A Real Story: लप्सीको रुख

 "ओइ, कान्लाघरे बस्नेतका खलक, तिमेरुका डाम्ना आफ्ना गोठाँ बाँधेर लडाउन सक्दैनौ!?" राधिका बज्यैले एउटा हात कम्मरमा लगाएर धारे हात लाउंदै बस्नेतका घरतिर हेरेर न्वारानदेखिको बल निकालेर सरापिन्, उत्तर आएन, के आउथ्यो ? उत्तर भए पो !

बज्यै घट्टमा मकै पिसेर आउँदै गर्दा बाटोमुनिको ठुलो गरोमा केही चल्मलाएको देखिन्, भारी बिसाएर हेर्न जाँदा त बस्नेतका बाख्रा ३-४ वटा पसेर भर्खर गोड्ने बेला भाको मकै आधा गरो सखाप पारेछन् ।

"छोरो अरपाट आको, फुर्ती ला'र बाख्रा छोडेको होला नि, मर्न नसकेको!" आमै सराप्दै गरोमा ओर्लीइन् । आमैको रिसको सिमा त्यतिखेर रहेन जतिखेर उन्ले देखिन् कि बस्नेतका बाख्राको हुलले भर्खर फल्ने बेला हुन लागेको पाउला लाग्दै गरेको लप्सीको रुख ठुटै पारेर खाइदिएछन्, रुनु न हाँस्नु भो, हरेशिव कत्रो दु:खले जोगाको ।

"त्यस्का डाम्ना, त्यल्लाई हरियो बाँसाँ टुँ पारेर अहिले घाट तिर लानलाई, असत्तीका खलक । गरीबका बारीमा केइ उम्रेको देखीसहेनन् । पापको डर नभाका.............. !"
बज्यै एकछिन् एक्लै फत्फताइन, बोल्दै जाँदा उनी आँफै दोधारमा थिइन्, गाली बस्नेतका खलकलाई थियो या बाख्राका खलकलाई । हो त सानो लप्सीको रुख ठुटै पारेर भ्याएछन् । बज्यैका नौनारी गलेर आए । साह्रै रहरले दु:ख गरेर हुर्काको लप्सीको रुख ठुटो मात्रै बाँकी थियो ।

आमै आलिको डिलमा बसिन्, बस्नेतका घरमा रमाइलो देखिन्थ्यो, नयाँ क्यासेटले दोहोरी गीत घन्काउदै थियो । बस्नेतको छोरो राजु हिजै त कतारबाट आइपुगेको, ब्या को कुरो चल्दैछ उस्को । उस्लाई झलक्क देख्दा आफ्नै छोरो जस्तो लाग्यो बज्यैलाई, कता कता खाटा बस्न लागेको घाऊ कसैले कोट्ट्याए जस्तो । राजु र उन्को जेठो छोरो मिल्ने साथी थे, एक कक्षामा पढ्दादेखी नै । सधैं मिल्थे, कहिले झगडा गर्दैनथे । स्कुल जाँदापनी सङ्गै आउँदा पनि सङ्गै । 

"यसैगरी मेरो छोरो पनि फर्केर आइदिए, म पनि बाख्रा फुकाएर लगेर बस्नेतका मकैबारीमा छोड्थें, र क्यासेटमा दोहोरी बजाएर बस्थें।" आमै सोचेरै मुसुक्क मुस्काइन्, तर यहाँ केही थिएन, र सबैभन्दा खत्तम: लप्सिको रुख बाख्राले भ्याइदियो ।

बज्यै डिलमा उक्लिन र बाटोमा गएर पिठोको भारी बोकेर उकालो लागिन्, पश्चिमतिरबाट आएको हावा सिर्र गरेर जिउमा पस्यो र ओभाउन लागेको पसिना चिसो भयो ।

******************************************************

आज बज्यैका  भुँइमा खुट्टा थिएनन्, कारण डेढ बर्षपछी श्रीमान् भारतबाट घर आका । तेल हालेर सलक्क जुल्फी पछाडि फर्काएर कोरेका, सट पँएट ला'र झोला बोकेसी के चाहियो र ? हाट जाँदा पोस्टर टाँसेको फिलिमको हिरो भन्दा केइ कम होइन । दुरुस्तै ।
राधिका बज्यैको र डाँडाघरे चन्द्रेको सानैमा बिहा भाको, बिहा हुनेबित्तिकै चन्द्रे भारत पसे गर्जो टार्न । त्यसपछी बर्ष दुई बर्षमा आउँदै जादै गर्छन्, बज्यैलाई अब त बानी परिसक्यो । 
चन्द्रेले बज्यैलाई हिल भाको जुत्ता ल्याइदिएछन्, बज्यैलाई के भनुम् के भनुम् भो, रातो हुँदै रिसाइन् " बुढेसकालमा त्यत्रो लाठे छोराकी आमा म, यो यत्रो अग्लो कामो भाको जुत्ता ला'र काँ चाँइ जानु?"
बुढाले जवाफमा आँखिभौँ तन्काए, अहिले छोराछोरीले देखेर बिल्ला पार्लान् नि, बज्यै भित्र पसिन् ।
छोरो स्कुलबाट आइपुग्यो, र मुलखाटमा बसेर जुत्ता खोल्यो, बाउलाई देखेर ढोगिदियो । "बाउ छोरा साथी जस्तै  देखिने भएछन् है बरै!" बज्यैले बिचार गरिन् । छोरो दसमा पढ्ने भैसक्यो । समय कत्ती छिटो गाको ।
"तेरो पढाई कस्तो छ, अङ्ग्रेजी खरर बोल्न सक्छस्?" बाउले सोधे । छोराले मुन्टो हल्लाएर सक्छु भन्यो । "ल जा जा पढ् माथि गएर, भाई बहिनिलाई पनि सिका, तैले मात्रै अङ्ग्रेजी खररर बोलेर हुन्च?" बाउले भने छोरो माथि चोटामा उक्लियो ।

*******************************************************
त्यसदिन आमै ठुलोगराको कुनामा घाँस काट्दै थिइन्, हातमा केही लिएर चन्द्रे माथिबाट झरे । नजिकै आएर हेर्दा लप्सीको बोट रहेछ ।
"काँ'ट ल्यायौ यो ? क्यार्नी हो र ?"
चन्द्रेले भन्यो, "माझिटारको रामेले कृषि गएर लप्सीका बिरुवा ल्याम्दै रेच, एउटा मैले मागेर ल्याएँ, सार्नु परो यताहुँदी ।"
"सार्यौ, सप्पै गरामा सेप लाग्छ रुखको, पर्याछैन ।"
"नडरा न बुढी, म अर्को पटक इन्डियाट आउँदा मलाई अचार् बना'र खिलाएस्, बाँकी बचेँको हाट लगेर बेचे नि भो केरे ।" चन्द्रेले लट्ठीको चुच्चोले अलिकती खोस्रेर बोट कान्लामा हालिदिदै सम्झायो ।
"हो त है, मेरो सुद्दी।" बज्यैले आँफैलाई हपारिन् ।

"ए बुवा, तपाईंलाई भेट्न पाटिका मान्छे आ'का छन्, ह्याँ घराँ झट्ट आउ अरे।" माथिबाट ठुलो छोरोको आवाज सुनियो । "हन क्यार्न आका रेचन्, पैले त हाम्रा गाउँतिर थेनन् यि पाटिका ।" चन्द्रेले जान्न खोजे ।
"तँ डोको भरेर आएस्, म घर गएँ, भुरा डराउलान् उता घराँ फेरी ।" चन्द्रे घरतिर उक्लिए ।

राधिका बज्यै घर आउँदा घर सुनसान थियो । छोरालाई बोलाइन्, बोल्दैन । सानो छोरोले बालाई त पाटिका मान्छेले पिट्तै पिट्तै पल्लो गामतिर लगे भन्यो, बज्यैको हंसले ठाउँ छाड्यो । 
"अनी दाजु खै त ?" बज्यै आत्तीइन्, "ह्याँ सुतेका छन् चोटाँ, दाइलाई पनि पिटे पाटिका मान्छेले, टाउकाट् रगत आ'च केरे।" सानु छोरोले माथिबाटै जवाफ दियो ।
बज्यै दगुरेर चोटामा पुगिन्, सानो छोरो दाइचाहिको घाउलाई पछेउराको फेदले ढाक्ने प्रयास गर्दै थियो, सानी छोरी डराएर एक तमासले सुतेको दाईलाई हेर्दै थिइन् । केही ठुलै चिजले हाने जस्तो देखिन्थ्यो ।
आमैले मलमपट्टी गरेर घाऊ बाँधिदिइन् । होस् ठेगाना केही थिएन बज्यैको । छोरो बल्ल बल्ल होस् मा आएर सोध्यो :"बा खोइ ?"
आमैले रुँदै सानो छोरोले भनेको सुनाइन् । "उनिहरुले १० हजार आइसी मागेका थिए, बा'ले दिन्न किन दिने भनेको भन्यै गर्नु भो, यस्ता क्रान्तिबिरोधीलाई जनअदालत लाने भन्दै पिट्तै घिसार्दै लगे। मैले छुट्ट्यौन खोजेको मलाई बन्दुकको डन्डीले हानेर लडाएर गए।"
छोराले रुँदै भन्यो, बज्यैको सातोपुत्लो गयो । पल्लो तल्लो सबै घरमा गएर सोधखोज गरिन्,सबैले आउछ फर्केर भने । बज्यैलाई रातभरी निद्रा लागेन । भोलीपल्ट पनि चौतारो, पसल सबैतिर सोधखोज गरिन्, अहँ चन्द्रे कतै देखिएनन् । चन्द्रेले इन्डियाबाट आउँदा ल्याको घडी चुँडिएर रछ्यान् निर खसेको रेछ, थोरै रगत पनि लागेको थियो त्याँ निर । 
पर्सीपल्ट बिहानको उज्यालोमा ढोका ढक ढक गर्‍यो कसैले, बज्यै खुसी हुँदै ढोका खोल्न गाको, रातो लुगा ला'का तीन जना थे । "चन्द्रबहादुरको घर यही हो>"
बज्यैले आतिंदै "हो हजुर ।" भनिन् ।
"हामी चन्द्रबहादुरको जेठो छोरोलाई लिना आको, जनअदालतमा बोला'का छन् चन्द्रबहादुरले । बेलुका बाउछोरा नै घर फर्केलान्, छिट्टो बोलाइदिनुस् ।" अली अग्लो चाहिले भन्यो । "साँच्चै हो?" बज्यैले सुतिरहेको छोरालाई उठाएर पठाइन् । घाम झुल्किन लागेको थ्यो ।

त्यस्पछी बाउछोरा फर्केर आएनन्, न त खबर नै आयो । बज्यैले सबैतिर हारगुहार गरिन्, सोधखोज, लागेशक्ती सबै गरिन्, अहँ केही पत्ता लागेन । पुलिसमा, बिभिन्न संघमा रोइकराइ गरिन्, कसैले टेरपुच्छर लगाएन ।

************************************
आज बज्यैका श्रीमान र छोरालाई क्रान्ति बिरोधी भनेर दस हजार आइसीको लागि उठाएर लाने सभासद भाका छन्, तर उन्का श्रीमान् र छोराको कुनै अत्तो पत्तो छैन सात बर्ष हुन आँटिसक्यो । न सास छ, न लास छ । तैपनी आउछन् कि भन्ने बज्यैलाई आस बाँकी नै छ । 
सरकार आउँदै जाँदै गर्छन्, बेपत्ताको स्थिती पत्ता लगाउने भनेको भनेकै गर्छ, तर बज्यैका श्रीमान् र छोरा फर्केर आएनन्, न केही खबर नै आयो । आस्वासन थुप्रै आए, तर पाटितिर जाँदा क्रान्तिबिरोधी भनेर केही दिएनन्, सरकारले "बेपत्ता" भनेर केही दिएन । पाटी आँफै सरकारमा हुँदापनी केही दिएनन्, न त तेरो छोरो र श्रीमान् यता छन् भनेर भन्दे ।
दुई चार बर्षसम्म पनि बज्यैलाई आफ्ना श्रीमान डराएर छोरो लेर इन्डिया पसे होलान्, अब फर्केर आउछन्, जस्तो लाग्थ्यो । अहिले त्यो पनि लाग्न छोड्यो ।  
श्रीमान् लाई लाने दिन रोपेको लप्सीको बोट समेत बाख्राले खाइदियो ।

बज्यै भारी बिसाएर थचक्क बसेर रुन थालिन्, बस्नेतको रेडियोमा कुन हो मन्त्री भाषण गर्दै थियो : "हामी अर्को बिद्रोह गर्नेछौं, जनसंबिधान नआउन्जेल हामी कहाँ चुप लागेर बस्छौँ र?"

(यो कथा सत्य घटनामा आधारित हो, मैले पात्रको नाम र स्थान फेरेर अलिक कथानक मिलाएको मात्रै !)

12 comments:

  1. "..क्रान्ति बिरोधी भनेर दस हजार आइसीको लागि उठाएर लाने सभासद भाका छन्,.. न सास छ, न लास छ । तैपनी आउछन् कि भन्ने .. आस बाँकी नै छ ।" another toll, perfect!!

    ReplyDelete
  2. Very heart-touching story. Such atrocities have taken place during the 10-year long conflict. Janak's writing is so poignant because he spent a few years in similar settings. Keep writing Janak!

    ReplyDelete
  3. "हामी अर्को बिद्रोह गर्नेछौं, जनसंबिधान नआउन्जेल हामी कहाँ चुप लागेर बस्छौँ र?"....may be the destruction of Nepal...Dheraile Jyaan Gumauna sakxan, as says 50,000.

    ReplyDelete
  4. touching.. great story again...Keep it up

    ReplyDelete
  5. gr8......speechless,nicely executed...!!

    ReplyDelete
  6. आज बज्यैका श्रीमान र छोरालाई क्रान्ति बिरोधी भनेर दस हजार आइसीको लागि उठाएर लाने सभासद भाका छन्, तर उन्का श्रीमान् र छोराको कुनै अत्तो पत्तो छैन ... Heart-breaking story.

    ReplyDelete
  7. Good Story... Continue writing like this, you have a flair for writing...

    ReplyDelete
  8. Ali Choto Lekhyo Vane Aja Padhne Le Choto Samaye Ma Padhna Sakthey Ki. Dherai Ramro. Next Time Blog Ma Na Lekhnu Ma Kunai National Daily Ko Suppliment Ma Chapaune Chu.

    ReplyDelete
  9. मन च्वास्स घोच्यो यो कथाले , मेरा कोहि पनि यस्ता घटना मा परेनन तर पनि नरमाईलो लाग्यो कथानै भए पनि सत्यमा आधारित भएर होला ,यस्ता थुप्रै घटनाहरु घटेका छन् बिगतमा |के घोच्यो होला त जन संबिधान बनाउछु भन्नेहरुको मन पनि यो कथाले ?अह मलाई त विश्वास लाग्दैन |

    ReplyDelete

ShareThis