कर्णाली डायरि (ति अमुल्य दिनहरु : भाग -२)

       ((काठमान्डु बाट हिंडेसी म डायरि लेख्ने भाको थें, यो तलको भाग त्यही डायरिको लगभग जस्ताको तस्तै हो पहिलो दिन को । पछी मैले लेख्न छोडें दिक्क लागेर, तर अहिले पनि म त्यो डायरि पढेर हाँस्छु कहिलेकाँही । :P))
        नेपालगन्जबाट जुम्ला जान प्लेन चढ्ने बित्तिकै कर्णालीको अनुभब शुरु भयो, Full On! प्लेनमा पस्ने बित्तिकै कर्णाली बास्ना आउछ । माइक्रोका जस्ता च्यातिएका सिट, केटा #AirHostess, खाँदी खाँदी लगाएका लुगा (प्लेन मा allow हुने 15kg मा त तेल नुन मसला लानु जो पर्छ) र जुम्ला को हावाले ढढेर हल्का रातो, कालो भएका अनुहार ले तपाईंलाई प्लेन चढ्दैमा कर्णालीको कथा बताउछन । नेपालगन्ज Airport मा प्लेनको सामान जोख्ने ठाउमा गजबको रमिता लागेको हुन्थ्यो त्यतिखेर म शुरुमा जुम्ला जाँदाको बखत (सबै सामान प्लेन मा लानुपर्थ्यो, गाडी चल्दैनथ्यो)! मेरो सामान २० किलो हुनुपर्ने ४२ किलो भएछ (जुम्ला जाने भनेर जान्ने भएर भएका नभएका सब लुगा बोक्याथे) । अनी हाल्दे न त म पैसा दिन्छु भन्दा ओभर लोड हुन्छ भन्छ । अनी त्यो एउटा ब्याग र कार्टुन एअरपोर्ट मै अलपत्र छोड्दे भांड मी जा भनेर ! (पछी साथीले पठाइदियो) ।  सामान जोख्ने बिचरालाई आपत, के निकाल्नु के लान दिनु । अझ डोल्पातिर जानेले त तीन वटा सम्म ज्याकेट लागाका हुने ! एउटा चेन लगाएर, अर्को चेन खोलेर र अर्को कम्मरमा बाँधेर ! म पनि त्यस्तै बातावरण छिचोल्दै प्लेन मा चढे र सिट मा बसे ! ल्याक्टो चकलेट र मैलो रुवा आइपुग्यो एती एअरलाइन्स को तर्फबाट । रुवा त लिइन तर चकलेट चाँही लाजै नमानी एक मुठी उठाँए । प्लेन चल्न शुरु हुने बित्तिकै जोड ले हल्लिने फेरी थामिने गर्न थाल्यो । आफुलाई डर लागिरेछ, छेउमा एकथान छोरो लेर बसेका जुम्ली मित्रलाई सोधें, उन्ले सधैं यस्तै हो सर नडराउनुस्, पिलेन होइन माइक्रो चढेको सम्झिनुस् भनेसी म ढुक्क भएँ ।

        नेपालगन्ज बाट जुम्ला जाने प्लेन बाट मौसम क्लिएर भाको बेला तलको सबै कुरा लगभग प्रष्ट देख्न सकिन्छ, पाइलट ले बेला बाहिर हेरेर भित्रहेर्ने गरेको देख्दा यस्तो लाग्छ कि यिनेरु ट्याक्सी चलाऊदैछन । बिचमा एउटा अग्लो लेक आउछ अरु खासै अप्ठेरो बाटो छैन जुम्ला जाने बाटोमा । त्यो लेकबाट भित्र छिरेसी जुम्ली अझ भनौ कर्णाली पाराका घर देखिन शुरु हुन्छ । ति घरहरुमा माटोको छाना हुन्छ, सिधा माथिबाट हेर्दा सिमेन्ट प्लास्टर जस्तो देखिन्छ, अलिक छड्के हेर्दा खेतको गरा जस्तो (जुम्लामा त्यतिखेर धनीका घरमा मात्रै टिन् लाको हुन्थ्यो, किनकी सबैले प्लेनमा किलो जोखेर लगेको जस्ता लाउन सक्दैनथे, जस्तालाई टिन् भन्थे त्यता )। जुम्लामा बिहान चाँही सिधै प्लेनल्यान्ड हुन्छ भने एक दुई बजे पछी हावा चल्न थालेसि चाँही गर्ज्याङकोटपट्टीबाट घुमाएर । घुमाएर प्लेन ल्यान्ड गर्न लाने रेछन, मलाई थाहा थेन एउटा डाँडो निर घुमेसी प्लेन सुतुतु तल झर्यो, आफ्नो सातोपुत्लो गैगो के हो के हो ? तर एअरपोर्ट आको रेछ ल्यान्ड भएसी थाहा भो !
       प्लेनबाट बाहिर निस्कन नपाउदै चिसो हावाले सिर्र छोयो, जाडोको महिना जो थियो । चारैतिर हेरेँ जुम्ला आफुले सोचेजस्तो थेन । मैले त यती चिसो भएसी हिउ परेको होला भन्ने सोचेथे, तर जुम्ला नाङ्गो थ्यो, सल्लाको रुख बाहेक हरियो केही थेन । उजाड र शितले खाएर धुलो मात्रै बाँकी रहेको चौर थियो । दिउसो तिरको हावाले घुमाएर धुलो उडाएर एअर्पोर्ट नै छोप्न खोज्थ्यो, एअरपोर्ट को सुरक्षा गर्न बसेको सशस्त्र प्रहरिले लगाएको काँडेतार को बारमा झन्डै झन्डै टाँस्सिएर आएको प्लेन लाई हेरिरहेका जुम्लाबासीहरुलाई देखेर दया लाग्यो पहिला, पछी यसो बिचार  गरें , म पनि यही बस्न पो आको त, अब मैले यिनिहरुसङ्गै बस्नुपर्छ, यहीं बाँच्नुपर्छ, अनी चाँही आफु प्रती दया लाग्यो । "थुइक्क म, कस्को के खोज्न आको होला यस्तो ठाउँमा, होइन मान्छे के कुर्न बस्छन होला यस्ता नर्कमा" लाग्यो । जुम्लामा एअरपोर्ट को बाहिर नै खाध्य संस्थानको गोदाम छ(जस्ले दुनियाँको सबभन्दा अखाध्य चामल बाँड्छ) त्यहाँ मान्छेको भिड देखेर प्लेन चढ्न या चढ्नेलाई हेर्न आका होलान यि सबै भन्ठानें, पछी थाहा भो चामल पाइने आसमा पो त्यो भिड लागेको रेछ । ति मान्छेले बेला बेला हल्ला गर्ने प्लेनलाई चामलको लाइनबाट कमर्सियल ब्रेक जसरी हेर्दारेछन ! धेरैजसो अनुहार मा अर्कै किसिमको भाब थियो, चेतनाशुन्य लाग्ने । खोइ के को पो आस गरेको जस्तो । म काठमान्डु बसेको भनाउदोले काठमान्डुनै नेपाल हो भन्ने सोच्थें, त्यहाँ अर्कै संसार थियो, अर्कै किसिममा मान्छे थिए, अर्कै दुनियाँ, बिल्कुलै फरक ।
           एअरपोर्ट बाट निस्केसी केही थाहा थेन, न फोन छ न मोबाइल । अनी एउटा भरियालाई बोलाएर मानब अधिकार आयोगको आफिस कता पर्छ भनेर सोधें । उल्ले पहिले मैले भनेको पुरै बुझेन शायद, "मानब अधिकार" चाँही जुम्लाको FM र नाराजुलुसमा धेरै सुनेको हुनुपर्छ बुझ्यो । "खत्तरी रुप्प्या दिन्या भए जाना हुँ, मत्थै हिन्नुपर्न्याछ" भन्यो । मैले ७० बाहेक केही बुझिन र हुन्छ भनें । त्यल्लाई झोला बोकाएर बाटो लागियो । एअरपोर्ट बाट अलिक अगाडि पुग्नेबित्तिकै देखी द्वन्दका इतिहाँस देखिन शुरु भए । "क्रान्ती" गर्ने क्रममा जुम्ला आक्रमण गरेर भत्काइेका तथा डढाइएका घर ठिङ्ग उभेका थिए मानौ तिनिहरु स्वागत गर्न बसेका छन । बजार नाम मात्रै को थ्यो, लगभग पुरै बजार घुमेर भरियाले मलाई INSEC को कार्यालय भाको घरछेउ लगेर बिसाइदियो । अनी मैले यो त होइन त मेरो अफिस भनें (जुम्ला मा हामीले नै मानब अधिकार आयोग को कार्यालय स्थापना गरेका हौ, म जानुभन्दा अघी एउटा साथी गएर बोर्ड टाँगेका थे घर खोजेर, त्यो भन्दा अगाडि त्यहाँ मानब अधिकार भन्ने बित्तिकै INSEC बुझ्ने चलन रेछ ।) यहाँ होइन नि त भनेको "त्यखो भे मकन था नाँइ" भनेर पो बटारिन्छ । अनी त्यल्लाई अर्को ५० रुपैयाँ थपेर बजार फर्काए, अनी त्यहा सोधेको एउटाले बल्ल बल्ल उ मास्तिर भारतीबाडा पैले 4S को आपिस भाको घरमा छ भन्दियो । मैले त्यल्ले बन को अफिस भएर फोरेस्ट भन्न् खोज्या होला भनेको त 4S भन्ने NGO पो रेछ । कुनै कुनै घर मा NGO का ५-७ वटा सम्म बोर्ड थिए । जेल लगाएर कपाल ठाडो पारेर आएको ठिटोलाई मान्छेहरु वाल्ल परेर हेर्थे । भरियाले मलाई "कती दिन बस्न्या हौ सर,क्यान आया हौ ?" भनेर सोध्यो । मसँग त्यल्लाई दिन केही उत्तर थेन । मैले म त अब यतै घर खोजेर बस्न आको भनेर जोक गरें । त्यो बिचरालाई के थाहा त्यल्ले बजार भन्ने ठाउँलाई मैले कराएर भन्न पाको भए के भन्थें भनेर ।               
      बल्ल बल्ल अफिस पुगें, दुई तले घर थ्यो, जस्ताको छानो भाको । तला चाँही पुरै सल्लाको काठ को, यहाँसम्म को ट्वाइलेट् पनि सल्लाकै काठले बनाको । हामीले ४ वटा कोठा लेका थ्यौ, दुई जनालाई दुइटा अपिस र दुइटा बस्ने कोठा । म त्यहाँ पुग्दा सम्म के के न ल्याए भनेर दङ्ग पर्थे, केही लगेनछु । कहिले कही गएको भए पो थाहा हुन्छ । न चप्पल छ, न टावेल, न सिरक डसना, न थर्मस In fact तातो न छाराका केटौले लुगा बाहेक केही थेन । अनी छिटो छिटो च्या खाएर बजार तिर लागें । सबै सामान किनेसी साथीले खाजा खाउ भने । ल खाउ न त भनेर के पाईन्छ भनेर सोधें, उल्ले मटन चाउमिन छ भनेर जवाफ दियो । म दङ्ग परेर अर्डर गरेको पहिले तेलै तेलमा भुटेको चाउमिन ल्याएर टेबलमा बजार्यो अनी भाँडो नै ल्याएर तीन टुक्रा च्याङ्ग्राको मासु झोल समेत प्यात्त हाल्दियो । म त वाल्ल, न मुछेर खानु न काँटाले खानु । मासु मुखमा हाल्ने बित्तिकै थाहा भो, यो पक्कै बडीबिल्डर च्याङ्ग्र्या को मासु हो भनेर । कुनै एङ्गल बाट चपाउन सकिएन । बल्ल तल्ल चाउमिन निलेर घर लागे ।
         यसरी मेरा कर्णाली दिन शुरु भए, बेलुका भात खान बसेसी घर याद आयो बेस्सरी । बाबाले "भात फाल्नु हुन्न, अन्नले सराप्छन" भनेर सानामा गाली गरेको याद आयो । होटेलमा खान गाको भातको साइज उसिनेको गहुँ जस्तो थ्यो । चपाउदा अल्छि मानेर किच्च साउन्ड आउने । सिमिको दाल मिठै थ्यो, आलुको तरकारी र भाङ्गोको अचार् बेस्सरी खाएर सुतें । सबसे झोक चाँही साँझ मुख धुने बेलामा चल्यो, खुट्टा मुख धोउँ भनेको पानी यती चिसो थ्यो कि करेन्ट नै पो लाग्ने । मैले बिचार गरें : हटा भाई, मुख खुट्टा नधोए बरु मरिन्न, धोयो भने पक्कै मरिन्छ भनेर, मुखै नधोइ सुत्दें । :)) कोही साथी थिएनन, बत्ती छैन, अँध्यारो छ, कर्फ्यु लागेकोले पुरै शान्ती, बेलाबेलामा खोला कराएको सुनिने, बेलाबेला टाढा बन्दुक पड्काएको जस्तो सुनिने । शुरुको दिन घर सम्झेर र भात को अनुहार हेरेर जागिर सागिर एक लात देर भोलिनै घर जाउ जस्तो भो । तर सुत्ने बेला तातो पानी खाएसी "भागीहाल्ने मान्छे त होइन म" भन्ने आस आयो । बत्ती थेन, न गीत न रेडियो, न साथी । अफिसको स्टोरबाट एउटा स्लिपिङ ब्याग ल्याएर त्यो भित्र छिरेर माथिबाट सिरक ओढें । त्यो दिन लास्टै थाकेकोले भुसुक्कै सुतिएछ  । :(