कथा: समयक्रम

"दाइ सरो छैन, ब्यान ब्यानै हजारको नोठ कहाँबाट हुन्छ हामीसँग?" पसलेले यसरी झर्केर उत्तर दियो मानौ यो देशमा हजारको नोठ लिएर हिंड्नु पाप हो ।
"होला, हेर्नुस् न । मसँग पनि छैन, अब एउटा कुनो च्यातेर दिम, कि तपाईंको भाँडा माझ्न बसुम कि खाएको च्या उल्टी गर्दिम त?" उस्ले झन झर्केर जवाफ फर्कायो । "ब्यान ब्यान टेन्सन भाको बेला!" उस्ले थप्यो । पसलेलाई असर् परेछ क्यार, इस्टकोटको भित्री गोजिमा हात हालेर एउटा प्लास्टिकमा राखेको पैसा खोतलेर निकाल्न थाल्यो ।
हिजो साँझदेखी उस्लाई एकदम बेचैनी भैरहेको छ, सदाझै ड्युटिमा क्यासिनो जाने बेला दरबारमार्गमा उनी कसैको बाइकको पछाडि बसेर जादै थिइन, उ आफ्नो बाइक पुलिस चौकी अगाडि बाट यु टर्न गर्न लाग्दा उनी बसेको बाइक नक्साल तिर गयो हुइकेर । उस्ले केही भन्न पनि भ्याएन, गएर ड्युटी जोइन गर्‍यो, अनी कौचमा बसेर चुरोट सल्कायो ।
"को होला त त्यो? भाई त पक्कै होइन, किनकी उन्का सबै भाईहरुलाई म चिन्छु, त्यस्तो अग्लो त कोही थिएन । उस्का साथीहरु पनि कोही थिएनन त त्यस्ता ।" पुरा ड्युटी अबधीभर उ तनाबमा थियो, सदाझै उस्ले क्यासिनोमा जुवा खेल्न आएर हार्नेलाई महङ्गो ब्याजमा रिन मिलाउने काम पनि गरेन, कसैलाई धकेलेर निकाल्न पनि परेन । खाली सोची मात्रै रह्यो, आखिर कस्को बाइकमा गइन त उनी । राती बाह्र बजेतिर क्यासिनोबाट घर जान भनेर निस्केको घर जान मन नलागेपछी ठमेल निस्कियो । त्यहाँ "स्ट्रीट क्याफे"मा दुई-चार पेग पिएर दुई तीन घण्टा बितायो त्यस्पछी लैन्चौरको चौरमा सडक बालक हरुको टोलिसङ्ग आगो तापेर रात कटाइ यहाँ चिया पसले सँग बाझ्न आइपुगेको थ्यो ।
पसलेले दस मिनेट लगाएर हिट्लरका पालादेखिका जस्ता देखिने कच्याककुचुक परेका पैसा तेर्सायो पान परागले नीला भएका दाँत फिस्स देखाउदै, उस्ले झटपट लियो र बाइक स्टार्ट गरेर घर हानियो ।

उनीहरुको भेट पार्टिमा काम गर्ने सिलसिलामा भएको थ्यो । आफ्नो दाजु खेतमा काम गर्दा गर्दै गोली खाएर मारिएपछी पार्टिमा लागेको थियो उ । पर्बतको कुनै एउटा गाउमा जनसरकार घोषणा कार्यक्रममा उस्ले उनिलाई देखेको । उनी त्यहाँ साँस्कृतिक टोलीमा थिइन् । उस्लाई उनी देख्ने बित्तिकै मन परेकी थिइन्, पातली पातली, नाकको देब्रेपट्टी सानो कोठी, उ त त्यहीं लट्ठ भो । जसो तसो ध्यान हटाएर उ अर्कोतिर लागेको थ्यो । उस्को जिम्मामा खाजा नास्ता र पानी ब्यबस्था गर्ने काम परेकाले उ त्यतै लागिरह्यो । पछी दिनभरको कामको चापले थाकेको बेला उ यस्सो कुर्सिमा बस्ना आँटेको कमान्डर ले आदेश ठोके "काम्रेडहरु, हामीलाई खुर्कोट पुग्नुछ,आराम त्यतै गरौला!"
"त्यस्का बाजे, उस्लाई गर्न परे पो थाहा हुन्छ ।" उस्ले मनमनै सोच्यो । "हुन्छ काम्रेड। तर मैले आँफैले खाजा खान भ्याइन नि त ।" उस्ले दिक्क मान्दै जवाफ दियो ।
"मेरो झोलामा दालमोठ चिउरा बचेँका छन, त्यही बाँडौला नि। यहाँबाट चार बजेसम्म हिंडीसक्नु भन्ने आदेस छ ।"
उस्ले भाँडा कुँडा जिम्मा लगायो जहाँबाट ल्याको हो, र अनी झोला उठायो । "झोला पनि छिन्नै पो लागेछ त है, यो झोलामा ग्रेनेड बोकेर हिंड्नुमात्रै हो, झोला च्यात्ने मेसो । पड्काउन कहिले आदेस दिन्नन, कुन दिन पड्केर आँफै मरिन्छ ।" उस्ले ठट्टा गर्‍यो, हिंड्न तयार भएका मैला अनुहार हलल्ल हाँसे ।
कमान्डरसँग ति अघिकै साथी आउन लागेको देखेर उस्लाई त सपना जस्तै लाग्यो । उस्ले आँखा मिच्दै हेर्यो, होइन उही छे त । उस्ले हातमा बचेँको दालमोठको पीरो नुन आँखामा दल्यो, होइन साँच्चै पो आउँदै छिन् त । उस्को मुटु जोडले उफ्रिन थाल्यो, उस्ले आँखा अन्तै घुमाउन खोज्यो, तिन्ले मरे माने पो । एकटकले हेरिराख्यो नजिक नआउन्जेल, अनी जबर्जस्ती हातको लट्ठीले भुइमा हँसिया हथौडाको चित्र बनाउन थाल्यो ।
कमान्डरले उस्लाई भन्यो, "उहाँहरु हाम्रो साँस्कृतिककम्पनी को दुईजनालाई देउराली गाबीस सम्म छोड्नु पर्ने भो । तपाईं उहाँहरुसङ्गै रहनु होला । म भोलीमात्रै आउने भएं । है त ।"
"हस कम्रेड ।" उस्ले जवाफ फर्कायो नर्भस भएर । उस्का ओठतालु सुकेका थे ।

लगातार तीन घण्टा हिड्दा पनि बोल्न सकेको भए मार्दिनु । उ चुपचाप हिंडिराखेको थ्यो, झिसमिसे साँझ पर्न लागेको । उनी उस्को छेउतिर नबोली हिंडिराखेकी थिइन । पछाडि आउँदै गरेका साथीहरु रुसी जनक्रान्ती शिर्षकमा चिच्याइ चिच्याइ बहस गर्दै थे, हिजो तिर भाको भए उ अघी त्यो भन्दा ठुलो स्वरले कराउदै हुन्थ्यो । आज उस्लाई मन नै लागेन ।
तीन घण्टाको हिंडाइमा उस्ले निकै पटक उनलाई बोलाउने कोशीष गर्‍यो, स्वर मरिगए निस्केन । के भनेर बोलाउनु । किन चुप लागेको भनेर सोधुम भने "बोले नि नबोलेनी तपाईंलाई के खाँचो?" उत्तर आयो भने त सकियो । फेरी के भन्नु नाम थाहा छैन । मन परेकी छन, बहिनी के भन्नु ? काम्रेड भनेर त्यस्ता कुरा कसरी निकाल्नु ? हरेशिव आपत !
त्यत्तिकैमा एउटा अलिक अग्लो कान्लो उक्लिनु पर्ने भयो, उस्ले उन्लाई तान्दिनुपर्‍यो भन्ने सोच्यो, कसैले केही भन्ने हो कि भनेर धकायो, अनी हात अगाडि बढाउन खोज्दै थ्यो, एउटा शिव नामको साथीले जुरुक्क तान्दियो । उ मनमनै मुर्मुरियो "हेर न किन यल्लाई जान्ने हुन परेको त नि । कत्तिन !"
उनी मुसुक्क हाँसेर मास्तिर गइन, उ झसङ्ग भयो, होइन थाहा पाइछन कि के हो >? उनी हाँस्दा उस्लाई लडौला झै भो त्यही कान्लोबाट । होइन कती राम्री हो, त्यो अलिकती माथि उठेको दात देखाएर हाँस्दा त हरे, कती राम्री के कुरा गर्नु र ? उस्ले कुनै चिज खोज्यो जो सङ्ग तुलना गर्न सकियोस । त्यत्तिकैमा उस्को साथीले उस्लाई भन्यो "कम्रेडलाई सन्चो छैन कि के हो?"
"होइन ठिकै छ यार, राती निद्रा नपुगेर ।" उस्ले ढाँट्यो । बिहानको चिया बिसोट पछाडिकेही भेटेको छैन, कमान्डर दालमोठ चिउरा दिन्छु भन्थ्यो, आएन । खुर्कोट पुग्दा पुग्दा भोकले मरिनेभो हौ । भन्न् मन थ्यो । उन्को स्कार्फ देखियो माथि, अनी उस्ले भोक फेरी बिर्सियो । र उकालो घिस्रिन थाल्यो ।

चौतारोमा सबै झोला बिसाएर बसेका, उस्ले यसो हेर्यो, उनी उत्तापट्ती छेउमा छिन्, साथीसँग कुनै कुरा गर्दै हाँसिरहेकी । अब छेउमा गएर बसुम भने साथीहर्ले दुई चार महिना उडाउने मेलो पाउछन । फेरी उन्को पनि त कोही आफ्नो छ होला । शिबेको छेउमा गएर झोला बिसायो । शिबे फिस्स हाँस्यो, "किन हाँस्छ मुला आफुलाई दिक्क लागेको बेला, यल्ले पनि थाहा पाएको त होइन।" सोच्दै उस्ले गोल्डस्टार जुत्ता फुकाल्यो, र आफ्नो मोजा हेरेर हाँस्न थाल्यो । हिजो सम्म दुईवटा मात्र थे, आज चार भएछन मोजाका प्वाल ।
उनी उठिन, जिउ तन्काइन र लुगा टकटक्याइन । "लौ हामी यतैबाट लाग्छौ काम्रेडहरु । त्यती पर पुग्नुछ ।" उन्ले भनिन र फेरी हाँसिन । मेरो यहाँ बिजोग भैसक्यो, हाँसिराख न । म मर्दिउँ? उस्ले सोच्यो ।
अरुसँग हात मिलाइन र उसँग हात मिलाउदा एउटा टुक्रो कागजपनी सङ्गै दिइन । उस्ले मुट्ठी जोडले अट्ठ्यायो । के लेखिन होला ? यो शिबेले छोड्दैन त, उस्को अगाडि हेर्नु नि भएन ।
उस्लाई झोला छाडेर उन्का पछी पछी टाप ठोकेर कुदौं जस्तो भो । के गर्नु, क्रान्तिमा लागेको उस्ले सोच्यो ।
उनीहरु उठेर बाटो लागे । शिबेले छोडेको होइन । बर्गिय संघर्ष भनेर कुन्नी के फलाक्दै थियो शिबे, उस्ले सुनेन । "तँ जाँदै गर, म आउछु ।" भनेर उस्ले "शु" आएको ईशारा गर्‍यो ।
शिबे बाटो लाग्ने बित्तिकै उस्ले कागज खोल्यो, पसीनाले गलेको रहेछ कागज । त्यस्मा डिक नदेको अक्षरमा लेखिएको थियो
"त्यती बोल्न नि नसक्ने है तपाईं, यसरी पनि डराउनु हुन्छ त? म खान्थें र ? अर्को महिना फेरी यतै आउने काम छ, आशा छ तपाईंलाई भेट्छु । त्यतीबेला बोल्न सक्ने भएर आउनुहोला है !
-कबिता !"
थुइक्क म । त्यती बोल्न नि सकिन गाँठे । बोलेको भए त हुनेरेछ नि । उस्का आँखा खुशीले नाच्न थाले, उस्ले त्यो कागज जतनसाथ पट्ट्याएर झोलाको भित्री गोजिमा राख्यो र साथीहरुलाई भेट्टाउन कुद्यो ।
{Picture source: http://www.unfpa.org/swp/2010/web/en/ch4.shtml}

6 comments:

  1. going good..but incomplete. you have to complete it

    ReplyDelete
  2. another good work, now u r in row to get a pile of appreciation
    awating next part :)

    ReplyDelete
  3. Nice story bro! Enjoyed reading during my busyatra. :)
    Btw, Your first paragraph reminded my trip to Mrigasthali.. http://goo.gl/guoiK :)

    ReplyDelete
  4. हैन! पहिला गुरिल्ला थे कि के हो?

    ReplyDelete
  5. This comment has been removed by the author.

    ReplyDelete
  6. राम्रो । बाँकी जाँगर लाग्यो भने..भनेर धर छ र? सुरुमा देखिएको घट्नाक्रम त जोड्नु पर्यो नि छिट्टै ।

    ReplyDelete

ShareThis