कर्णाली डायरि (ति अमुल्य दिनहरु : भाग -१)

 


 (यो कर्णाली बस्दाको मेरो आफ्नो कथा हो, सम्झेको जती हाम्रा काकाबा को जोरजुलुमले गर्दा शेयर गरेको । यो कथा निबन्ध उपन्यास केइ पनि होइन है !)


१) कर्णालीको बारेमा लेख्दा जागिर खाकै दिन बाट शुरु गरम,मैले अजीब काकतालीले अहिले खाइराको जागिर पाको हुँ । २०६२ सालको कुरा,त्यतिखेर म १९ बर्षको थे, स्कुलमा पढाउथे, भर्खर भर्खर Internet को फेसन आको, फुर्सद भयो कि नेट मा झुन्डिहाल्ने । त्यसइगरी झुन्डिदा "राष्ट्रिय मानब अधिकार आयोग" को बिज्ञापन डाउनलोड गरेर छोडेको रेछ कल्ले हो । हेरेको पैसो नपर्ने रेछ, पैसो पर्ने भए म apply गर्नेथिन, apply गरे जाच दिन बोलाए, गएँ, के लेखियो थाहा थेन । मलाई यत्ती थाहा थ्यो कि IQ चाँही सबै मिलेका छन ।

२) मलाई लिखितमा पास भाको सुन्दा आठौ आस्चर्य भयो जस्तो लागेको थ्यो, म त्यस्तो उल्का Talent मान्छे पनि होइन, बिनाबित्था मेरो नाम निस्कियो । म मात्रै होइन मसङै लिखित परिक्षा दिना गाका प्रकाश आस्था र समुन्द्र फुयालले नि नाम निकाले । Interview दिन बोलाए, गएर computer test र Thematic Test पनि दिनुपर्थ्यो दिएँ । के लेखियो थाहै भएन । मलाई मेरो मनमा एक प्रतिसत पनि नाम निकालेर जागिर खाउला भन्ने छदै थेन । त्यसै दु:ख दिन्छन जस्तो लागेको थ्यो ।
३) Interview दिन गाको दिन दरो वाल्ल परियो, अरु सप्पै जुगामुठे सुट प्यान्ट्का बिचाँ म जिन को पएँट लाको भुरो जिल्ल परेर बस्याथे । मलाई पक्का भो कि मेरो नाम निस्कन्न । भित्र अन्तर्वाता दिन गाको के भनियो थाहै छैन । गोकुल पोखरेल ले ईंग्लिश मा Question सोधेको बाहेक केही याद छैन । सकिने बेला सुसिला सिलुले किन हल्लेको भनेर सोधिन, म त नर्भस भएर चेयर मै हल्लेछु । interview देको छैन अहिलेसम्म त्यही भएर हो म्याम भनेर टारे ।
४) सबसे अचम्म त्यसदिन भयो जब मेरो नाम निस्कियो । ४ जना चाहिने ४ नम्बरमा कनेर नाम निस्कियो । मैले त्यत्रा मान्छेलाई जितेर नाम निकाल्छु भनेर कहिले सोचिन । साथीले नाम निस्कियो तेरो भन्दा गिज्याए जस्तो लाग्याथ्यो । स्कुलमा पढाउदै थे, अब स्कुल छोडेर आउन मन नलागेर उत्पात भो । भुरा पिलपिल रोए, त्यतिदिनसम्म कहिले यो प्रिन्सिपललाई एक देर भागुम् जस्तो हुन्थ्यो, त्यो दिन feel भो, सोचेजस्तो सजिलो रैन्छ् हौ जिन्दगीमा छोड्न केइ पनि । :)
५) NHRC का जागिरे दिन शुरु भए । दुई चार दिन घाम मा बसेर बिताइयो। अनी डेढ महिना जती यता उता डुलुवा ट्रेनिङ । लास्टमा पोस्टिङ् हुने बेलामा घनश्याम सर (हाम्रो कर्मचारी प्रशासन अधिक्रित) ले भुरो देखेर हो कि किन हो , काठमान्डुबाट कतै नगाको मान्छे बुटवल जानोस न त भन्नुभो, तर मान्छेको अभाबले जुम्ला जाने कोइ हुने छाँट निस्केन । मैले सोचे : यो जुम्ला भन्ने चाइना को बोर्डर मा पर्छ, त्यहाँबाट चाइना जान्छु मानसरोबरसम्म भन्ने भावना आयो, अनी मैले म जान्छु जुम्ला भने । बेलुका घर गएर नक्सा  हेर्दा त आँफै खङ्ग्रङ्ग, जुम्ला त तल्तिरै रेछ, मैले सोछेको त हुम्ला पो परेछ । त्यसदिन थाहा भो, काठमान्डुमा बस्नेहरुले नेपाललाई कत्तिको बुझेका छन भनेर । चिट्ठी बनिसकेकोले उपाय थेन, झोलाझाम्टा बोकेर निमराज भट्टराइ (तत्कालिन रोल्पा कार्यालयका साथी) र म नेपालगन्ज लाग्यौ !
६) नेपालगन्ज पुगेपछी गर्मी के हो थाहा भयो, पुष माघ मा पनि त्यो बिजोग थ्यो त्यता । रिक्सा चढ्न रमाईलै लाग्यो । "यात्री निवास" भन्ने न्युरोड को होटेलमा बसियो । भोलिपल्ट क्षेत्रिय कार्यालय् गएँ, जुम्ला कम्प्युटर लानुपर्नेथ्यो । आपिसमा गाडी मागेको, ड्राइभरले नयाँ देखेर हो कि किन हो ब्यान गाडी चलाऊन हाकिम सापलाई सोध्नु पर्छ भन्यो । मोहनलाल आचार्य भन्ने हाकिम थे, अनी हाकिम खोइ त भनेको घर जानुभाछ पो भन्छ । आफुलाई बिहान छ बजे एअर्पोर्ट जानु छ, गाडीको पत्तो छैन । क्षेत्रिय निर्देशक सँग पहिलाई दिन झगडा पर्‍यो । तिन्ले "तपाइले यस्तो गर्नुभयो भने काम गर्न अप्ठेरो हुन्छ है तपाईंलाई" भने, मैले "अप्ठेरो परेपछी हेरौला" भनेर पेलें । अहिले आफ्नो त्यतिखेरको जोसँग पनि निहु खोज्ने र झगडा गरिहाल्ने स्वभाब सम्झेर हाँसो लाग्छ । ति हाकिम साप NHRC मा जागिर खाउन्जेल मसँग राम्ररी बोलेनन । अहिले UNDp मा छन अहिले चाँही बोल्छन । मैले पनि तिनी निर्देशक रहुन्जेल एकपटक पनि क्षेत्रिय कार्यलाय मा फोन गरेर Reporting गरिन ! :))
७) मेरो दु:खका दिन नेपालगन्ज Airport जान थालेदेखि शुरु भए । पिलेन चढ्न् चिटिक्क परेर ब्यान हिंडेको ठिटो बेलुका सबै सामान लठपत्र Airport Checking Counter मा छोडेर जिल्ला पर्दै हिजोकै होटेल फर्कियो झोला बोकेर । दुई दिन त्यसरी फर्केपछी प्लेन चढ्न पाइयो । जुम्ला जाने चामलका बोरामाथि बसेर जिन्दगीमा सोच्दै नसोचेको कर्णाली भन्ने ठाउँतिर लागियो । मनमा नयाँ जागिरको उत्साह र युबाबेलाको जोश बाहेक केही थेन । मलाई वास्तवमा कर्णाली पुगेपछी मात्र जागिर भन्या के रेछ भनेर थाहा भो । 









(म शुरुमा जुम्ला पुग्दाताका यस्तो थेँ !)
जाँगर लाग्यो भने To be Contd...............!




6 comments:

  1. लेखम छिमेकी लेखम हामी उत्पातै पर्खेर बस्या छम है तपैको कर्णाली बस्दाका अनुभव सुन्न । :)

    ReplyDelete
  2. लेखककै मुखारबिन्द बाट सुनेका घटनाहरु मध्ये केहि नसुनेका घटनाहरु पनि रहेछन, रमाइलो लाग्यो पढ्न पाउँदा | आशा छ जुम्ला एयरपोर्टमा आफ्नै आँखा अगाडी प्लेन पड्केको, माओबादी र सेना बिचमा रहेर जोखिम कार्यहरु गरेका घटनाहरु पनि पढ्न पाइयोस |

    ReplyDelete
  3. दाजुलाई जुम्लामा देख्या देख्या जस्तो लाग्यो! :)

    ReplyDelete

ShareThis