कर्णाली डायरि (ति अमुल्य दिनहरु : भाग -३ )


जुम्ला बसाइका शुरुका दिनहरु साह्रै अत्यासलाग्दा थिए । समस्या सुनाउने हो भने दुईवटा पोस्ट त्यस्मा जान्छन्, त्यता नजाउँ । समग्रमा मैले सोचेको भन्दा निकै तल थियो त्यस्को स्तर । मैले जिल्ला सदरमुकाम भएपछी त्यहाँ रेडियो टिभी र फोन इन्टरनेटको सुबिधा छ होला भन्ने सोचेको, के हुनु र ? रेडियो नेपालको त्यहाँको प्रसारण् स्टेसन जुम्ला आक्रमणको क्रममा माओवादीले लान नसकेर मकैबारिमा फालिदिएका रे, आउने कुरै भएन । त्यहीँको स्थानिय कर्णाली एफ एम टिम्को आउथ्यो, तर समाचार बजाउन प्रतिबन्ध थियो क्यारे, बिहानदेखी "सत्य बोल सिताराम" बजाउथ्यो (मैले सम्झेको त्यही हो) । टिभी आफ्नामा थिएन, अन्त हेर्न कता जानु कोही चिनेको होइन । गएको ५-७ दिन मेरो दैनिकी यस्तो थियो, बिहान बेस्कन घाम लागेपछी आठ बजेतिर उठ्यो, चिया खायो घाममा, भात खायो घाममा, कसैले कार्यक्रममा बोलाए गयो नत्र फेरी घाममा, घाम जाने बित्तिकै सिधै आगो ताप्न भान्छामा, त्यही आगोको छेउमै बसेर भात खायो अनी सिधै स्लिपिङ ब्याग भित्र, जेल परेको जस्तो पो भाको थियो त त्यतिखेर ।
बिस्तारै बजारमा दुई लाइन फोन छ भन्ने थाहा भो, भिस्याट वाला । सँगै भात खाने ५-६ जना रेन्जर साथीहरु थिए उनिहरुले भनेपछी नयाँ काम पाइयो । बिहान उठ्यो, चिया खायो, गयो, फोनमा लाइन बस्यो, बल्ल बल्ल पालो आयो भने पनि २ मिनेट ट्याँट ट्याँट गरेपछी इङ्गेज हुन्थ्यो, अनी फिस्स । पसलेले २ पटक भन्दा रिडायल् गर्दे पो । त्यस्पछी घर आयो, साँझ फेरी गयो फोनको लाइनमा । धेरै जसो कर्मचारीहरुको त्यही हालत । टिभी त प्लेनमा किलो जोखेर लानुपर्ने कल्ले सक्नु ! आफु जाँदा सङ्गै लगेको कम्प्युटरको मनिटरलाई यता उता पारेर टिभी कार्ड जोडेर हेर्ने त बनाएँ, तर बत्ती आए पो । आएको बेला पनि धमिलो आउथ्यो, क्याट क्याट गरेर दिक्क बनाउथ्यो । १२-१५ कतीवटा च्यानल आउथे, आउँदै जादै गर्ने बत्तीमा बसेर त्यही भए पनि हेर्यो, गयो सुत्यो । अहिले जस्तो धेरै नेपाली टिभी थेनन्, समाचार उस्तै परे थाहै नहुने । पत्रीका प्लेन आएन भने आउन्नथ्यो, कहिलेकही ३-४ दिनपछी आउथ्यो पत्रीका, कहिले त कान्तिपुर हप्ताको बन्डल एकैपटक ।
जुम्ला गएपछी मैले सबैभन्दा पहिले म्यारिज खेल्न सिकें, हुन्थ्यो के भने हामीभन्दा पल्लो घरमा ६-७जना रेन्जर सापहरुको क्वाटर थियो, उनिहरु माओबादिले गाउँबाट रेन्ज्पोस्ट भत्काएर खेदेपछी सदरमुकाममै बसेका । साथीहरु कहाँ जान्छन् भनेको त, बिहान भात खाएर गयो अफिस, हाजिर गर्‍यो आयो बसिगो भिड्न, राती मैनबत्ती बालेर निद्रा नलागुन्जेल खेल्ने (बत्ती बालेर हल्ला गर्न मनाही थियो) । अनी बिस्तारै मैले पनि सिकें, साँझ अफिसपछी गयो, छेउमा बस्यो, हेर्यो गर्दा गर्दा अली अली गर्दै म्यारिज खेल्न जानियो । नत्र मलाई म्यारिज खेल्न आउँदैनथ्यो ।
म गएको केही दिनपछी साथी नेपालगन्ज झरेसी अत्त्यासलाग्दा दिन शुरु भए, बिबिसी आउने रेडियो उन्ले बोकेर गैहाले, म भुक्का । खोलातिर मेरो सुत्ने कोठा थियो, राती एकदमै डर लाग्ने । कहिलेकाही बन्दुक पड्केको सुनिन्थ्यो, अनी झन डर लाग्ने । कहिलेकाही त "ला, अब मरिन्छ, थुक्क।" जस्तो लाग्ने । यस्तो सोचाइ त मलाई कती आउथ्यो कती । टर्च बाल्दै सिलिङमा चित्र बनाएरै कती रात नसुती काटेको छु मैले । आइहाल्यो भने कताबाट भाग्ने, कहाँ लुक्ने भन्ने प्लान बनायो बस्यो । सबैभन्दा हाँसउठ्दो जता गोली चल्छ, त्यस्को बिपरित दिशामा खाट घिसार्दै सार्ने काम गर्थें । झ्याल काठको थियो, काठ त गोलीले पक्कै छेड्छ, गारोले अली बचाउला भन्ठान्यो खाट घिसार्यो । घरबेटीले कहिलेकाही "क्या घ्यार्र घ्यार्र गद्दा छुन् त है यि जनक सर, रातभरी सुत्न्या नाइँ?" भनेर सोद्थ्यो । अब डर लागेर भन्नु भएन, एक्सरसाइज गरेको निद्रा नलागेर भनेर ढाँट्थें । मैले ति दिनहरुमा पढ्ने पनि प्रयास गरें, केही ध्यान गए पो । सधैं आज चाँही मरिन्छ कि जस्तो लाग्ने । ती दिनहरुमा मैले जिन्दगीमा कल्लाई कल्लाई सताएँ, कल्लाई कल्लाई कुटें सब याद गरें सम्झनामा आएजती । हरे, के गरेँहुँला जस्तो लाग्ने । त्यसमाथी माओबादीहरुले गाउँतिरबाट बुधवार हान्ने, आइतबार हान्ने भनेर हल्ला फिजाउँथे । कहिलेकाही चाँही "ह्या के कुरेर बसिरा होला?" जस्तो लाग्ने । तैपनी भाग्ने बिचार  चाँही हराउदै गयो । प्लेन आएपछी चाँही जतिखेर नि घर जाउँ जाउँ लाग्ने । तर बिस्तारै निदाउन थालियो बन्दुकको आवाज सङ्गै ।
म त्यहाँ पुगेको ठ्याक्कै ३७ दिनपछी मैले ममीसङ्ग बोल्न पाएँ, के बोलें भन्नु, बोल्न केही आएन, सन्चो बिसन्चो सोधें अनी जे सोधे नि ठीक छ भन्दें । ममिलाई अझै नि मेरो खानाकै चिन्ता थ्यो, मैले गजब छ भन्दें । ममिलाई पीर लगाउन मन लागेन । त्यो दिन थाहा भयो, साला, कती टाढा आइएछ भनेर । खाना के को मिठो हुनु, खाध्य संस्थानको चामलको भात, उसिनेको गहुँ जत्रो हुने, चपाउँदा क्याच क्याच गर्ने गरी । सिमीको दाल त कती खाइयो खाइयो । सधैंको सेट: खाध्यको भात, सिमिको दाल, आलु को तर्कारी, भाङ्गोको अचार् । भात खान बस्नै मन नलाग्ने । फेरी हाम्रा होटेलवाला बर्बाद अल्छि: केही तर्कारी ल्याउने पनि होइन, त्यही एउटै सधैं । शनिबार च्याङ्ग्राको मासु ल्याउँथे, तर हाम्रा दाँतले ती बडीबिल्डर च्याङ्ग्रालाई के भेट्नु? जती चपाओस न, गले पो । डिप्रोस् का साथीहरु जुम्लाको मासुमा ३० सिटी लगाएर पकाउछौं हामी भनेर जोक गर्थे । कुखुराको मासु प्लेन चढेर आउथ्यो नेपालगन्जबाट, जो पहिला पुग्यो, त्यल्ले खायो । सबैभन्दा ठुलो समस्या जाडोको थियो, यस्तो चिसो यस्तो चिसो कि के भन्ने । धारो जमेर पानी नै आउँदैनथ्यो घाम नचर्कीकन । नुहाउने काम त त्यहाँ ठुलो युद्द जितेको जस्तो हुने । सबैभन्दा समस्या खुट्टा मरिगए तात्दै नतात्ने, मोजा लगाएर सुत्दा पनि एक डेढ घण्टा लाग्ने खुट्टा तात्न । गयो, सुत्ने बेला खाटमा बसेर जुत्ता खोल्यो, सुत्यो, बिहान उठ्यो, बुट पड्कायो हिड्यो । थर्मोकोट र स्वेटर् माथि सिरकजस्तो ज्याकेट लगायो बस्यो ।
यसरी शुरुको दुई तीन महिना मैले ज्यादै अत्त्यासलाग्दो गरी बिताएँ, साँझ पर्ने बित्तिकै कर्फ्यु लाग्थ्यो अनी सब सुनसान । कहिलेकाही बुटको आवाज र कहिलेकाँही भेडा कराएको र खच्चरको घण्ट सुनिने । बेला बेला बन्दुक पड्किने त छँदैछ । रेडियो जती घुमाएपनी चाइनिज र अलइन्डिया बाहेक केही नआउने । के भो कसो भो अत्तो पत्तो छैन । मैले त्यो बेला जिन्दगीको बारेमा धेरै सोचेको छु, केही नगरी कयौं दिन बिताएको छु । कतीपटक त म दुई तीन दिन कसैसँग बोल्दैनथें, जुम्लाको मान्छेहरुले बोलेको आफु नबुझिने, साथी कोही छैनन्, गयो थपक्क होटेलमा भात खायो, आयो बस्यो धुमधुम्ती । बिस्तारै बानी पर्दै गयो । जुम्ला लगायत कर्णालीको मान्छेहरुले खप्ने दु:खको अगाडि मेरो त के हो र जस्तो लाग्न थाल्यो । चामलको लाइनमा बस्ने छट्पटी, प्लेन नपाएर उपचार् नपाई मरेका मान्छे, २३-२४मै ३-४ वटा बच्चा पाएर बुढी देखिने महिलाहरु, हावाले डढेर अनुहारभरी टाटैटाटा भएका मान्छेहरुलाई हेरेर चित्त बुझाइयो । यहाँ कती मान्छे छन्, जस्लाई मैले बाँचेको जिन्दगी पनि सपना जस्तो लाग्दो हो भन्ने सोच्न थालें र चित्त बुझ्दै गयो । तैपनी मलाई जुम्ला बसाइको शुरुका दिनमा म्यारिज खेल्न सिकाउने श्याम, दिपक, बिनोद लगायत हाँस्न सिकाउने ग्यानेन्द्र, उमेश(चाउरे) थापा, मुरारी सर लगायत साथीहरु मेरा लागि सधैं स्मरणिय छन् । संगै अफिसमा काम गर्ने दीपेन्द्र सर त अभिभाबक जस्तै । म झनक्क रिसाउँथे, आत्तिन्थें, बटारिन्थे, उहाँहरुलेमलाई त्यो दु:खमा पनि बाँच्न सिकाउनुभो र बिस्तारै जुम्ला मेरो दुनियाँ भयो । :)

(फिल्ड गाको अनुभब जाँगर लागे अर्को भागमा लेखुम्ला, नलागे यत्तिकै, यो पटक!)

भाग १ को लागि यहाँ क्लिक गर्नुहोस् | 
भाग २ को लागि यहाँ क्लिक गर्नुहोस् |

5 comments:

  1. तीनवटै भागहरु पढे। निकै राम्रो र रमाइलो लाग्यो। लेखाइको तरिका, ठट्यौली पाराले बेलाबेलामा खुबै हसायो। यो भागका सम्झन लायक चाँही "क्या घ्यार्र घ्यार्र गद्दा छुन् त है यि जनक सर, रातभरी सुत्न्या नाइँ?" एक्सरसाइज गरेको निद्रा नलागेर र 'जुम्लाको मासुमा ३० सिटी लगाएर पकाउछौं हामी' भन्ने लाग्यो। जतिसुकै रमाइलो भये पनि लेखले जुम्लाको दु:खलाई देखाएको छ, नेपाल काठमाडौं मात्र होइन, जुम्ला जस्ता ठाउँहरु पनि हो भन्ने बतायेको छ। आफ्ना अनुभवहरु बाड्नु भएकोमा धेरै धेरै धन्यवाद। भविस्यमा यस्तै अरु पनि पढ्न पाऔ।

    ReplyDelete
  2. यो डायरीको त २०० औँ भाग आए नि यस्तै उत्साहका साथ पढिन्छ होला ल |
    ओ .... अरु सप्पै काम रोकीकन यै कथा लेखिल्याउ न हो जनक सर | तिउँरो कलममा हामी कर्णालीको दु:ख अटाउँदाहो, अरु कस्सैले हामीतिर फर्केर हेर्या नाइँ | तिमि त ठुला ठाउँमा छौ, हाम्रो दु:ख सम्झीकन हाम्लाई केहि राहत पठाईद्या हौ न जनक सर | ठुलो कल्याण गरन्या |

    ReplyDelete
  3. I must say KUDOS! Great writing Janak Sir. Loved the way you described about the lifestyle of Karnali!

    ReplyDelete
  4. खै मैले यो लेख कति बेला पढेँ ढिलो / चाढो तर लेखमा बिश्लेषण गर्न लायक भन्न बुझ्न लायक कुरा धेरै छन् ।

    ReplyDelete
  5. tapai ka lekh haru dherai ramra ra prithak chan.. it is all bout nepal and nepali, a different nepal from what ppl in kathmandu or from other cities of nepal have experienced.I hope we shall get chance to read ur books too..
    your karnali diary have touched our heart, my best wishes to you.. keep it up.

    ReplyDelete

ShareThis