शहरको कथा


उस्ले खल्तिमा हेर्यो, सय सयका दुईवटा नोठ जाडोमा कठ्याङ्रिएको हात जस्तै कक्रक्क परेर बसेका थे । कोठामा ग्याँस सकिन लागेको छ, चामल पनि सकिन लागेको जस्तै छ । उस्का निधार बिस्तारै चिन्ताले उचालिए । एक किसिमको छटपटी भयो । अघीसम्म जाडोले काम्दै गरेको जिउमा पसीना आउन शुरु भयो । बाले हिजो फोन गरेका थे, रिजल्ट के भो भनेर । एकछिन उ फोनमै अकमक्केको थ्यो । रिजल्ट के को सुनाउनु, अब कतिवटाको सुनाउनु ! लोकसेवा देको थ्यो, नाम निस्केन । अर्को एउटा एनजिओमा इन्टर्भ्यु देको, हुन्छ हुन्छ भनेर अन्त्यमा सोर्स लगाएर अर्कैले जागिर खायो, उस्कामा तपाईंको मार्क पुगेनछ अली भन्ने उत्तर मात्रै आयो । सबैभन्दा दु:खद कुरा क्याम्पसमा देको मेजर म्याथको परिक्षामा ब्याक लाग्यो ।
अब बालाई कसरी सुनाउनु? "बा, तिमीले गाउमा दस घरको हलो जोतेर पढोस् भनेर पठाको छोरो फेल भो" भनेर । बा का प्रश्नमा आस थिए, तैपनी छोरो पढेर ठुलो माअन्छे भयो भने खुर्पीठ्याक र जुवा बोकेर गोरु धपाउदै बेसी झर्नु पर्दैन भन्ने । पल्लाघरे माइलाले ठमेलमा जागिर खायो, उस्का बाउ ति अस्तिसम्म मोबाइल भन्न नजानेर "मुबायल" भन्ने धर्मे आजकाल सेकेन्डह्यान्ड आइफुन बोकेर हिड्छ दोहोरी बजाउदै । आफ्न बाउ आफु घर गाका बेला मोबाइल समात्न नजानेर उल्टो पटीबाट समात्छन । अब ति बुढा बालाई छोरो फेल भो भनेर कुन मुखले भन्ने । "म क्याम्पसको जाँचमा पासा भएं बा, लोकसेवा निक्लेन" भनेर फोन राखिदियो । पक्का हो कि बासँग पैसा छैन, को सँग माग्नु अब पैसा ? उस्ले एकपटक सोच्यो " भोकै बसे कती दिन बाँचिएला?" उस्लाई कहाली लागेर आयो । भोकै बाँच्न गाह्रो छ शहरमा । हुँदा खानेहरु टाट भएर भोकै बस्छन, हुनेखानेहरु डाइटिङ भनेर भोकै बस्छन । शहर भोकाहरुको बस्ती हो ।
उ युद्द बाट गलेर आएको सिपाही जस्तो डङ्ग्रङ्ग ओछ्यानमा लड्यो । समस्या आउन थालेपछि ओइरिन्छन । आफुलाई परेपछी थाहा हुन्छ मान्छे किन रुन्छन भनेर । समस्या अर्काको होस् त, आफु त्यस्का दसवटा उपाय बताउन सकिन्छ, आफुलाई परेपछी दिमागमा केही हुन्न, रित्तो । यो लोकसेवाको फर्म नभरेको भए अहिले उसँग चार सय र दुई सयले छ सय हुन्थ्यो । अझ पाँच सय त्यो इन्टरभ्यु दिने ठाउमा नबुझाको भए त एघार सय । आम्मामा । उस्ले सोच्यो । शहरले गरीबसँग धुत्छ । ओल्टाइ पल्टाइ हेर्यो त्यो दुईवटा सयको नोटलाई । पहिले त्यस्मा राजा हुँदा एउटा नोटले दुई तीन दिनको तरकारी धानिन्थ्यो, आजकाल नयाँ नेपाल आएर फोटो फेरिएपछी त्यस्ले उस्तै परे उस्को डेढ प्लेट बफ मम पनि धान्दैन । शहर घर थप्दैछ, तर मनहरु उजाड हुँदैछन ।
चिन्तामा डुबेको बेला पल्लोघरकी सुमित्रा नुहाएर छतमा निक्लिन, उस्ले दु:ख बिर्स्यो र हेर्न थाल्यो । तिन्लाई हेर्नु उस्को प्रिय मनोरन्जन हो । अझ नुहाएर कपाल सुकाउन निक्लेका बेलाको आनन्द कसरी भन्नु ? उसै त राम्री, अझ नुहाएर निस्केपछी त बिछट्टै राम्री । उस्ले भोको पेट बिर्सन्छ तिन्लाई देखेसी । उन्लाई उ तिर फर्केर हेर्ने फुर्सद छैन, ऐनामा हेरेर आँखिभौं थुत्दैछिन स्यानो चिम्टाले । उनको आजकाल नोट् सार्नुपनी छैन, हिसाब सिकाइमाग्नुपनी छैन । त्यसैले उन्कालागी उस्को बजारभाउ स्वाट्टै घटेको छ । शहरका मान्छे यन्त्रबत छन, मोबिल फेर्ने बेला नभै यन्त्रलाई मोबिलको मत्लब हुन्न । उस्ले पोहोर प्रेम दिबसमा किताप किन्ने पैसाले "गिफ्ट" किनेर उन्लाई दिन नखोजेको पनि होइन । तर गिफ्टमा फ्रेम दिन भनेर किनेर उन्को घर नजिक पुग्दा उनी अर्कैको बाइकमा बसेर स्वाट्ट गइन । त्यो फ्रेमले आजपनी उस्लाई झस्काउछ, भन्छ "मित्र आजकालको प्रेम निर्जिब बस्तुसँग हुन्छ, साधनसँग हुन्छ, तिमीजस्ता मान्छे शहरको जनसंख्या बढाउने तत्व मात्रै हौ, ताकी मानब बिकास सुचकांकमा बर्षको एक्पटक र जनगणनामा दस बर्षको एकपटक घटेको गरीबिको प्रतिसत निकाल्न काम लाग्छौ ।" शहरमा मान्छे बढेका छन, तर मान्छेको मुल्य बेस्मारी घटेको छ ।

सुमित्रा भित्र गैन, उस्लाई फेरी आफ्नो पेटको याद आयो । उस्ले सकारात्मक् सोचका कुरा गर्ने कर्ण शाक्यलाई सम्झ्यो "तिन्का काठमान्डु गेस्ट हाउस नभएर भोको पेट भाको भए फेरी यसैगरी उचालिएर सकारात्मक सोचका कुरा गर्थे होलान? बिचार  सफा हुन आडिलो पेट हुनुपर्छ, गह्रुङ्गो गोजी हुनुपर्छ । अहिलेको समयमा गौतम बुद्दनै जन्मेका भए पनि कुनै एरियाको डन बनेर बस्थे होला, के को अहिंसा? फर्केर हिर्काउन नसक्नेलाई शहरले ओल्टाइ पल्टाइ लात्ताले भकुर्छ ।" उसँग पैसा भाका भए बाले फोन गर्दा अमिलो मुख लाउन पर्ने थेन, सुमित्रा को अगाडि उ हेन्सममा गनिन्थ्यो र भएको दाँत फुकालेर सुन टल्किने दाँत हाल्न सक्थ्यो, पाँएट चिथरेर ग्रन्ज बनाउन सक्थ्यो । पैसा छैन, त्यही भएर उसँग खुइ परेको आफ्नै दाँत छ, ग्रन्ज नगरिकन च्यातिएको प्यान्ट छ । यो शहर जबर्जस्तीको शहर हो । च्यातिएको प्यान्ट लाउनेहारु गरीब हुन्छन, जबर्जस्ती चिथरेर लाउने मोडर्न हुन्छन ।
भोक साह्रै लागेपछी उ उठ्यो । खल्तिमा भएको दुईवटा सयको नोट फेरी जोडले समात्यो । जतीसुकै दु:ख होस्, जिन्दगीको आफ्नै न्यानो छ । झोकै झोकमा अलिक पर सडकनिर को मम पसलमा पसेर एउटा बेन्चमा बस्यो र भन्यो "साउनी डेढ प्लेट बफ मम पाउँ त!"


13 comments:

  1. samasyaharu ko begralti bastima jindagilai doryaaunuparchha bhanne antimko tungo chahi sarai man paryo......

    ReplyDelete
  2. Impressed... I like the way you keep the disturbance running all along...

    ReplyDelete
  3. Nice... this is very near to the truth of the average nepali youth living in the city with the hope of bright future..

    ReplyDelete
  4. Simple n realistic story blended wid humor.. loved the way u have presented some of the reality checks thru extra ordinarily good lines. And the end keeps me wondering.. अब त त्यो दुई सय नि सक्यो..अब के गर्छ होला त्यो केटाले..??

    ReplyDelete
    Replies
    1. @suprina, uski saadi karade?!?!?! :P

      Delete
    2. भो let the story remain real.. हिन्दी फिल्म पारा न दिउ..

      Delete
  5. पहिले त्यस्मा राजा हुँदा एउटा नोटले दुई तीन दिनको तरकारी धानिन्थ्यो, आजकाल नयाँ नेपाल आएर फोटो फेरिएपछी त्यस्ले उस्तै परे उस्को डेढ प्लेट बफ मम पनि धान्दैन ।

    क्या बिम्ब छ परिवर्तनको :)
    loved ur writing..still same suggestion!

    ReplyDelete
  6. "हुँदा खानेहरु टाट भएर भोकै बस्छन, हुनेखानेहरु डाइटिङ भनेर भोकै बस्छन । शहर भोकाहरुको बस्ती हो ।"
    मनै छोयो । :)

    ReplyDelete
  7. hyatteri, ferii manparyo :) padhnai alchi lagnelai ta padhum padhum paryo, bhanepachi u r good :)

    all d bst, keep writing

    ReplyDelete

ShareThis