कथा: समयक्रम २

  सोचाइमा बग्दा बग्दै घर पुगेको पत्तै पाएन उस्ले । छोरो तलै सडकमा ह्स्याङ फस्याङ गरेर एउटा भुस्याहा कुकुरको पछी दगुर्दै थियो । उस्ले "मुला" भन्दै छोरोलाई उठायो, र कोठामा लाग्यो ।
"होमवर्क गरिस? कस्तो फोहोरी त हँ यो?" भित्र भान्छाबाट आमाको जवाफ आयो : "के गर्थ्यो? मलाई त टेर्दै टेर्दैन । धुर्मुसेको डाइलग बोलेर उल्टै हप्काउछ नकराउ भनेर ।"
"त्यस्तो गरेको हो तैले? हिजो के पढिस देखा त ? यत्रो सात-सात बर्षको लाठे भएर ।" छोरालाई हप्काउन खोज्यो, के हप्काउनु ? आफु घरमा भइन्न, हजुरआमालाई यल्ले टेर्दैन ।
छोराले बाहिरी पाना उध्रेको कापी ल्याएर उस्लाई देखायो । "ओहो टेबल पढेर आको ?" छोराले मुन्टो हल्लाएर "अँ" भन्यो ।
"ल भन् त थ्री एट जा कती ?" छोराले औंला भाँचेर 1 देखी 8 सम्म हिसाब गरेर भन्यो 24 । "स्याबास! अब फोर सिक्स जा कती त ?" छोराले फेरी 1 सेखी 6 सम्म औंला भाँचेर भन्यो 24 । "बाफ रे, जान्ने भैछस् त । 8 मा 1 जोडे कती त ?" छोराले औंला भाँचेर जवाफ दियो "1"।
"हरे टेबल कन्ठ गरेछ तर जोड्न बिर्सेंछ यल्ले ।" कलर बक्सको कलर पेन्सिल आठ वटा ठड्याएर देखायो, "ल भन, यो कतिवटा?" छोराले 1 2 गर्दै गनेर भन्यो "8" । उस्ले आफ्नो हातको एउटा औंला ठड्यायो, यो कतिवटा ? छोराले उत्तर दियो "1" । अब यो सबै गरेर जम्मा कतिवटा ? छोराको फेरी उत्तर आयो "1" । "थुइक्क, class 2मा पुग्ने बेला भाको मान्छेको ताल।" भनेर पिट्न खोजेको थियो, उस्का हात रोकिए । त्यसै नि ममी खोइ भनेर उधुम गर्छ, पिट्यो भने झन आपत ।
"जा किचेनमा गएर आमालाई रेडी पार्न भन ।" भनेर बरान्डामा निस्क्यो । चुरोट सल्कायो र फेरी बिगतमा हरायो ।
उनिलाई भेट्न एक महिना कुर्न कती गाह्रो भयो भनेर कसरी व्याख्या गरोस उस्ले, यस् बिचमा उस्का चर्का भाषण र बहस उल्लेख्य घटेका थिए, जाँगर मरेर टोलाउने भएको थ्यो उ । अरुले त पत्तो पाए पाएनन्, शिबेले पक्कै पत्ता पायो होला, छट्टु पो छ त यो । उस्ले त्यो एक महिना सोचेरै बितायो, कहिले भबिष्यको बारेमा, कहिले भेटेर के भन्ने भन्ने बारेमा । सधैं दिमाग खराब !
भेट्न जाने दिन बिरामी भएर हेल्थ पोस्ट जानुपर्ने बहाना बनाएर बिदा माग्यो कमान्डरसँग, कमान्डरले छोडे पो । बल्ल बल्ल कती कोशीष पछी शिबेलाई साथी लिएर जानु भन्ने आदेस भो । "हरेशिव हत्ते! यल्ले म भन्दा पहिला यहाँ हल्ला फिजाउँछ ।" अब नमानी भएन । बाटोमा बिरामीको जस्तो नाटक पनि गर्नै पर्‍यो । शिबे बकेको बकेकै छ चे गुएभाराको बारेमा, उस्को चाँही हावा फुस्केको छ ।
बाटोमा थकाई मार्ने ठाउँमा पुगेपछी उस्ले दिशा लागेको बहाना बनायो, अर्थोक भन्यो भने शिबे सँगै आउँछ, अनी उस्लाई यही बस्दै गर भनेर उ झाडीबाट तल ओर्लेर बत्तियो । अनी एक सासमा कुदेर अस्तिनको चौतारामा उभियो ।
उनी आएर बसिसकेकी रहिछन, उ ट्वाँ पर्‍यो "अब के भन्नु?" उस्लाई वाल्ल परेर उभिएको देखेर उन्ले नै "बस्नुस् न!" भनिन । ५ मिनेट पछी रुन्छे स्वरमा उस्को मुखबाट बोली निस्क्यो "सन्चै?"
दिनभरिको भेटपछी फर्किदा उस्को खुशीको सीमा थिएन, उनिहरुले सबै योजना बनाउन भ्याए, जनबादी बिहेदेखी परिवारसम्मको । उन्लाई बिदा गरेर माथि डाँडामा निस्केसी उस्लाई दुइटा कुरा याद आयो, एउटा बिहानदेखी केही खाको छैन, अर्को शिबेले मार्छ । अचानक उस्लाई पछुतो लाग्यो, थुइक्क, प्रेम प्रस्ताब त मैले पो राख्नुपर्ने । जीबन यस्तै हो, नपरुन्जेल मान्छे उफ्रिन्छ, चिच्याउछ, ठुला कुरा गर्छ, परेपछी थाहा हुन्छ ओठतालु कसरी सुक्छन, दिमागले कसरी काम गर्न छोड्छ र आफुले अरुलाई थेचार्ने उपदेशले कसरी काम गर्न छोड्छन । :)
त्यस्को एकमहिनापछी गुपचुप तरीकाले पार्टीभित्रै जनबादी विवाह गरे, केही साथीहरुको उपस्थितीमा । बिहा जस्तो मात्रै । पहिलो भेट र बिहाको बिचमा दुई पटक जती मात्रै भेट भाको हो उनिहरुको । बिहा भएपछी एक हप्ताजती सङ्गै बस्ने छुट पाएका थे उनीहरुले, त्यस्पछी पार्टीको जिम्मेवारि लिएर उ धादिङ हानियो,उनी त्यतै रहिन । एक बर्षजतीपछी मात्र उस्को भेट उनिसँग भयो, त्यतिखेर अहिलेको छोरो जन्मिसकेको थियो ।

उनिहरुको खास बैबाहिक जीबन पार्टी शहर पसेपछी शुरु भयो किनकी बल्ल त उनिहरुले सङ्गै बस्न पाए । पार्टिको आदेश बमोजिम उस्ले चुनावका लागि उपत्यका आउनु परेकोले उनी र छोरा पनि सँगै शहर पसे । चुनाव सकिएपछी उस्ले युनियनका प्रभाबले क्यासिनोमा बाउन्सरको जागिर पायो, उनी चाँही एउटा फाइभ स्टार होटेलमा ।
शहर पसेपछी उनिहरुको सम्बन्ध पनि शहरीया भो । उ पहिले नपिउने मान्छे "सोसियल ड्रिन्किङ" को नाममा पिएर आउन थाल्यो, उनी "सोसाइटी"मा फिट हुने नाममा पार्लर र पार्टी धाउन थालिन । कहाँ जङ्गल को त्यो धुलोमैलो गोल्डस्टार पार्टी, कहाँ शहरको यो "शीलाकी जवानी" पार्टी । तुलना पनि कसरी हुनु र ?
बिस्तारै उनिहरुको भेट पातलियो । बिहान उ नउठ्दै उनी ड्युटी गैसक्ने, साँझ उनी आउने बेला उ ड्युटी जानुपर्ने, अनी उ फर्केर आउँदा उनी सुतिसक्ने । अझ थप गहिराइ तब आयो जब बल्ल बल्ल बिदा भएका दिनमा पनि उनका हातमा फेसबुक, च्याट र ल्याप्टप झुन्डिन थाले । शहर साह्रै निर्दयी छ, यस्ले मान्छेलाई आध्यात्मिक रुपमा कङ्गाल बनाउछ । मान्छेहरु खुशीको खोजिमा यहाँ ओइरिन्छिन, अनी दु:खै दु:खले यसरी थिचिन्छन कि कुनै दिन झुक्केर सुख आए पनि थाहा नपाई जान्छ । पहिले भेट हुँदा लुकामारी चल्ने आँखाहरुमा अब एक अर्काप्रती शंका र इर्ष्या थियो ।
अघिल्लो महिनाबाट ट्रेनिङको बहानामा उनी १५-२० दिन घरै आइनन, फोनमा कुरा हुँदा "बिजी छु, पछी गर्छु" भन्ने उत्तर आउथ्यो । बिस्तारै फोन उठ्नै छोड्यो । यता छोरोले ममी खोजेर हैरान र उता छोराकी ममिले फोन नउठाएर हैरानको बिचमा म डिभोर्स चाहन्छु भन्ने ब्यहोराको SMS पो आयो । होइन, दुनियाँ के सारो भर्च्युअल भाको हौ, डिभोर्स नोटिस समेत SMS बाट आउन थालेका  छन आजकाल ।
चुरोटको तेश्रो खिल्लीको धुवाँ निरुदेश्य उडाउदै उ सोच्दैछ, सम्बन्धहरु किन यती फितलो हुन्छन । SMS बाट आएको डिभोर्स नोटिसको के जवाफ दिनु उस्ले ? छोराको ममी कहिले आउछिन भन्ने प्रश्नको के उत्तर दिनु ? उस्ले उनीलाई सक्दो माया गरेको थ्यो, कहिलेकाहीको ठाकठाक ठुकठुक बाहेक खासै बहस भएका पनि होइनन । हिजो उनिसँग हिंड्ने को थियो ? उस्को पार्टी र उ दुबैलाइ शहर लागेको छ आजकाल । उस्को पार्टी सिद्दान्त, निती, उदेश्य छोडेर शहरको धुवाँमा भासिएको छ, उ आफ्नो जिन्दगी चुरोटको धुवाँमा निरुत्तर उडाउदै छ । कहिलेकाही उत्तरहरु किन यती गाह्रा र असजिला हुन्छन जिन्दगीका ?
 सोच्दैछ, SMS को उत्तर के फर्काउनु ? :(

5 comments:

  1. कुरो गरि साध्धे नै भएन | नाम चलेका कथाकारहरु बर्षमा एउटा लेख्छन र पनि केहि सिमित मात्रै चर्चाको शिखरमा पुग्छन | तर यहाँको त कुरै बेग्लै भयो | दैनिक जस्तो कथा रचिन्छन, एकपछी अर्को उस्तै राम्रो, अत्यन्तै यथार्थपरक र समयसामयिक | उत्कृष्ठ रचनाहरुको लागि धेरै धेरै धन्यबाद | लेखन जारि रहोस, चाडै नै उत्क्रिष्ठ कथाकारमा नाम कहलिन्छ |

    ReplyDelete
  2. कुरो गरि साध्धे नै भएन...

    ReplyDelete
  3. सकाउन हतार गरेजस्तो लाग्यो । जसरी यी दुइको प्रेमको शुरूवात विस्तारै भएको थियो, सम्बन्धको फाटो पनि विस्तारपूर्वक भएको भए राम्रो हुन्थ्यो । अझै एक भाग थप्दा हुन्थ्यो । तर पनि राम्रै छ, मजाको छ । :)

    ReplyDelete

ShareThis