कथा: यो झरी र त्यो झरी




आज फेरी दर्केर झरी पर्‍यो । बिहानसम्म त मौसम ठिकै थियो अहिले कुन्नी के सुरमा हो मौसम बहुलायो, गड्केर पानी पर्न पो लाग्यो ।

सुरजले टेबलबाट हिजोको Royal Stag को बाँकी गिलास उठायो, अघी वेटरले ल्याइदिएर चिसो भैसकेको कफीमा मिसायो  र बरान्डामा निस्क्यो । पानी उत्तिकै जोडले दर्कीराखेको थियो ।
फोनको घन्टी बज्यो उस्लाई झस्काउनेगरी, नचिनेको नम्बरबाट फोन आएकोले एकछिन त उठाएन उस्ले, तैपनी बजेको बज्यै गरेपछी उस्ले फोन उठायो । फोन स्याँ गर्दैथियो जोड्ले, केही सुनिएन । उस्ले मनमनै नेपाल टेलिकमलाई सराप्यो, कलब्याक गर्ने प्रयास गर्दा फोनमा बोलिरहने युबतीले "संपर्क हुन सकेन" भनेको भन्यै गरिन् ।

"बर्खामासमा बिदामा न आको भए हुने रैछ", उ मनमनै चुकचुकायो । "उता बिदा पनि सकियो, यता कतै जान पाको पनि होइन, पानी दर्केको दर्क्यै गर्छ ३ दिन देखी ।" जापानबाट बिदा मनाउन भनेर झोकै झोकमा कसैलाई नभनी नेपाल हान्निएको केटो तीन दिन देखिको बर्षाले सिङ्गापुर गेस्ट हाउसमा थन्किएको थियो । "सौराहा जाने प्लान त त्यस्तै होला जस्तो भो" मनमनै हिसाब गर्‍यो उस्ले । "पोखरा नि नगै त के फर्कनु? बाटो जाम होला, सात दिनमै फर्कनुछ, ह्या जेसुकै होस्, माछापुच्छ्रेको दर्शन त गरेर आऊनै पर्‍यो ।" उस्ले व्हिस्की स्वाट्ट पार्यो र रिसेप्सनमा फोन गरेर हिसाब गरिदिन र ट्याक्सी बोलाइदिन भन्यो ।

"नगाको भए पनि हुने सर, बाटो बन्द छ पहिरोले भन्थ्यो याफेमले ।" होटेलको कामदारले ट्याक्सीमा सामान राखिदिदै भन्यो । जवाफमा सुरज मुसुक्क मुस्कुराउदै ५० रुपैया उस्को सर्टको अगाडिको खल्तिमा हालिदियो । ट्याक्सी हुइंकियो बसपार्क तिर ।

उ बसपार्क पुग्यो, मानिसहरु चिसोबाट छेल्लिदै बिहानको चिया पिउदै थिए, १० बज्न लागेको थ्यो । एउटा केटो "भैरहवा बुटवल" भन्दै उस्को झोला तान्न आइपुग्यो । उस्ले झट्कार्यो झोला र पोखराको माइक्रो रोकिएको ठाउतिर गयो । एउटा माइक्रोको अगाडिको सिट खाली रैछ झ्यालतिरको, उस्ले पैसा तिर्यो टिकेट लियो, गाडी नम्बर हेरेर खलासी भाईलाई झोला राखिदिन अह्राउदै पानीबाट बच्न गाडीमा पसिहाल्यो ।
*************************************************************************
"हेल्लो! हेल्लो! कस्तो नसुन्ने के?" उ तर्स्यो, एउटा महिला छाता ओढेर उस्लाई उठाउन खोज्दै थिइन्, राती टेनिस हेरेर बसेको अहिले निस्क्यो, उ गाडीमा बस्ने बित्तिकै निदाएछ ।
"के भो?" उस्ले झर्केर सोध्यो टाउको नउठाइ ।
"मेरो सिट हो के यो छोड्नु न, म भिजिसकें पानीले।" उस्ले माथि तिर हेर्यो, सलले मुख ढाकेर छाता ओढेकी केटी उ तिर हेर्दै थिइन् । "यो मेरो सिट हो, टिकेट हेर्नुहुन्छ?" उस्ले भन्यो ।
"मेरो हो के प्लिज ल, म भनी वरी आको हो त नि, मलाई भोमिट हुन्छ के ।" तिन्ले पुराण सुरु गरिन्, उस्ले झर्को मान्दै ड्राइभर तिर सरिदियो ।
गाडी बिस्तारै थानकोट तिर घिस्रियो ।

गाडी जोल्टिङमा परेर घच्याक्क भएपछी उ फेरी बिउँझियो, हेरेको मलेखु पुगेको रेछ । पानी सिम सिम गर्दै थियो । गाडीमा दन्केर "मैले त्यही भएर मन पराको" भन्ने गीत बज्दै थियो । उस्ले छेउमा बस्ने केटीलाई हेर्यो, तिनी बाफले ढाकेको सिसा औंलाले पुछ्दै बाहिर हेर्ने प्रयास गर्दै थिइन् । उस्ले फेरी सुत्न टाउको अड्यायो सिटमा ।
केटी ड्राइभरतिर फर्केर भनिन्, "कती नेपाली फिल्मको गीत बजाको? हिन्दी छैन दाई?" पहिला उस्ले ध्यान दिएन तर गालाको कोठी चिनेको जस्तो लाग्यो । उस्को निद्रा भङ्ग भयो, "कतै यिनी एन्जिला त होइनन्?" उ झसङ्ग भयो । उनी फेरी झ्यालतिरै फर्किन्, "अब अगाडि गएर हेर्न नि मिलेन, बोलाउँ अर्कै पर्‍यो भने कार्टुन् भैन्च्" उस्ले सोच्यो ।
कसरी कन्फर्म गर्ने त भन्ने सोचेर उस्ले पाँच मिनेट बितायो । केही नलागेपछी उस्ले ड्राइभरतिर फर्केर भन्यो,"दाइ, साइड लाइदिनुन ।" भनेर उस्ले पिसाब आएको संकेत गर्‍यो । ड्राइभरले दुई मिनेट पछी गाडी साइड लगायो । उस्ले ओर्लिनको लागि ढोका खोल्यो ।
उस्ले ऐनामा देख्यो, ती महिला एन्जिला नै थिइन् । उ ओर्लियो, गयो र फर्केर आयो । पिसाब लागेकै थिएन कहाँबाट आउनु ? फर्कियो र पानीबाट बच्न फेरी गाडीमा उक्ल्यो । एन्जिला अझै झ्यालको बाफमा केही लेख्ने कोशीश गर्दै थिइन् । गाडी गूड्यो ।
त्यसपछीका आधा घण्टा उस्ले कसरी कुरा शुरु गर्ने भन्ने सोचेर बितायो । सिधै बोलाउँदा केही भन्ने हुन् कि । "टेन्सन भो त यार ।" उस्ले सोच्यो । उस्का आँखामा कलेजका दिन आए ।

शंकरदेब क्याम्पसमा BBS पढ्न भर्ना भएको पहिलो दिन नै साथीको बाइक चलाएर जाँदा एन्जिलालाई हिलो छेपिदिएको थियो, खसिबजार् अगाडि । मंसीर महिना भए पनि त्यो दिन पानी पर्दै थियो, भिज्नबाट बच्न दुबै हतारमा थिए, उन्ले उस्लाई गाली गरिन्, उस्ले फिस्स दाँत देखायो, र बाइक हुँइकाएको थ्यो । पछी कलेजमा तिनी पनि संगै एउटै क्लासमा पो परीन् ।
एन्जिलासँग BBS पढुन्जेल राम्रो भएन । उस्ले कती प्रयास गर्‍यो, केही गरे उनी टसमस भैनन् । उस्ले सरीको कार्ड समेत् पठाएको रेस्पोन्स नै आएन । पछी उनी पढाई छोडेर UK को भिसा छरपस्ट भएका बेला त्यता छिरिन् भन्ने सुनियो । उस्ले पनि BBS third Year मै छोडेर जापान पस्यो ।
तर उस्लाई त्यो झरीमा एन्जिलालाई हिलो हालिदिएपछी उन्को रिसाएको अनुहार झल्झली याद आउथ्यो । उस्ले फेस्बुकमा खोज्ने प्रयास गर्‍यो, भेटीइनन् । खै कता हराइन् ।
अब चाँही अत्ती भो भनेर उस्ले बोल्ने बिचार गर्‍यो एन्जिलासँग । "धेरै भए माफि मागुम्ला, या पिट्लिन् । भागने त ठाउँ छैन क्यारे ।" उस्ले सोच्यो र झ्यालमा अडेस लागेर निदाउन लागेकी एन्जिलालाई आफुतिर फर्काउनको लागि तान्न खोज्यो । "खोइ त भेटिन्नन त, अघी भर्खरसम्म संगै थिइन् त ।" सोच्दै हात घुमायो उस्ले ।
हात ढोका खोल्ने स्विचमा लागेर दुखेपछी उ झल्याँस्स भयो । यसो हेरेको गाडी खाली भैसकेको थियो, उ ओर्ल्यो, गाडी त पोखरा बसपार्क पुगिसकेछ । पानी रहेर घाम लागिसकेको थियो । एउटा मान्छे मुस्काँउदै उ नजिक आएर भन्यो :" बाटो भरी तपाईंले मलाई तानेर बिजोक पार्नु भो, कस्तो सारो निदाको ?"
सुरजले आङ तान्दै "सरी, हिजो राती अलिक बढी भएछ ।" भन्यो ।

सुरज बसपार्कबाट बाहिर निस्क्यो, माछापुच्छ्रे उस्लाई हेरेर हाँस्दै थियो, सडकमा उही खसिबजारको झैँ हिलो जमिराखेको थियो, उ  त्यो झरी र यो झरीलाई संगै सम्झ्यो र मुस्कुरायो, अनी एउटा ट्याक्सीको ड्राइभरलाई भन्यो "लेकसाइड जाने??"

2 comments:

  1. Very nice! I like the ending part. It reminds me majid majidi's movies. Keep good works! Cheers !

    ReplyDelete
  2. Nice as usual.when readers can see the picture in their mind while reading,i guess noone can write better then that,enjoyed reading!

    ReplyDelete

ShareThis