फरक कथा : उकालै उकालो

'उ ला ला उ ला ला
छु ना ना छु ना ना !'
माइक्रोको अघिल्लो सिटमा एकजना अधबैंसे आईमाई मान्छेको काखमा बसिरहेको एउटा ४-५ बर्षको फुच्चे माइक्रोमा बज्दै गरेको गीतमा सकी-नसकी कनेर माथिका दुई लाइन गाउने कोशीस गर्दै थियो । गीतका हिरो हिरोइन गीत गाउदै फुल, आगो के-केमा पुगिसक्दा उ चाँही आफुलाई आउने त्यही दुई लाइन गाएर हल्लिदै थियो । उस्की आमा प्रफुल्लित नजरले उस्लाई हेरेर मुस्काउंदै थिइन्, आमाहरु सन्तानको  खुसीसँग खुसी हुन जान्दछन् र त सन्तानका लागि बढी प्यारा  हुन्छन् । गाडीमा कोचिएर उभिएका अरु मान्छे मक्ख परेर त्यो बालकलाई हेर्दै थिए, उ चाँही आमाको काखमा हल्लिंदै त्यही दुई लाइन गाउँदै थियो ।
यो तस्बिर सपनाको होइन है ! :)
सपनाले झ्याल खोलिन्, चिसो सिरेटो सर्र भित्र छिर्यो, उनको कपाल र घाँटिको सल उडाउने प्रयास पनि गर्‍यो । उन्का आँखाबाट नजानिदो पाराले एउटा आँसुको थोपा झर्यो र कतै बिलायो, "कसैले देखेन होला!" उन्ले सोचिन् । त्यो फुच्चे अझै त्यही दुई लाइनमा थियो, उन्ले आफ्नो छोरा सम्झिन्,त्यो पनि यसैगरी कतै चल्दै होला, सडकतिर पो निस्कियो कि ? गाडी या बाइकले हान्देला भन्ने पो पीर छ त यता ! भोकायो होला, उस्का बाउले उठेर केही दिन सक्दैनन्, वाल्ल परेर अरुले खाको हेर्दो हो । उनलाई गाडी अलिक छिटो कुदीदिए हुन्थ्यो जस्तो लाग्न थाल्यो ।
ड्राइभरलाई मतलब थिएन, उ सडकको अर्को साइडबाट कलेज् गएर फर्किदै गरेका स्कर्टवाला केटीहरुलाई हेरेर "जाने हो?" भन्दै थियो ।

{यिनी हुन् मेरो कथाकी पात्र सपना, सपना काठमान्डौको किर्तिपुरमा बस्न थालेको चार बर्ष भयो । यिन्को कथा कुनै सिनेमाको भन्दा नाटकीय छ । एउटा तीन तले घरको छिंडीमा यिनिहरुको कोठा छ । कोठामा एउटा खाट छ, पुरानो स्टिलको दराज छ (जुन खोल्न खोज्दा यती जोडले बज्छ मानौं प्लेनको इन्जिन स्टार्ट गरिएको होस्, सानो किचेन र्याक छ । त्यसबाहेक कोठामा दुई थान जिबित प्रानीहरु छन्, एउटा उन्को चार बर्षको (सौताको)छोरा दिपु र ६ महिना अगाडि मोटरसाइकल दुर्घटनामा परेर प्यारालाइसिस् भएका श्रीमान् । तनहुँको भिमादतिर यिन्को घर अझ भनम् माइती हो, जहाँ ११मा पढ्दा पढ्दै यिनी आफुलाई Account पढाउने सरसँग भागेर विवाह गरेकी हुन् । ति सर पहिलेनै विवाहित थिए, तैपनी उन्ले सम्झाउँदा सम्झाउँदै यिनी बिहा गरेर आइन् । श्रीमानले दोश्रो विवाह गरेको थाहा पाएपछी उन्को श्रीमानकी पहिली श्रीमतीले आत्महत्या गरिन् र उन्को छोरा यिन्को जिम्मामा आइलगेको छ । यिनलाई परिचय आँफै देउ भन्दा मानिनन्, त्यही भएर मैले बिचमा जान्ने भएर बोलेको । यिन्लाई बोल्ने फुर्सद छैन सोच्न दिउँ, हामी साइड लागौ होला । }

उन्ले शुरुमा काठमान्डौ आउँदा सबै राम्रै थियो, श्रीमानले बिहान प्लस टुमा र दिउँसो बोर्डिङमा पढाउँथे, खानलाउन पुगेकै थियो । दुई चार दिन त खासै केही भएन, त्यसपछी त उन्लाई घरको साह्रै याद आउन थाल्यो, बुवा आमा सानो भाई । पहिले त आँटनै भएन एक हप्ता जती पछी घरमा फोन गरेको बुबाले फोन उठाउनुभएन । उनले सयौं पटक कोशीश गरिन्, फोन अहँ उठ्दैन । त्यसपछी बिरक्तिएर उन्ले एउटा फाइनान्स कम्पनिमा जागिर खान थालेकि हुन् । जोडी यस्तो मिलेको थ्यो कि (उमेर अलिक मात्रै फरक हो नत्र त!?) सबैले डाह गर्ने किसिमको । उस्का आँखा सपनालाई अत्ती मन पर्ने, हेरिरहुँ जस्ता । कती रात उनिहरुले एक अर्कालाई हेरेरै काटेका छन् ।

बिस्तारै यस्तो भो, उस्ले आफ्नो घर बिर्सियो, यिन्ले आफ्नो माइती बिर्सीइन्, र दुबै शहरको रमझममा हराए ।

यिन्का हाँसो मुस्कान तब सकिए, जब यिन्की जेठानी (श्रीमानकी जेठि स्वास्नि)ले आत्महत्या गरिन् । जेठिका माइती पक्षले सपना सहितले मारेको हो भनेर पुलिसमा उजुर गरे । प्रहरीले अनुसन्धान भनेर चार दिन थुनेपछी यिनी श्रीमान श्रीमतीलाई रिहा गर्‍यो । र काठमान्डु आएपछी त्यस्को पर्सीपल्ट श्रीमानको बाइक दुर्घटना भयो, ज्यान त जोगियो लगातार एक महिनाको उपचारले, तर उन्लाई पक्षघात भएकोले हिंड्न बोल्न नसक्ने डाक्टरले घोषणा गरे ।

त्यसबेलादेखी यिनी अघोषित रुपमा यस् (घर??) को मुली हुन्, सबै गर्जो टार्ने जिम्मा यिनकै हो । कमाएको पैसाले उपचार गर्दा र एक दुई महिना खाँदा बस्दा सकियो । बालकृष्ण समले कबिता लेखी लेखी दु:ख यिनकै लागि माग्देको जस्तो भाको छ यिन्लाई । माइतीले वास्ता नगर्ने, घरमा सासु ससुराबाहेक कोही छैन, त्यसमाथि नाबालक छोरो थपियो, बुढा ओछ्यान परे । अघिको आँसु त्यही त्यही कुराको प्रमाण हो क्यारे ।

ला, म पो बोलेको बोलेकै भएछु, म यस्तै छु, यिन्ले के सोच्दैछिन्, हेरौं एकपटक । हामी चढेको माइक्रो बल्खु आइपुग्याछ । खलाँसी भाई खुट्टा सिधा, टाउको सिधा भनेर मान्छे कोच्न ब्यस्त छ ।

उनी काममा गएर आएकी हुन्, नढाँटी भन्दा उनी ठमेलमा मसाजमा काम गर्छिन्, म त्यता हुँदी अहिलेसम्म नगाको हुँदा त्यता के गर्छिन् मलाई थाहा छैन । पैसा राम्रै कमाउछिन्, पुर्याएकी छिन् भनम न ।

धत्तेरी ! म अत्ती बोलें । अब तलको उन्को सोचाइ हो (आखिर कथा त मेरो हो नि त)! :)

उन्ले ओछ्यानमा पल्टिएर सिलिङ हेरिरहने ती निर्जीब आँखा सम्झिन्, कुनै समय ति आँखा बोल्थे, अहिले ती निर्जीब छन् माड्सापको जिउ जस्तै । ती कुनै बेला रसाउँछन्, तर केही बोल्दैनन्, धेरैपटक कामबाट फर्किंदा उन्ले आँशुको टाटो गालाभरी देखेकी छिन् । उन्लाई भक्कानिएर रुन मन लाग्छ, सारा संसार बिर्सेंर । तर मैं रोएं भने यिन्को के हाल होला भनेर सकेसम्म आँसु लुकाउछिन् । बिहान सबैथोक बनाएर राखिदेर काममा जानु र साँझ फर्किनु अनी फेरी सबैथोक गर्नु यिन्को जिन्दगी हो । उन्का श्रीमान केही भन्न सक्दैनन्, केही खुवाइदिए बल गरेर निल्छन्, सुकेर सानो भाका छन् । औषधीका भरमा बाँचेका छन् बरा । सपनालाई बेला बेला बिरक्ता लाग्छ जिन्दगीसँग । कम्तिमा यिन्ले के सोच्छन् भन्ने थाहा पाउन पाए पनि हुने । उनी बोल्दैनन्,जम्मा अली अली चल्ने एउटा हातले ईशारा गर्छन्, र पुरानै निर्जिब आसन ।
यिन्लाई अरु कुनै काम गर्न मन थ्यो, अहिलेको काम भन्दा तर ती सानातिना जागिरले धान्न नसकिने । जागिर खाएर श्रीमानको औषधी पनि नपुग्ने भएपछी अहिलेको काममा लागेको हुन् । आफ्नो काम र जिन्दगीसँग उन्लाई खासै गुनासो छैन । एउटै डर छ, श्रीमानले थाहा पाए भने के सोच्लान्, बिचरा उठेर अरु श्रीमानले जस्तो लात्तैलात्ताले भकुर्न पनि त नसक्लान् । उनलाई बेलाबेला पक्रन आउने पुलिस, यातना दिने ग्राहक, दु:ख दिने साउनी सँग गुनासो छैन । गुनासो छ त ती आँखा सँग जो अब बोल्दैनन्, मुस्कुराउँदैनन्, यस्तो लाग्छ ती चेतनाशुन्य छन् ।

सानो छोराको "आमा" शब्दको लागि उन्ले के गरिनन् जिन्दगीमा ? संसारमा प्यारो सजिब चीज त्यत्ती छ उन्को लागि ।

सोच्दै उनी कोठामा पुगिन्, ढोका खुल्लै थियो । छोरा भुइँमा उत्तानो परेर सुतिराखेको थियो, पल्लो कोठाकी दिदीले उस्लाई खान दिएको थाल उल्टो घोप्टिएको थियो, शायद गुडायो होला । श्रीमान कुनापट्टी फर्काएर सुताएको बिहान, त्यतै फर्किएका रहेछन् । उन्ले छोरा उठाएर बाउको छेउमा पल्टाइन्, भुइँको जुठो पुछिन्, कोठा बढारीन् र हात पुछेर श्रीमानलाई उठाउन गइन् ।
दुई तीन पटक सम्म पनि बोलेनन्, फेरी बोलेनन् । उन्ले छेउतिर फर्काइन् शरीर । आँखा त सधैं झै निर्जीब नै थिए, ईशारा गर्ने हात समेत चिसा र कडा थिए । उन्ले झकझक्याइन, हल्लाइन्, उत्तर आएन । आँसुको टाटो जोडले कट्कटिएको थियो । फेरी बोलाइन् । उत्तर आउने छाँट देखिएन ।

उन्लाई रुन पनि आएन, बेहोस् पनि भइनन् । यसो सोचिन् एकैछिन्, ब्याग बोकिन्, लुगा मिलाइन्, छोरो उठाइन् र फुत्त बाहिर निस्किन् । छोरो अझै अर्धनिद्रामा थियो र बर्बराउँदै थियो :
"धिङ्का चिका धिङ्का चिका ए ए ए ए ए    "

6 comments:

  1. उत्कृष्ट प्रस्तुती। यो पटकको शैली मन पर्‌यो। के कम र स्थापितहरु को भन्दा। मैले अपेक्क्षा गरे जस्तै

    ReplyDelete
  2. गुरु यो पटक सुत्राधारलाई पनि कथामा हुलेको ! नयाँ शैली ! धेरैले शायद बुझेनन्, तर This is my best according to me! :))

    ReplyDelete
  3. जी ! तपाईंको रचना शायद पहिलोपटक पढेँ तर राम्रो छोइएँ। कथा भनेकै यिनै न हुन् जो हाम्रै वरिपरी भइराखेका, घटिराखेका घटना, सन्दर्भ र अवस्थाको प्रस्तुती। यत्ती न हो त्यसमा सघन कथानकको छनोट,पात्रहरुको सबल र सार्थक उपस्थिती,शिल्शिलाबद्दता र स्वाभाबिकता ल्याउनु। दिन खोजेको सन्देश या वर्णित अवस्थामा कलाको लाली पोत्नु जसमा प्राकृतिकपन मर्न नपाओस्! हो यि सबै कोणबाट अब्बल एक शानदार प्रस्तुतिको लागि यहाँलाई धन्यवाद भनेँ।

    ReplyDelete
  4. शैली मन छुने खाले छ.... कथा चैं अलि कम लाग्यो... सायद छोटो भयो की.. तर सपनाको जीवनमा सुनाउन लायक बाँकी कुरा अर्को प्लटका लागि साँचेर राखेको जस्तो छ.... पढ्न पाइयो... भोलि भेट्न पाइयो भने थप कमेन्ट गरुँला है...

    ReplyDelete
  5. Excellent! (btw, सपनाको फोटो हैन भने, फोटो अरुको राखेको हो भने केही ब्लर गरौँ है !)

    ReplyDelete
  6. sapanako katha padhda dukha lagyo.... katha bhanera typical katha jasto nabhaye ni satya ghatanamaa adharit raicha... man paryo..

    ReplyDelete

ShareThis