्टी बाट ढुङ्गा हान्लान् । फेरी साने मर्यो भने गाउँमा स्कुल बनाउने उस्को "पिलान" कस्ले पुरा गर्दिने, थोरै उ शहिद् हो र ? शहिद्को सपना भन्दै अरुले पुरा गर्लान भन्नु ?? फेरी यस्तो गनाउने पानीमा त मर्न अलिक गाह्रै होला । लुगा पनि बेस्मारी गनाउलान् ।

साने खोला किनारबाट उठेर देउता भए छेउमा गयो र भन्यो " यो फोहोर पानी कुरेर नबस आत्महत्या गर्न, अरु कुनै उपाय खोजौँ, आखिर न तिमी शहरमा हुनुको केही अर्थ छ न म हुनुको । न तिम्ले केही गर्न सक्यौ न मैले ।"

साने आत्महत्या गर्ने अली "सफा" उपायको खोजिमा निक्ल्यो, देउता अझै त्यै पानीमै टोलाइरहेकै थियो ।  

 

7 comments:

  1. one upon one, kudos !!
    - कलेज पढ्न आउने केटाकेटीको लुगा, कपाल र ब्यहोर देखेर हाँस्छ, "के गरेका होलान् ?"
    - ज्योतिषले सानेलाई देखेर आफ्नो जुत्ता तानेर पछाडि सारे, तिन्लाई के थाहा साने आज "एड्वेन्चर" को मुडमा छैन
    - झ्याप्प हाम्फाल्दियो भने मर्न गाह्रो छैन, एक आँट कुरा खतम । नाक थुनेर हाम्फाल्यो भने पानी त नगन्हाउला
    - साने मर्यो भने गाउँमा स्कुल बनाउने उस्को "पिलान" कस्ले पुरा गर्दिने

    ReplyDelete
  2. I truly admire your writing skills. You've awesome quality of being a well writer. Kudos to your selection of characters from the very general public, the present lifestyle of huge lined up individuals. Your writing truly takes me to the same Bishnumati shores. Hats off!!

    ReplyDelete
  3. feri maan chune lekh lekhnu bhayecha...

    ReplyDelete
  4. one more breath taking article,now I understand why you love being on the street?It's frustrating while those story makes your eyes watery yet you can do nothing beside wipe it 'n feel sorry for it,little eyes always have big dream it's because they are innocent n true by heart!loved it..keep sharing..

    ReplyDelete
  5. nikai ramro lekhai..suru garepachhi antya nahos jasto lagchh...

    ReplyDelete
  6. । फेरी साने मर्यो भने गाउँमा स्कुल बनाउने उस्को "पिलान" कस्ले पुरा गर्दिने, थोरै उ शहिद् हो र ?

    ReplyDelete

ShareThis