बालख छँदाका उपद्रो :) ति दिन !

 
आज किन हो बाल्यकालका दिन याद आए । म जन्मेको जिलिङ नुवाकोटमा हो, पहाडी क्षेत्र, भीर पहरा यस्तै यस्तै मा बाल्यकाल बितेको । हामीले बाल्यकाल मा गरेको केही ओर्याइ याद आए आज । बाल्यकाल मा म साह्रै चकचके थिए, शायद स्कुल पढ्दा मैले जती कुटाइ कसैले खाएन होला ।
१) त्यसताका अहिले जस्तो भिडियो गेम आदी इत्यादीको चलन थेन, हामी मोजा फुकालेर त्यस्मा कागज तथा कपडा कोचकाच पारेर ढुङ्गा ढलाउने तथा फूटबल खेल्ने गरिन्थ्यो । गाउमा जुत्ता लगाएर स्कुल जाने धेरै हुनेथेनन, धेरैका बा ले हात्तीछाप चप्पल किन्देका हुन्थे । चप्पल लाउनेसँग मोजा हुने कुरै भएन । अनी पालो मेरै आइगो । फुटबल खेले त केही हुन्थेन, ढुङ्गा ढलाई म चाँही ढुङ्गाको थुप्रोमा बल ले हिर्काएर लडाउने अनी कुद्नुपर्ने हुन्थ्यो, अनी त्यो ढुङ्गा कुर्न बस्नेले चाँही भाग्नेलाई बलले ढाडमा ताकेर हिर्काएर मार्नुपर्ने । अनी त्यो हिर्काउदा सधैं लाग्दैन, त्यो मान्छे बस्दियो भने पाखाको ठाउँ, मोजाको सानो बल हुररिएर कता पुग्ने पुग्ने । खोज्दा खोज्दै स्कुल जहिले ढिला । कहिलेकाही बिहान एउटा बेलुका एउटा गरेर दुइटा मोजा पनि हराइयो । त्यो मोजा हराउने गरी फ्याँक्नेलाई बेस्मारी पिट्यो अनी आफु घरमा रामधुलाई खायो ! :)

२) बाल्यकालको अर्को रमाइलो म साह्रै सानो छदाको छ । मैले एक कक्षा देखी चार सम्म मामाघरमा बसेर पढेको । हाम्रो मामाघरको वरीपरी तामाङ बस्ती छ । मलाई एक कक्षामा भर्ना गर्नु भन्दा अगाडि नै बाह्रखरी कन्ठ पारेको थे, बाबाले गोदी गोदी । त्यही भएर मलाई स्कुल जानु भन्दा पहिलै ईंग्लिशमा नाउ लेख्न समेत् आउथ्यो । सरकारी स्कुलमा त्यो बेला चार कक्षामा पुगेसी बल्ल A,B,C,D सिकाउने । अनी मलाई स्कुल जान अत्यास लाग्ने । आफुलाई सबै आउछ, ति अरुलाई क ख लेख्न नि नआएर हैरान । अनी कक्षामा बस्न हैरान हुने । कहिले काही गाउ तिरका स्कुल नजाने हरुलाई भेट्यो, उनिहरुले गोठालो गाको यस्तो स्वादिलो गफ सुनाउथे कि मलाई त स्कुल जा भनेर गाली गर्ने हजुरबा र मामालाई त ट्वाइलेट् मा थुन्दिउ जस्तो लाग्ने(अरुलाई त म गन्दै गन्दैनथे)। अनी दुई कक्षा तिर पुगेसी मैले जुक्ती निकालें । यसो आठ बजेतिर हेर्यो, कोइ कता कोइ कता बिजी हुन्छन, त्यही बेला टाप ठोक्यो गाउका मामा (पुरै गाबिसकै भान्जा थे म, अहिले पनि त्यही भन्छन)हरुसँग गोठालो जान । अनी दिन भरी पौडी खेल्यो, झिङ्गे माछा मार्यो, बगरमा आगो बालेर पोलेर खायो । गङ्गटा, पाहा समेत खान मिल्ने सबै सकाइयो । एकै चोटि ब्यान देखी हराएसी स्कुल जान नि नआउने, भात खाजा खान नि नआउने, सिधै बेलुका घर । हजुरबाले त गाली मात्रा गर्नुहुन्थ्यो, मामाले चाँही बेस्मारी कुट्ने । अनी हजुरआमा मेरो डिफेन्समा आउनुभन्दा पहिलै मैले टन्नै भेटिसकेको हुन्थे । पछी पछी भएसी मैले आइडिया निकालें, मामा रिसाएर आफु तिर लम्कने बित्तिकै जोड जोडले चिच्याएर रोइहाल्ने । मामाले गोद्न शुरु गर्न नपाउदै हजुरआमाले आएर जोगाउनु हुन्थ्यो । हजुरबाको गालीलाई पछी पछी टेर्न छोडियो । :)

३) मेरो मामाघरको वरीपरी ठुला ठुला गरा छन, त्यहा म सानो छदा हजुरबा आँफै जोत्नु हुन्थ्यो । मलाई जोतेको त खसै होइन, खेतका डल्ला सम्म्याउन दाँदे लगाको बेला चाँही त्यस्मा चढेर हुइकिन मज्जा आउने । हजुरबालाई चढाइदिनु न भन्यो, तँ सानो छस भन्ने दिदै नदिने । आफुलाई चाँही कसैले हेप्यो भने रिस उठ्ने । एकदिन शनिबारको दिन बुढा गहु छर्न खेत सम्म्याउदै थे, दाँदे चढ्न दिनु भनेको देनन । रिसले फुलेर डिलमा बसिराथे । हजुरबा चुरोट सल्काउन घरमा जानुभो । मेरो पालो गोरु जोतेर देखाउछु भनेर दाँदेमाथी बसेर गोरुलाई हिड भन्यो टेर्दै टेर्दैन । बिस्तारै हिर्काए, तै नि टेर्दैन । अनी मेरो पालो जोडले बजारें लट्ठी । गोरु म जस्तो स्यानो फुच्चेलाई लेर बतासियो । एकछिन त समाउदै थे, गोरु जोडले दौडिगो, म चिप्लेर खसें, दाँदे आफु माथिबाट गयो पेलेर । गोरु बिस्तारै हिड्दै थ्यो, रोक भन्दा टेरेन । अब के गर्नु गोरु त जसरी नि रोक्नु पर्‍यो । एक लट्ठी अर्को हिर्काएं, गोरु झन जोडले कुदेर आलुबारीमा घुस्यो । म झन पछी पछी कुद्छु, गोरु झन भाग्छ, केही नलागेसी आँफै भागीयो । भर्खर उम्रेको आलु ध्वस्त । दुई तीन दिन सम्म हजुरबाको वरिपरी परिएन । :)
४) अर्को आपत स्कुल जाँदा हुने । रातोमाटोको ओरालो, दुई तीन महिना त चिप्लेर हिंड्नै नसकिने । घरबाट सफा लुगा लगाएर गयो, आउँदा उही हो । घरमा सानीमाको गाली खानुछ सधैं, आफ्नो मार्का कल्ले बुझ्ने । कतीपटक त म अब लड्छु भन्ने थाहा पाएर नि लडेको छु, न समात्ने ठाउँ छ, न अड्न सकिन्छ । अनी तल टारमा पुगेसी अर्को आपत आइलाग्ने । अघी अघी जानेले दुई तिरको कोदोको बोट(नल) बाँधिदेको हुने, कता हेरेर के धुनमा हिड्यो, लडेको लडेकै अल्झेर । पछी पछी भएसी आफुले नै बाँध्न थालियो । मान्छेको जात न हो, चिप्लोमा होस् कि कोदोको नलमा, अर्को लडेको हेर्न चाँही उल्कै रमाइलो लागेर आउने के ।
५) म सानोमा पढ्ने स्कुलको छेउमा एउटा कालिकाको मन्दिर छ, र त्यस्मा वरीपरी पर्खाल लगाएको छ । हामी त्यो पर्खाल माथी चढेर गाडी भनेर कुद्थेउ, घरको धुरी जस्तो दुईतिर ढल्केको पर्खालमा बेस्सरी दगुर्यो, अनी तुलसी रोप्न भनेर बनाको चारपाटे कुनोमा गएर बसपार्क भनेर रोकियो । एकपटकमा एक जना मात्र हिंड्न मिल्ने । एकपटक त्यसइगरी खेलिराको, तीनको नाम त म सम्झिन्न( तिन्की हजुरआमा लाई सम्झिन्छु, अहिले पनि म मामाघर जाँदा उहाँकोमा नपसी जानै दिनुहुन्न, एकदम माया गर्नुहुन्छ बज्यैले), रोकिराखेका रहेछन । हर्न बजाए (हर्न मुखले नै बजाउने चलन थ्यो), छोडेनन, न गाडी जान दिन्छन, न साइड दिन्छन । अनी रिस उठेर धकेल्देको, तिनी माथिबाट खसेर भुइमा बसेर रुन थाले । मैले त टाउकोमा मात्रै चोट होला भनेको, साँझ त दुईटै हात भाँचिएछ । त्यो दिन ५-७ दिनलाई पुग्ने गरी गोदाइ खाइयो । अझ त्यतिले पनि नपुगेर मामाले खुट्टा समातेर झुन्डाएर माछापोखरिमा चोपे । त्यो दिन बाट पर्खालमाथिको "कार रेसिङ" बन्द भो । :)


जाँगर लागेमा to be continued........................!

15 comments:

  1. Flash back of some moments when i was a kid came in my mind....nice writing :)

    ReplyDelete
  2. you are so full of life even today.. evidently, childhood had to be full of mischiefs.. :))

    ReplyDelete
  3. हा हा हा हा !!!!
    सार्है रमाइलो बाल्यकालका उट्पट्यांग कार्यहरु!!
    आफुलाई पनि बाल्यकालको याद आयो!

    ReplyDelete
  4. ठयाक्कै म जस्तै उट्पट्यांग हुनुहुदो रैछ :)

    ReplyDelete
  5. हाहा ! सार्है रमाइलो !!!

    ReplyDelete
  6. म यति चकचके त थिँइन तर पढ्दा पुरा आफ्नै कुरा सम्झियो ! पहाडतिर ढुंगा मात्र पाइने भएर ढुंगा ढलाइ खेल भन्या होला, हाम्रो तिर चैँ हामी खपडा ढलाइ खेल्थ्यौँ, नियम उही हो तर हाम्रो समथर ठाउँ भा'को भएर त्यस्तो गाह्रो परेन ! म चैँ ज्ञानी थिँए है ! :D
    दामी ब्लग ब्रो !

    ReplyDelete
  7. lastai ramilo lago... ma ati saro chak chake ta hoina tara bela bela tori ko phul dhekhe gari pitai chai khako chhu..

    ReplyDelete
  8. बाल्यकालका यादलाई ब्युताइदिनुभयो, धन्यबाद । साह्रै राम्रो छ

    ReplyDelete

ShareThis