सपनाका कुरा


"दाइ यो मोबाइल पनि नोकियाकै हो?"
आज म कोटेश्वरबाट टेम्पोमा चढेपछी आफ्नो iPhone निकालेर टुइटर चलाऊन शुरु गर्दै थें, टुइटर चलिराको थेन । NTC को 3G सर्भिसलाई सराप्दै Refresh गर्दैथें । संगै बसेका एकजना कालोबर्णका तराइमुलका साथीले सोधेका रेछन् । मैले जवाफ फर्काए "होइन, यस्लाई आइफोन भन्छन्, एप्पल कम्पनीको हो, एप्पल भन्ने नोकिया जस्तै अर्को कम्पनी हो मोबाइल बनाउने।"
"महङ्गो पर्छ होला है?" उनको जिज्ञासा थामिएन । मलाई उत्तर दिन झ्याउ लागिराथ्यो । तैपनी भनें, "खोइ मलाई चाँही बिदेशबाट साथीले पठाइदेको, मुल्य थाहा त छैन, महङ्गै हुन्छ रे । तर यस्लाई जत्तिकै पैसा पर्ने नोकिया पनि पाईन्छन् बजारमा ।" मैले जानेको जती भनें, मेरो आसय उस्ले अरु प्रश्न नसोधोस् भन्ने थियो ।
"म पनि बिदेश जान लागेको । म जाने ठाउँमा पाइएला कि नपाइला?" तिन्ले फेरी प्रश्न तेर्साए ।
"तपाइं कुन देश जान लाग्नुभा र? पाइएला नि पैसा भए त ।" मेरो प्रश्नको उत्तरमा उस्ले हातमा रहेको प्लास्टिकको थैलोबाट एउटा फोटोकपी गरिएको कागज निकाल्यो र म तिर तेर्स्यायो । यसो हेरेको कतारतिरको कुनै कन्स्ट्रक्सन कम्पनी थियो, मैले खासै याद गर्ने कोशीश पनि गरिन । काम दिनको छ घण्टा, हप्तामा छ दिन गर्नुपर्ने भन्ने थियो, तलब चाँही ८५० कुन्नी के थियो ।
"तपाइ यो ठाउँ जानुभाको छ?" मलाई झसङ्ग पार्नेगरी सोध्यो उस्ले । के को बिदेश गैन्छ, भारत र चिनको खास्सालाई बिदेश नमान्ने हो भने कहाँ गइेको छ र ? मैले भनें "छैन ।"
"ओहो! बिदेश नगै तपाईं सँग यस्तो फोन छ है?" उस्ले थप सोधीखोजी गर्न थाल्यो । "मलाई साथीले पठाइदेको हो के, उ बिदेश गाको छ नि त ।" मैले उस्कै भाषामा उत्तर दिए । वरीपरीका मान्छेहरु हाम्रो कुरा रमाइलो मान्दै सुनिरहेका थिए ।

"मेरो पनि दुईवटा छोरा छन्", उस्ले बाहिर स्कुल जान हिंडेका केटाकेटिलाई हेर्दै भन्यो । "एउटा चार बर्षको र एउटा एक बर्षको । तिनिहरुलाई गौर बजारमा खुलेको बोर्डिङमा इङलिश पढाउनु छ । त्यसैको लागि त जाँदैछु ।"
"ए !" मैले भनें ।
"तपाइका कतीवटा छोराछोरी छन्?" उस्ले सोध्यो । अब आफ्नो बिहाकै ठेगान छैन, मुला छोराछोरी सोध्छ, भन्ने बिचार गर्दै मैले भनें, "मेरो बिहा भाको छैन ।"
"त्यहाँ गएसी केटीमान्छेलाई त हेर्नै हुँदैन रे हो? झुक्किएर हेरियो भने के हुन्छ?" उस्ले सोध्यो । "खोइ म गाको छैन, अलिक कडा हुन्छन् रे उताका मान्छे, महिलाहरु बुर्काले छोपिएर हिड्छन रे भन्ने सुनेको ।" मैले जानेजती अर्थ्याएँ । यो भन्दा बढी मलाई के पत्तो ?
"मेरो गाउँकै मामाको छोरोले पठाइदिन लागेको मलाई । सजिलो काममा पार्दिन्छु भनेको छ । खान बस्न फ्री हो रे । अरुसँग त दुई लाख लिन्छ रे, मलाई चाँही एकलाख दस हजारमै मिलाइदियो। रिण लिएको पैसा तिर्न कती समय लाग्ला है?" उस्ले मलाई सोध्यो, मसँग उत्तर थिएन, "तपाइको मामाको छोरो ठुलै मान्छे रेछ जस्तो छ, भोलीपर्सी मेरो बिहापछी म बिदेश आउँदा तपाईंको माम्को छोरोलाई मिलाइदे भन्नुपर्ला।" मैले कुरा बदल्न अनाबस्यक ठट्टा गरें ।
"भैहाल्छ नि ।" कुपोन्डोल आइपुगेकोले उ टेम्पोबाट उत्रियो र भन्यो, "यही भित्र हो उस्को अफिस ।"
उ गएपछी मैले सोचें, के थाहा यस्लाई बिदेशको दु:ख, के थाहा यस्लाई ती पीडा । नेपालमै बसेर एउटाले सजिलो काम पार्दिन्छु भन्दा यि मान्छे पत्त्याउँछन्, वहाँ गएपछी सजिलै पैसा कमाइन्छ भनेजसो गरी । यि दाजु जस्तै सोझा हजारौं नेपाली आफ्नो लागि र आफ्ना परेवार तथा सन्तानकालागी भनेर बिदेसिन्छन्, ठुला ठुला सपना बोकेर । आफ्नो कलकलाउँदो उमेर उतै सकेर फर्केलान शायद । यि मान्छेलाई देशमै केही गर्न दिन सक्ने हो भने त नजाँदा हुन् नि आफ्नो परीवार छोडेर । तर कसैलाई यस्ता मान्छेहरुको बारेमा सोच्ने फुर्सद छैन, बाबुराम केही लडाकुलाई जर्नेल बनाउने दौडधुपमा छन्, प्रचन्ड नयाँ घर सिङ्गार्दै होलान्, रामचन्द्र पौडेल पचासौं पटकसम्म कसरी प्रधानमन्त्रीमा हारिरहने भन्ने प्लान बनाउदै होलान्, झलनाथ कता गएर बुरुक्क उफ्रेर सरकारको अबधी सकियो भनौला भनेर कपाल कोर्दै होलान्, ओलीबा नयाँ उखान तुक्का खोज्दा हुन्, देउबा म भए यसो गर्दिन्थें भनेर गफ दिने तयारीमा होलान्, मधेसबादी दलका नेता मधेस मुद्दा भनेर यही दाजु जस्ताका नाम बेच्ने तयारीमा होलान्, कर्मचारीहरु नेताले देश सके भन्दै आफ्नो ग्रेड, बढुवा, सरुवा लगायतमा ब्यस्त होलान्, र योजना आयोग गरीबी यती प्रतिसतले घट्यो भन्ने रिपोर्ट बनाउदै होला । समग्रमा सबै "बिजी" छन्, यि दाजु जस्तैगरी अनाहकमा बिदेशिने र दु:ख पाउनेका बारेमा सोच्ने फुर्सद कसैलाई छैन ।
म हरिहरभवनमा झर्ने बेला मेरो छेउमा बसेका दुई केटा केटी आफ्ना-आफ्ना बाउलाई सराप्दै थे । केटीलाई बाउले राती ढिलो घर आइस् भनेर गाली गरेको चित्त बुझेको थेन, केटोलाई नम्बर ल्याएन भनेर गाली गरेकोमा । मैले ओर्लेपछी सोचें, "यिनेरुका बाउहरुपनी ती अघिका दाजुजस्तै यिन्लाई हुर्काउने बेला कतै कमाउन कुदेका थे होलान्, तिन्ले आफ्ना दिनरात दु:ख गरेर यिन्लाई पढेर यत्तिको बन्ने बनाए होलान् । भोली ति दाजुका छोरा पनि ठुला भएर आफ्ना बाउलाई यसैगरी सराप्दाहुन्, हाम्रो बाउलाई केही आउँदैन भन्दै । देश यस्तै छ, केही जान्ने केही बुझ्ने बेलामा उनिहरुलाई हुर्काउन त्यसरी दौडेको कस्ले भन्दिनु? यो सपना र त्यो सपनाको बिचको अन्तर कस्ले सम्झाउनु?"
धेरै सोचेर काम छैन, अफिसमा छ्ड्केमा पर्ने डरले झोला बोकेर टाप ठोकें त्यस्पछी ! :) 

6 comments:

  1. यो कथाले कस्तो मन छोयो । आँखा पो भरिएर आए शायद आफैले बाआमाको सपना बुझ्न नसकेर हो कि ! तर काम गरिसकेपछि बल्ल पश्चाताप लाग्ने रहेछ । तब न फर्केर जाने बाटो हुन्छ न अघि बढ्ने गन्तव्य ।

    ReplyDelete
  2. Kati mitho lekhnu hudo rahechha....kattai kehi dharra napari, kasto salalalla bage jasto lekh. Jhan puchar ko haraf le sacchi manai bhari banayo...well done.....

    ReplyDelete
  3. again a brilliant one, tara tapaiko ending chai ekdam chito bhayo k..suruma jhyau lagyo (coz i hate reading), bistarai ramailo lagne belama jhyappa sakaidine, bhayena ni :D

    ReplyDelete

ShareThis